पोखरा छिर्न पृथ्वी राजमार्गको विकल्प खोजी

पोखरा । अहिले चलिरहेको पृथ्वी राजमार्गमा अपरझट समस्या आए पोखरा छिर्ने वैकल्पिक मार्ग छैन । पोखरा छिर्नका लागि विजयपुरमा रहेको एउटा पुल मात्रै छ । अब यसको विकल्पका रुपमा सडकहरुको खोजी गर्न थालिएको छ । पोखरा १३ र २६ नम्बर वडा जोड्ने गरी साँघुको मुखदेखि सिलिङेसम्म सडक विस्तार गर्न लागिएको छ ।
उक्त सडकको बिहीबार शिलान्यास गरिएको हो । २०४९ सालमै निर्माण गरिएको बाटो अहिले खासै प्रयोगमा छैन । यसलाई स्तरोन्नती गरेर वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न लागिएको पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । उनैले सडकको शिलान्यास गरेका हुन् ।
उक्त सडक तीन करोड १२ लाखको लागतमा निर्माण हुन लागेको हो । टेण्डर प्रक्रिया पूरा भएर ठेक्का लागिसकेको थापाले बताए । १ किलोमिटर ११० मिटर सडक नाला सहित ११ मिटर चौडा हुनेछ । आगामी साउन ९ गतेभित्र सडक निर्माण सम्पन्न हुने थापाले बताए ।