शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
नागरिकता

नागरिकता फाँटका समस्या : कसलाई नागरिकता दिने कसलाई नदिने !

बिहीबार, १३ भदौ २०८१, १२ : ४५
बिहीबार, १३ भदौ २०८१

नागरिकको विश्वास र भरोसा बोकेको जिल्ला प्रशासन कार्यालय लमजुङमा कार्यालय खुल्नुभन्दा आधा घन्टाअगाडि नै एक दर्जन सेवाग्राही यताउता टहलिन थाल्छन् । गालामा भर्खर लाली चढ्दै गरेकादेखि चाउरी परेकासम्म, अक्षर चिह्न नसक्नेदेखि अन्तर्राष्ट्रिय उम्दा विश्वविद्यालयमा अध्ययन–अध्यापन गरेकासम्म एकैछिनमा प्रतीक्षालयमा भरिभराउ भइहाल्छन् । 

एकैछिन ढिलो भएपछि उनीहरू कतिपय फाँटदेखि कार्यालय प्रमुखसम्मको कक्षमा गुनासो गर्न पुग्छन् । उपस्थितमध्ये एकतिहाइ नागरिकताको प्रमाणपत्र लिन आएका हुन्छन् । 

नागरिकको अधिकार र दायित्व गाँसिएको पहिचान खुट्ट्याउने कागज वा निस्सा हो, नागरिकताको प्रमाणपत्र । नागरिकताले नेपालीमाझ छुट्टै पहिचान, महत्त्व र विशेषता बोकेको छ । 

नागरिकता प्राप्त गर्दाको सुख र दुःखका क्षण आ–आफ्नै छन् । नागरिकाको प्रमाणपत्र आफैँमा एक समाधान तर यसलाई प्राप्त गर्न समस्या अनेक छन् । कसैलाई नयाँ नागरिकता चाहिएको छ, हराएको वा खोटो भएका कारण कतिलाई प्रतिलिपि चाहिएको छ । कसैलाई श्रीमानसँगको नाता जोड्नु छ भने कसैलाई तोड्नु छ । कतिलाई सामाजिक सुरक्षा र सम्बन्धको ढोका खोल्नु छ । कसैलाई अपमानजनक थर हटाएर सम्मानजनक राख्नु छ । 

नागरिकता पाउन कागजी तथ्य–प्रमाणले नेपाली हो भन्ने पुस्ट्याइँ गर्नैपर्छ— जन्मदर्ता, बुबाआमाको नागरिकताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, नाबालिग परिचयपत्र, राहदानी, जन्म–मृत्यु प्रमाणित, बसाइँसराइको कागज, वडा सिफारिस, वडा मुचुल्का, प्रहरी प्रतिवेदन आदि आवश्यकता अनुसारका कागजात चाहिन्छन् । त्यसैले कसैले आएको आधा घन्टामै नागरिकता पाउँछन् भने कसैलाई बढी समय लाग्न सक्छ । समस्या सम्बोधन गर्न नसक्दा दुःखका साथ कतिलाई रित्तो हात बिदाइ गर्नुपर्छ । 

विगत दुई महिनादेखि नागरिकताको फाँटमा रहेर सेवाग्राहीसँग प्रत्यक्ष साक्षात्कार गर्दा मैले अनुभूति गरेको समस्या देहाय अनुसार लिपिबद्ध गर्ने जमर्काे गरेको छु ।

शरीरमा तागत छउन्जेल अझ भनौँ ६० नकट्दासम्म ज्याला–मजदुरी गरी बसेका, वैवाहिक सम्बन्धमा उत्तरचढाव आएका कारण माइती वा घरको अत्तोपत्तो नभएकाहरू बुढ्यौलीसँगै सामाजिक सुरक्षा भत्ताको आशा बोकेर नागरिकता बनाउन चाहेका पनि छन् ।

१) कतिका समस्या यस्ता थिए— श्रीमान्–श्रीमती चार र पाँच वर्ष सँगै बसेका र दुवैबाट सन्तान समेत भएका तर श्रीमान् कुनै पहिचान नदिई बेपत्ता भएको अवस्था । वा, श्रीमान्सँग लामो समयदेखि सम्पर्क हुन नसकेको अवस्था । 

आफ्ना सन्तानलाई आमाको नामबाट नागरिकता दिनुप¥यो भन्ने दिदी–बहिनीसँग श्रीमानका बारेमा थप सूचना माग्नुपर्ने हुन सक्छ । तर उनीहरूको रोदन श्रवण गरेर नागरिकता दिन नसकिने रहेछ । 

२) कतिले जवानीमा माया–प्रेममा परेर बच्चा जन्माएका रहेछन् । तर परिवार एवं समाजले जातीय विभेदका कारण केटालाई अस्वीकार गरेका कारण सन्तानले बाबुको ममता र जिम्मेवारीको अनुभूति गर्न नपाएका रहेछन् । त्यसकारण बरु नागरिकता नलिने तर बाबुको नाम नराख्ने आमा र सन्तानले जिकिर गर्छन् । अझ त्यसमा बाबुको पहिचान नराखी कसरी नागरिकता दिँदो रहेछ भनी बाबुले प्रशासनको गेट चियाउने गर्दा पनि उनीहरू नागरिकताविहीन हुने अवस्था छ ।

३) सन्तानको जन्म भइसकेको तर पति विदेश पलायन हुँदा वा विवाहमा परिवारको समेत सहमति नहुँदा विवाह–दर्ता नभएका कति महिला छन् । उनीहरूका सन्तानलाई नागरिकता दिन कठिन भएको अवस्था छ । 

४) कतिले बाबुको काल्पनिक नाम राखेर जन्मदर्ता गरेका रहेछन् । उनीहरू यथार्थमा उक्त व्यक्ति अस्तित्वमा नरहेको भन्दै बाबुको नाम बेगरको नागरिकता माग गर्छन् । सोही अनुसार सिफारिस भइआउँदा नागरिकता कसरी दिने भन्ने दुविधाको अवस्था छ ।

gokarna suyal५) छिमेकी मुलुकका नागरिकसँग माया–प्रेममा रहँदा सन्तानको जायजन्म भएको तर आमा र सन्तानलाई बाबुको पूर्ण पहिचान नभएको अवस्था पनि रहेछ । अर्कोतिर, बाबुको स्थायी ठेगाना र परिवारको पहिचान नभएको, हाल बाबु बेपत्ता रहेको जस्ता समस्या पनि छन् । 

यसरी गर्भदेखि हालसम्म विदेशीभूमि नै नटेकेका, नेपालमा स्थायी रूपमा बसोबास गरेका, नेपाली भाषा–संस्कृतिको ज्ञान भएका, कक्षा १२ सम्मको शैक्षिक उपाधि हासिल गरेका विदेशी बाबुका सन्तानले नेपाली नागरिकताको अपेक्षा गर्छन् ।

६) वर्षाैंदेखि छिमेकी देशका सहरमा बसेका तर बुढेसकालमा आफन्त र देशसँगै नागरिकता चाहने पनि छन् । जोसँग छिमेकी मुलुकका रासन कार्ड, आधार कार्ड र भोटिङ कार्ड समेत छन् । 

७) चौँरी र भेडी गोठमा सात दशक बिताएका, सहरी रहनसहन र संस्कारका बारेमा कुनै चेतना नभएका पनि छन् । पटकपटक गएको टोलीमार्फत नागरिकता वितरण हुँदा नागरिकता लिए वा नलिएको समेत उनीहरूलाई थाहा छैन । बुढेसकालमा सामाजिक सुरक्षा पाइएला कि भनेर उनीहरू नागरिकता लिन आउँछन् । 

८) शरीरमा तागत छउन्जेल अझ भनौँ ६० नकट्दासम्म ज्याला–मजदुरी गरी बसेका, वैवाहिक सम्बन्धमा उत्तरचढाव आएका कारण माइती वा घरको अत्तोपत्तो नभएकाहरू बुढ्यौलीसँगै सामाजिक सुरक्षा भत्ताको आशा बोकेर नागरिकता बनाउन चाहेका पनि छन् । 

९) आज एउटासँग वैवाहिक सम्बन्ध तोड्ने र तुरुन्तै अर्को व्यक्तिसँग विवाहदर्ता गरी पतिको नाम–थर कायम गर्न चाहने पनि छन् । एउटा पतिसँगको सम्बन्धको विधिवत अन्त्य नहुँदै अर्को श्रीमानसँग नाता सम्बन्ध जोड्नेलाई तर विधिवत सम्बन्ध नजोड्ने अवस्थामा नागरिकता दिनुपर्ने अवस्था छ ।

१०) जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, पेन्सनपट्टा, राहदानीमा रहेका जन्ममिति, आमाबुबाको नाम–थर आदि नागरिकताको विवरणसँग फरक परेकाले हैरानी पाएको गुनासो गर्दै नागरिकता संशोधनका लागि आउने पनि छन् । 

११) कतिका नागरिकताका प्रमाणपत्रमा उमेर मात्र उल्लेख भएको छ, कतिका नागरिकताको प्रमाणपत्र र कार्यालयको अभिलेखमा नागरिकताको विवरण फरक परेको छ । रुजु गर्ने, भिडान गर्ने कागजातै नभएपछि सक्कली र नक्कली नागरिकता कसरी छुट्ट्याउने अनि के आधारमा नागरिकता जारी गर्ने भन्ने पनि समस्या छ । 

१२) लेनदेनदेखि सामाजिक सम्बन्धहरू सबैमा नागरिकता धरौटी राख्ने अनि आफ्नो बदमासी र विश्वासघातलाई छोप्न नागरिकता हरायो भनी बेलाबेला प्रतिलिपि लिन आउने नागरिक पनि रहेछन् । उनीहरूलाई नागरिकताको महत्त्व बुझाउँदै सचेत गराउनुपर्ने रहेछ ।

नागरिकलाई नागरिकताको प्रमाणपत्र चाहिन्छ नै, नागरिकताको प्रमाणपत्र दिन अनेक समस्या छन् । स्थान, समय र प्रविधिको विकाससँगै समस्याको सघनता अझै बढ्दै गएको छ । नागरिकताको प्राप्तिमा सहजता र कष्टता दुवै नै नागरिकले अनुभूति गरेका छन् । 

मानवीय संवेदना, समस्या, पीडा र रोदन हेरेर नागरिकता दिन सकिँदैन । राज्यप्रतिको अधिकार र जिम्मेवारीको भावना बोध गराउने नागरिकताको प्रमाणपत्र सबै नेपालीले सहजै पाउनुपर्छ भन्नेमा दुईमत छैन । त्यसो भन्दैमा प्रक्रियालाई निलम्बन गरेर नागरिकता वितरण गर्न सकिँदैन । कुनै पनि नेपाली नागरिकताको अधिकारबाट वञ्चित हुनुहुँदैन भन्ने विषय जति महत्त्वपूर्ण छ, त्यति नै झुटा विवरण पेस गरी कुनै विदेशीले नागरिकता लिन सक्ने सम्भावनाका विषयमा सावधानी अपनाउनुपर्नेछ । 

(लेखक नेपाल सरकारका उपसचिव हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोकर्णराज सुयल
गोकर्णराज सुयल
लेखकबाट थप