बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सनातन हिन्दु राष्ट्रको सवाल र नेपाली कांग्रेस

बिहीबार, १३ भदौ २०८१, १२ : ००
बिहीबार, १३ भदौ २०८१

हरेक मुलुकका आ–आफ्ना पहिचान र विशिष्टता हुन्छन् । नेपालको मौलिक पहिचान सनातनी परम्परा हो । यसैको जगमा हाम्रो भाषा, संस्कृति, सभ्यता र धर्म अर्थात् राष्ट्रिय पहिचान निर्माण भएको छ । 
युगौँ युगदेखि यो देवभूमि, तपोभूमि र ज्ञानको भूमि हो । फराकिलो सनातनी सभ्यताले यहाँ कैयौँ सम्प्रदाय विकास भएका छन्, त्यसैले कालान्तरमा धर्मका रूप पनि धारण गरेका उदाहरण हामीसँग विद्यमान छ । सनातनी परम्पराको मूलभाव भनेकै समभाव हो । यस्तो समभाव विश्वमा अन्यत्र पाउन सायद मुस्किल होला । 

त्यसैले कतिपय मानिस हिन्दुलाई धर्मभन्दा पनि सभ्यता तथा जीवन पद्धतिको रूपमा व्याख्या गर्ने गर्छन् । जसले जे भने पनि हिन्दु सनातन धर्म परम्परा हो । यसले मानवतालाई धर्मको आधार मान्छ र ब्रह्माण्डमा भएका सबै सजीव एवं निर्जीव वस्तुलाई उत्तिकै महत्त्व दिन्छ अर्थात् सबैको अस्तित्वलाई स्वीकार गर्छ । शान्ति, मानवता, सहिष्णुता र समभाव यसको हरेक पक्षमा पाउन सकिन्छ । हिन्दुधर्म जन्मको कुनै तिथिमिति नभएकाले यसको जेष्ठता र यसले अंगीकार गरेका फराकिला मानव दृष्टिभावका कारण यसको श्रेष्ठतामा खासै बहस आवश्यक छैन भन्ने ठान्छु । अनन्तकालदेखि नेपाल धर्म, सभ्यता र संस्कृतिको सुन्दर बगैँचा हो । यही भूमिमा पार्दुभाव भएका बौद्ध एवंं किरात, बोन, जैन, शिख आदि सबैको मूल वैदिक सनातन हिन्दु धर्म र संस्कृति हो । 

नेपालमा ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन (हिन्दु) धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनता बसोबास गर्छन् । यसले नेपालको विशिष्टता झल्काउँछ । यस्तो तथ्य र तथ्याङ्कलाई नजरअन्दाज गरेर, हाम्रो मौलिकतालाई बिर्सिएर, हाम्रो शक्ति र एकतालाई खण्डित गर्ने गरी लिइने निर्णयले नेपाल र नेपालीलाई कमजोर बनाउँदै लैजानेछ । 

नागरिक जति शिक्षित हुन्छन्, जति बढी चेतनाको उचाइमा पुग्छन्, नागरिकमा जति सम्पन्नता थपिँदै जान्छ, त्यति नै आफ्नो मौलिक परम्परा, सभ्यता र संस्कृतिप्रति अपनत्व लिँदै जान्छन् । यसको पुस्ट्याइँ खोज्न वर्तमान विश्वलाई नै नियाल्दा काफी हुन्छ भन्ने लाग्छ । 

नेपाल सनातनी परम्परा, सभ्यता र संस्कृतिको मूल भूमि भएकाले नै यसका विरुद्ध विभिन्न षड्यन्त्र हुँदै आएको इतिहास साक्षी छ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको शासनकालदेखि नै नेपाललाई कमजोर बनाउन यसको आत्मा अर्थात् यहाँको सभ्यतामाथि प्रहार गर्नुपर्छ भनेर निकै षड्यन्त्र भएका थिए । त्यसलाई चिर्दै तत्कालीन राजाले हाम्रो सनातनी संस्कृति, सभ्यता र धर्मलाई अगाडि बढाउँदै आए, तर षड्यन्त्रकारीले हार मानेनन्, उनीहरू निरन्तर हाम्रा विरुद्धमा लाग्दै आएका छन् । अहिले हामीबिचमै फुट पैदा गराएर मात्र हाम्रो वैदिक सनातन हिन्दु धर्म र परम्परालाई कमजोर बनाउन सकिन्छ भन्ने निचोडका साथ उनीहरू क्रियाशील भएको पाउन सकिन्छ । यसमा हामीले विचार पु¥याउन नसक्दा केही अप्ठेरा सिर्जना भएका छन् । यसलाई छिटोभन्दा छिटो सच्याउनेतर्फ हाम्रो ध्यान जानुपर्छ । 

नेपाललाई एकताको सूत्रमा बाँध्ने बलियो आधार भनेको वैदिक सनातन परम्परा हो, त्यसलाई पनि भत्कायौँ भने आफ्नो मौलिकता गुम्नेछ । मौलिकता नभएको, आफ्नोपन नभएको, सबैलाई एकताको सूत्रमा बाँध्ने कुनै आधार नभएको देश लामो समयसम्म टिक्न सक्दैन भन्ने तथ्य विश्व इतिहासबाट पुष्टि हुन्छ । नेपाल अनन्तकालदेखि सनातनी परम्परामा हुर्केको छ । नेपाल सनातनी परम्पराको उद्गम थलो हो । प्रत्येक नेपाली सनातन धर्म, परम्परा र सभ्यताबाट दीक्षित र अभ्यस्त छन् । यो प्रत्येक नेपालीको प्राण, पहिचान र आत्मसम्मान हो । शताब्दिऔँदेखि नेपाली मातृभूमिमा रहेका हरेक नेपालीले कहिल्यै कहीँ–कतै धर्मका नाममा विभेद वा विग्रहको अभ्यास गरेको पाउन सकिँदैन । कहीँ–कतै कमी–कमजोरी भएका भए ती केवल व्यक्तिगत विषय हुन् । 

नेपाल हिन्दु राष्ट्र कायम रहँदा सबै धर्म सम्प्रदायले आ–आफ्ना परम्परा र आस्था अनुसारको धार्मिक स्वतन्त्रता उपयोग गर्ने वातावरण सहजताका साथ पाउनेछन्, जसले धर्मका नाममा हुन सक्ने अस्थिरता तथा अशान्तिलाई समयमै रोक्न मद्दत गर्नेछ ।

 

सामाजिक रूपमा हामी सधैँ एकताबद्ध छौँ । प्रकृतिको पूजा नगर्ने सायदै कोही हिन्दु होला, हिन्दुहरूको अगाध आस्था बुद्ध धर्मका प्रति पनि छ । बुद्ध धर्म मान्नेहरू पनि सनातनी छन्, उनीहरू हिन्दु धर्मका मठ–मन्दिर र परम्परालाई उत्तिकै सम्मान गर्छन् । प्रकृति पूजकहरू बुद्ध धर्म र सनातनी परम्परासँग जोडिएका छन् । सनातन सभ्यताले सबैलाई समेटेको छ । 

ओमकार परिवारले सबै नेपालीलाई जोडेको छ । ओमकार परिवारभित्र विभिन्न सम्प्रदाय, रीति–रिवाजहरू छन्, तर ती सबैको जग एउटै हो । त्यसैले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुराष्ट्र कायम गर्नका लागि हामीले महाअभियान सञ्चालन गर्दै आएका छौँ । 

२०६३ जेठ ४ गते बसेको संसद्को घोषणा र अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको विषयप्रति गम्भीर बन्दै २०७१ कात्तिक २० गते काठमाडौँमा ‘नेपाली कांग्रेस, वैदिक सनातन (हिन्दु) राष्ट्र स्थापना महाअभियान’ गठन गरिएको छ । संविधानसभाबाट संविधान घोषणा गर्दा यस महाअभियान समितिले धर्मनिरपेक्ष राष्ट्रको प्रावधानलाई खारेज गरी धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन (हिन्दु) राष्ट्र घोषणा गर्न माग गर्दै आएको छ । त्यही समयदेखि नै यो अभियान निरन्तर सञ्चालित छ र लक्ष्य हासिल नहुँदासम्म यो कायम रहनेछ । 

समाजका सबै तप्कालाई समावेश गरी अन्तरिम संविधानमा समावेश गरिएको धर्मनिरपेक्ष राष्ट्रको प्रावधान हटाउन संघर्ष गर्दै गर्दा झन्–झन् गम्भीर घटनाहरू घट्दै गए । पछिल्लो संविधान जारी हुँदा अन्तरिम संविधानको प्रावधानले निरन्तरता पायो, हाम्रो अभियानले त्यसलाई रोक्न सकेन । संविधान जारी गर्नुअघि संविधानसभाले धर्मका विषयमा जनताको राय संकलन गरेको थियो, जसमा अत्यधिक नागरिक (करिब ९० प्रतिशत)ले नेपाल हिन्दु राष्ट्र कायम हुनुपर्छ भन्ने मत राख्दाराख्दै २०७२ मा संविधानसभाले जनताको मतका विरुद्धमा गएर कपटपूर्ण ढंगबाट नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेकामा त्यसका विरुद्धमा यो अभियानले निरन्तर संघर्ष गर्दै आएको छ । 

यसरी आम नागरिकको अभिमत, देशको मौलिकता, परम्परा र सभ्यतालाई समेत बेवास्ता गर्दै धर्म–निरपेक्षता संविधानमा लेख्नुले भित्रभित्रै के कस्ता शक्ति क्रियाशील थिए होलान् भन्ने अनुमान लगाउन कठिन छैन । यस्तो एकाकार भएको समाजमा विखण्डन ल्याउन नेपाललाई धर्मनिरपेक्ष बनाइएको छ । इतिहास र परम्परा तथा यहाँको व्यावहारिक वास्तविकतालाई अवमूल्यन गरिएको छ । त्यसैले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि, विश्वमा नेपालको विशिष्ट हैसियत पुनः स्थापित गर्नका लागि महाअभियान सञ्चालन गरिएको छ । 

  • वैदिक सनातन हिन्दु राष्ट्रका फाइदा 

कतिपय विद्वान्ले देशको धर्म हुँदैन भन्ने तर्क समेत गर्ने गरेको पाइन्छ । संसारमा अहिले ७१ इसाई, ५१ इस्लाम र १२ बुद्धिस्ट देश छन् । नेपाल धर्मनिरपेक्ष हुनुपर्छ भन्ने पण्डित्याइँ छाँट्ने महानुभावले स्वर्ग मानेका अधिकांश देशको संविधानमै धर्म तोकिएको छ । धार्मिक रूपले ती देश अनुदार छन् । 

त्यही देशका प्रतिनिधि नेपालमा विभिन्न माध्यमबाट धर्मान्तरण गराउन क्रियाशील छन् । त्यति मात्र होइन, धर्मको नाममा नेपालमा द्वन्द्वको आगो सल्काउन उद्यत् छन् । छद्मभेषीको कुटिल चाल नेपालमा हाम्रो सभ्यतालाई विस्थापित गरेर आफ्नो सभ्यता लाद्नु हो । देखिएर अर्थात् खुलमखुला त किन आउँथे र उनीहरू लुकिछिपी काम गर्दै छन्, यहाँका कतिपय मानिस जानेर वा नजानेर सघाउँदै आएका छन् । जो नेपालको सनातनी धर्म–परम्परालाई ध्वस्त पारेर आफ्नो धर्म लाद्न चाहन्छ, उसैले धर्मनिरपेक्षताको वकालत गर्ने नाटक मञ्चन गर्दै छ । यहाँ नेपाली सोझा छन् भन्ने बुझेर तथ्यलाई गोलमटोल पारेर देशको धर्म हुँदैन भन्ने चर्चा गरेका छन् । सरल र सालिन नेपाली जनतालाई आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि गलत सन्देश नदिन पनि महाअभियानले निरन्तर अनुरोध समेत गर्दै आएको छ । यो क्रम नरोकिए सजग र सचेत पनि गराउनुपर्ने अवस्था आउन सक्छ । 

वैदिक सनातन नै नेपाल र नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा एकताबद्ध गर्ने आधार हो । यसले राष्ट्रियताको संरक्षण र संवद्र्धन गर्नमा मद्दत गर्छ । हिमाल, पहाड र तराईका नागरिकलाई एकै ठाउँमा ल्याउने मूलाधार यही हो । नेपालमा बहुसङ्ख्यक ओमकार परिवार तथा सनातनी संस्कृतिका अनुयायी छन् । नेपाल हिन्दु राष्ट्र  हुँदा त्यस्तो मौलिकताको संरक्षणमा सहजता आउनेछ । सनातन परम्परा, सांस्कृतिक विशिष्टता र देव भूमिको रक्षाका लागि आवाज बुलन्द गर्न यसले सहज बनाउनेछ । 

नेपाल हिन्दु राष्ट्र कायम रहँदा सबै धर्म सम्प्रदायले आ–आफ्ना परम्परा र आस्था अनुसारको धार्मिक स्वतन्त्रता उपयोग गर्ने वातावरण सहजताका साथ पाउनेछन्, जसले धर्मका नाममा हुन सक्ने अस्थिरता तथा अशान्तिलाई समयमै रोक्न मद्दत गर्नेछ । 

नेपालमा अस्वाभाविक रूपमा धर्मान्तरण फैलँदै गएको छ, त्यसले ल्याउन सक्ने द्वन्द्व र अविश्वास रोक्नका लागि नेपाल हिन्दु राष्ट्र कायम हुनुपर्छ । नेपालमा रहेका अल्पसङ्ख्यक धर्मावलम्बीको धार्मिक स्वतन्त्रता र सुरक्षाको प्रत्याभूतिका लागि पनि यो जरुरी छ । 

नेपालमा धार्मिक द्वन्द्व र विग्रह आएको छैन, अहिलेको अतिवादी भड्काउले कुनै पनि समयमा देशमा द्वन्द्व तथा विध्वंश आउन सक्छ । त्यसलाई समयमै अनुमान गरी त्यस्तो समस्या आउन नदिन पहल गरिनुपर्छ । यसले मात्र नेपालमा शान्ति, स्थिरता, राष्ट्रियता र समृद्धि प्रवद्र्धन गर्न मद्धत गर्न सक्छ । 

सनातनी परम्पराको जगेर्नाबाट जगतको कल्याण गर्नका लागि र विश्वको एक मात्र हिन्दु राष्ट्रको रूपमा नेपालको विशिष्ट पहिचान विश्वसामु प्रस्तुत गर्नका लागि नेपाललाई धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र कायम गरिनुपर्छ । 

  • महाअभियानका क्रियाकलाप र प्रभाव

नवलपरासीको त्रिवेणी धाममा बसेको कांग्रेस महासमिति बैठक, पाँच वर्षपहिले काठमाडौँमा सम्पन्न महासमिति बैठकमा व्यापक रूपमा सनातन हिन्दुराष्ट्रको पक्षमा आवाज उठेको थियो ।

२०८० फागुन ७–१० मा गोदावरी ललितपुरमा सम्पन्न पछिल्लो महासमिति बैठकमा उपस्थित महासमिति सदस्यहरूको बहुमतले वैदिक सनातन हिन्दुराष्ट्र नेपालको पक्षमा हस्ताक्षर गरी महासमितिको पूर्ण सत्रमा प्रस्तुत समेत गरेका थिए । यसबाट नेपाली कांग्रेसका आमनेता तथा कार्यकर्ताले विशेष सहयोग तथा समर्थन प्रदान गर्दै आएका छन् भन्ने पुष्टि हुन्छ । 

पार्टी नेतृत्वको मूल दायित्व राष्ट्रियताको रक्षा हो । साथसाथै बहुसङ्ख्यक समर्थकको रायको सम्मान गर्ने हो । यसरी बहुसङ्ख्यक महासमिति सदस्यले हस्ताक्षर गरेर महासमिति बैठकमा बुझाएको प्रस्तावलाई पार्टीको मूल नेतृत्वले गम्भीरताका साथ लिनेछ भन्ने विश्वास रहँदारहँदै पनि महाअभियानका तर्फबाट नेतृत्वलाई निरन्तर झकझक्याउने काम हुँदै आएको छ । 

कांग्रेसबाहेक पनि अन्य राजनीतिक दलका जिम्मेवार नेता तथा कार्यकर्ताले यो अभियानमा प्रत्यक्ष वा परोक्ष समर्थन जनाउँदै आएका छन् । कम्युनिस्ट मित्रहरूलाई धर्मका पक्षमा सार्वजनिक रूपमा बोल्न अप्ठेरो भए पनि राष्ट्रिय एकताको सवालमा यो सबैभन्दा महत्त्वपूर्ण पक्ष हो र यसलाई बुद्धिमानीपूर्वक सच्याउनुपर्छ भन्नेमा उनीहरू सहमत छन् । 

थोरै बुद्धिजीवी बाध्यताले पनि होला धर्मनिरपेक्षको पक्षमा उभिए पनि बहुसङ्ख्यक बुद्धिजीवीहरू नेपाललाई धर्मनिरपेक्ष बनाउन हुँदैन भन्नेमा प्रस्ट छन् । आम नागरिक यो गल्ती जति सक्दो सच्याउनुपर्छ भन्नेमा प्रस्ट छन् । विश्वभरका सनातनी, बुद्ध, प्रकृतिपुजकहरु नेपाल हिन्दुराष्ट्र बन्नुपर्छ भन्ने पक्षमा छन् ।

महाअभियानको तर्फबाट गरिएका विभिन्न सभा, सम्मेलन, भेला, अन्तक्र्रिया, बहस आदिमा सबैको एकै स्वर हुने गर्दछ— नेपाललाई धर्म–निरपेक्ष बनाएर अक्षम्य भुल भएको छ, त्यसलाई जति छिटो सुधार्न सकियो त्यति क्षति कम गर्न सकिन्छ । 

हामी सचेत छौँ । कुनै धर्म तथा सम्प्रदायलाई श्रेयष्कर देखाउने, कसैलाई होँच्याउने तथा कमजोर बनाउने मनसाय यसमा कहीँकतै अभिव्यक्त भएको छैन । वैदिक सनातन परम्परा भनेकै सम्पूर्ण चराचर जगत्लाई समान दृष्टिबाट हेर्न सक्नु हो । जीवन र जगत्को कल्याणका हेतु, नेपाली माटोको मौलिकताको संरक्षणको कर्तव्य बोध गरी सचेत नेपाली नागरिकले अगाडि बढाएको अभियान भएकाले यसले नेपाल र नेपालीको कल्याणलाई उच्च महत्त्व दिएको छ । 

धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुराष्ट्र कायम गर्दा सबै धर्म, सम्प्रदाय, परम्परा र सभ्यताको पूर्णतः संरक्षण र संवद्र्धन गर्न अझ सहज अवस्था सिर्जना हुनेछ । अल्पसङ्ख्यक धर्म, सम्प्रदाय र परम्पराका नेपाली दाजुभाइ दिदीबहिनीले आजभन्दा बढी सुरक्षित र आत्मसम्मानका साथ नेपाली भएर यो देशलाई फलाउने फुलाउने अवसर उपयोग गर्न पाउने वातावरण बन्नेछ । यो कसैलाई कमजोर बनाउन सुरु गरिएको अभियान होइन, सबैलाई बलियो बनाउन र त्यसमा पनि देशलाई बलियो बनाउन गरिएको प्रयास हो । 

धर्म निरपेक्षताले हामीलाई भित्रभित्रै भयङ्कर साम्प्रदायिक, असहिष्णु, अनुदार र विद्रोही बनाउँदै लगेकाले यसको नकारात्मक असर धान्न सक्ने क्षमता मुलुकसँग छैन । त्यसैले मुलुकलाई दुर्घटनाबाट बचाउन पनि संविधान संशोधन अपरिहार्य छ । 

हाम्रो जिम्मेवारी सबैभन्दा माथि देश हुन्छ । देश रहेमा मात्र हामी रहने हो । हामीले हाम्रा सन्ततिलाई शान्त, सुसंस्कृत, सभ्य र समृद्ध नेपाल हस्तान्तरण गर्नुपर्छ । जुन देशले आफ्नो इतिहास, आफ्नो परम्परा, सभ्यता, संस्कृति र धर्मलाई बिर्सन्छ, त्यो देशमा शान्ति, स्थिरता र सम्पन्नता आउँदैन भन्ने तथ्य जगजाहेरै छ । मुलुकको प्रमुख राजनीतिक शक्ति भएकाले कांग्रेसले यो अभिभारा ग्रहण गर्नुपर्र्छ ।

विगतको गल्ती सच्याउँदा कमजोर भइँदैन, अन्य राजनीतिक दललाई पनि विश्वासमा लिएर नेपाली कांग्रेसले यसको नेतृत्व लिनु आवश्यक छ । किनकि एकातिर विगतमा पनि नेपालका मुख्य परिवर्तनको नेतृत्व नेपाली कांग्रेसबाट मात्र सम्भव भएको छ भने अर्कोतर्फ देशमा कम्युनिस्टहरूको ठुलो सङ्ख्या छ । कम्युनिस्टहरू धर्मका बारेमा खुलेर बोल्न सक्दैनन् तर राष्ट्रिय शक्ति भएका कारण उनीहरू पनि देशका प्रति उत्तिकै जिम्मेवार छन् र देशको भलो चिताउँछन् । त्यसैले नेपाललाई हिन्दु राष्ट्र बनाउने सन्दर्भमा कांग्रेसले नेतृत्व लिँदा खुसी भएर कम्युनिस्टहरूले पनि यो मुद्दामा समर्थन जनाउनेछन् । राष्ट्रप्रेमले ओतप्रोत बुद्धिजीवी धर्म निरपेक्षताको विरुद्धमा छँदै छैनन् । तर, केही बाह्य प्रभावमा रहेका र बाह्य शक्तिप्रति उत्तरदायी हुनुपर्ने बाध्यतामा रहेका बुद्धिजीवीहरू काठमाडौँमा क्रियाशील भएको तथ्य जगजाहेर नै छ । त्यस्ता छद्मभेषी शक्तिलाई परास्त गर्न राष्ट्रवादी बुद्धिजीवीहरू थप क्रियाशील हुन आवश्यक छ । 

मेरो बुझाइमा दक्षिण छिमेक नेपाल हिन्दु राष्ट्र होस् भन्ने चाहन्छ भने उत्तर छिमेक पनि धर्मको नाममा नेपालमा बढ्दै गएको बाह्य प्रभावबाट सशंकित बन्न पुगेको छ । उत्तर छिमेकमा बुद्ध धर्मको प्रभाव बढ्दो छ, त्यसको मूल वैदिक सनातनी सभ्यता नै हो र बुद्ध धर्मको जरो नेपालमै छ । दक्षिण छिमेक आफैँमा पनि हिन्दुराष्ट्र हुनका लागि प्रयत्नरत छ । यस्तो अवस्थामा संविधान संशोधनका लागि दबाब सिर्जना गर्नेतर्फ हाम्रो ध्यान जानुपर्छ । 

अन्त्यमा
राजनीतिमा ‘गिभ एन्ड टेक’ हुन्छ, तर धर्म, संस्कृति र सभ्यतामा गिभ एन्ड टेक’ हुँदैन । त्यसमा पनि वैदिक सनातन परम्पराको कुनै जरो नै फेला नपर्ने हुँदा यो मानव सभ्यता जति नै पुरानो छ । त्यसैले यसमा सम्झौता हुने प्रश्नै उठ्दैन । देशमा ९४ प्रतिशत सनातनी छन्, अल्पसङ्ख्यक समुदाय पनि नेपाल धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु राष्ट्र बनेमा आफूू सुरक्षित हुने तथ्यमा आश्वस्त छन् । 

दक्षिण र उत्तर छिमेक नेपालमा शान्ति, स्थिरता र समुन्नति चाहन्छ, त्यसका लागि अहिले धर्मको नाममा देखापरेका अस्थिरताले कालान्तरमा समस्या ल्याउने हुँदा नेपालले आफ्नो मौलिक पक्षलाई छाड्न हुँदैन भन्ने पक्षमा छन् । नेपाललाई विश्वमा एक मात्र हिन्दु राष्ट्र बन्ने अवसर उपलब्ध छ, त्यसले हामीलाई एक विशिष्ट पहिचान दिनेछ । हाम्रो विविधतायुक्त भूगोल, भाषा र सम्प्रदायमा सबैलाई राष्ट्रिय एकताको मालामा जोड्ने आधार सनातनी परम्परा नै हो । बाह्य शक्तिले धर्मका माध्यमबाट घुमाउरो गरी हाम्रो मौलिकता, एकता, पहिचान र विशिष्टताको मर्ममै प्रहार गरेका छन्, त्यसलाई हामीले समयमा बुझ्न सकेनौँ पनि निकै ठुलो अनिष्ट निम्तिनेछ । त्यसैले हामी सबै एकजुट भएर नेपाललाई पुनः धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन (हिन्दु) राष्ट्र कायम गर्नका लागि क्रियाशील होऔँ ।
(लेखक प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर भण्डारी
शंकर भण्डारी
लेखकबाट थप