सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

पार्टी संरचना ‘चलायमान’ बनाउँदै एमाले, सरकारको एक महिने कार्यकालको समीक्षा गर्ने

सदस्यता विस्तारदेखि वैचारिक सांगठानिक कार्ययोजना कार्यान्वयनमा लैजाने
बिहीबार, १३ भदौ २०८१, १० : १६
बिहीबार, १३ भदौ २०८१

काठमाडौँ । नेकपा एमालेले पार्टी सङ्गठन सुदृढ अभियान अन्तर्गत पार्टीका स्थायी संरचनाहरूलाई चलायमान बनाउने भएको छ । आगामी एक वर्षमा गर्न सक्ने कामसहितको योजना बनाएर सोही अनुसार कार्यान्वयनमा लैजाने एमालेको तयारी छ ।

बिहीबार बस्ने केन्द्रीय सचिवालय बैठकमा प्रस्तावित वार्षिक कार्ययोजनामाथि छलफल गरेर पारित गर्दै कार्यान्वयनमा लैजाने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

यसअघि अभियानका रूपमा कार्यक्रम बनाएको एमालेले यो पटक भने पार्टी संरचनालाई चलायमान बनाउन नियमित कार्यक्रमअन्तर्गत कार्ययोजना बनाउन लागेको हो ।

नेता गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी छलफल गर्ने कार्यसूची तय भएको छ ।

‘पार्टीको एक वर्षे सङ्गठन सुदृढीकरण कार्ययोजना, समसामयिक राजनीतिक परिस्थिति, सरकारको एक महिना, सडकको अराजकतालगायत छन्’, गौतमको भनाइ छ । एमालेले पार्टीको वार्षिक कार्ययोजना अन्तर्गत सङ्गठन र पार्टी सदस्यता विस्तारलाई प्राथमिकतामा राखेको छ । त्यस्तै पार्टीभित्र शुद्धीकरण सुदृढीकरण अभियान सञ्चालन गर्ने एमालेको तयारी छ । त्यसका अलावा जिल्ला जिल्लामा पार्टी प्रवेश कार्यक्रम र प्रशिक्षणजस्ता कार्यक्रम सचिवालयमा प्रस्ताव गर्नेछ ।

प्रस्तावित कार्यक्रम सचिवालयबाटै पारित गरेर कार्यान्वयनमा लैजाने वा अन्य कमिटीमार्फत अघि बढाउने भन्ने सचिवालयले नै निर्णय गर्नेछ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विशेषगरी एक वर्षे कार्ययोजना अन्तर्गत सदस्यता विस्तार र जन सरोकारका विषयसहित जनपरिचालनलाई केन्द्रमा राखेर कार्यक्रम बन्ने बताए । उनले सङ्गठनात्मक, वैचारिक, जनपरिचालन, कार्यविभाजन र कार्यालय व्यवस्थापन, जनतासँगको सम्बन्ध लगायतमा कार्ययोजना बनाएर पार्टीलाई अघि बढाउन लागिएको बताए ।

‘जनतासँग प्रत्यक्ष पुग्ने विषय र पार्टी स्कुलिङका विषयलाई प्रभावकारी बनाउने कार्ययोजना रहेका छन्’, ज्ञवालीले रातोपाटीसँग भने, ‘केन्द्रसहित प्रदेश कमिटीहरूलाई चलायमान बनाउने योजना बन्छन् ।’

त्यसको अलावा एमालेले पार्टी जनसंगठनहरुलाई थप व्यवस्थित बनाउने तयारी गरेको छ । ‘हाम्रो पार्टी स्थापनाको ७५ औँ वर्षका केही कामहरू बाँकी रहेका थिए । तिनलाई पनि पुरा गर्ने योजना छ’, ज्ञवालीले भने, ‘पालिका र वडा अधिवेशनहरू भइरहेका छन् । तिनलाई निरन्तरता दिनेगरी कार्ययोजना बन्छन् ।

सरकारको समीक्षा हुने

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको एक महिने कार्यकालको समेत विश्लेषण गर्ने भएको छ । ओलीको नेतृत्वमा गत असार ३० गते कांग्रेससहितको सरकार बनेको थियो ।

‘सचिवालय बैठकमा सरकारको एक महिने कामको समीक्षा पनि हुन्छ । सरकारले कस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ? कस्ता कार्यक्रम ल्याउँदैछ भन्नेबारे छलफल हुन्छ’, सचिवालयका एक नेताको भनाइ छ ।

दुई ठुला दल मिलेर बनेको गठबन्धन र त्यस गठबन्धनका आधारमा गठन भएको सरकारले स्थिरता कायम गर्दै सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखेको बताउँदै आएको छ । तर सरकारको भनाइ र गराइमा एकरुपता आउन नसकेको प्रतिपक्ष दलले आरोप लगाउँदै आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप