बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

आन्दोलन र संघर्षमै आम जनता पार्टीको जोड, बेथितिमाथि निरन्तर प्रहारको रणनीति

प्रभु साहको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)
बिहीबार, १३ भदौ २०८१, ०५ : ४५
बिहीबार, १३ भदौ २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा)ले आन्दोलन र संघर्षमा जोड दिँदै आगामी राजनीतिक गतिविधिलाई अघि बढाउने रणनीति अख्तियार गरेको छ । २०७९ को संघीय निर्वाचनपछि पार्टी गठन गरेर राजनीतिक गतिविधि गर्दै आएका अध्यक्ष प्रभु साहले मंगलबारदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा आगामी दिनमा तेस्रो जनआन्दोलन गर्ने उद्घोष सहित आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् । 

‘दलाल दलतन्त्रको भण्डाफोर गरौँ, जनआन्दोलनको दिशामा अघि बढौँ’ भन्ने उद्घोषका साथ अध्यक्ष साहले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रमुख राजनीतिक दलहरूको भ्रष्ट चरित्रले सिङ्गै देश सङ्कटग्रस्त र असफल बन्दै गएको निष्कर्ष निकालिएको छ । जसका कारण आम जनताको शासन व्यवस्था स्थापनाको लागि तेस्रो जनआन्दोलनको विकल्प नभएको साहको तर्क छ । 

जनता अलमलमा रहेको दाबी

साहले आज देशको समग्र अवस्था छदमभेषी रहेको उल्लेख गर्दै यस्तो अवस्थाले गर्दा देशको विकासक्रम अवरूद्ध भएको जिकिर गरेका छन् । जसका कारण जनता अलमलमा रहेको उनको दाबी छ । ‘राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका क्षेत्रहरू अन्योलग्रस्त एवं जटिल बन्दै गएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘आखिर किन देशमा राजनैतिक बदलाव पश्चात् पनि अवस्थामा सुधार आएन ? राजनैतिक अवस्थाबारे किन समान बुझाई हुन सकिरहेको छैन र समाजको विकासक्रम किन फड्को मार्न सकेन ? यो तमाम प्रश्नहरूको सही जवाफ ठोस परिस्थितिको ठोस विश्लेषण बिना सम्भव छैन ।’ 

साहले आफ्नो १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा देशलाई दिशा निर्देश गर्ने संवैधानिक व्यवस्था नै छदमभेषी रहेको जिकिर गर्दै भनेका छन्, ‘नेपालको संविधानमा लोकतन्त्र देखाउनलाई मात्र हो, चपाउने दाँत दलतन्त्र हो ।’ बाहिर लोकतान्त्रिक व्यवस्था भनिए पनि भित्र दलीय शासन प्रणाली नै रहेको उल्लेख गर्दै उनले संघीयता पनि रूपमा मात्र भएको जिकिर गरेका छन् । देश सङ्कटग्रस्त हुनुको मुख्य कारण नै नेपालको छदमभेषी संवैधानिक व्यवस्था भएको उनको जिकिर छ । 

यस्तै नेपालमा राजनीतिक नेतृत्वको चरित्र दोहरो रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘जो बाहिर छ त्यो भित्र छैन । नेताहरुको विचार भाषणमा मात्र छ, व्यवहारमा छैन ।’  देशमा नेताहरूले साधुको पोसाक लगाएर जनतालाई ढाँटिरहेको उनको टिप्पणी छ । 

यस्तै उनले नेपालमा राजनीतिक परिवर्तनका लागि भएका सम्पूर्ण संघर्ष र आन्दोलनहरू सम्झौतामा टुंगिएको उल्लेख गर्दै भनेका छन्, ‘सम्झौतापरस्त राजनीतिक व्यवस्था भनेको दोहरो चरित्र भएका छदमभेषी व्यवस्था हो । यसले देशलाई स्पष्ट दिशा दिन सक्दैन ।’

यस्तै आर्थिक अवस्था, सामाजिक सांस्कृतिक अवस्था समेत छद्मभेषबाट मुक्त हुन नसकेको भन्दै साहले सम्पूर्ण क्षेत्रमा आमूल परिवर्तनका लागि तेस्रो जनआन्दोलनको विकल्प नभएकोमा जोड दिएका छन् । 

बेथितिमाथि निरन्तर प्रहार

साहले पार्टीले स्थापनकालदेखि नै देश र जनताको पक्षमा दृढतापूर्ण संघर्ष गर्दै आइरहेको उल्लेख गर्दै प्राप्त सफलताबाट देशमा बदलाव सम्भव छ भन्ने आत्मविश्वास जागृत गरेको बताएका छन् ।  साहले आफ्नो प्रतिवेदनमा असोज ३ गते नै संविधान दिवसको दिन पार्टीले देशव्यापी रूपमा संविधानको अन्त्येष्टि यात्रा निकालेको, संविधान दिवसको दिन बृहद अन्तरक्रिया गरेको र जनआन्दोलन दिवसको अवसरमा वृहद खबरदारी सभा गरेको उल्लेख गर्दै आफूहरूको हरेक कार्यक्रम र अभियानबाट वर्तमान गणतन्त्रको फाइदा मुठीभर नेताहरूले लिइरहेको पुष्टि भइरहेको जिकिर गरेका छन् । अब  देशलाई सही दिशा दिन तेस्रो जनआन्दोलनको सफलता आजको आवश्यकता हो भन्ने विषयलाई आत्मसात गरी पार्टीको अगामी कार्य योजना निर्माण गर्न जरुरी रहेको साहको निष्कर्ष छ । 

यस्तै साहले विगतमा भ्रष्टाचार विरुद्ध र  भन्सारविरुद्ध आन्दोलन गरेको उल्लेख गर्दै बैंकिङ लुट, वैदेशिक ठगी, कवाड क्षेत्रको बेथितिविरुद्ध आन्दोलन गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् । यस्तै पहिचानको आन्दोलन, मदर्शाका लागि संघर्ष, शिक्षक दरबन्दीका लागि संघर्ष, किसान–मजदुरको पक्षमा संघर्ष, आवासका लागि संघर्ष, शुन्य करसहित फ्री बिजुली पानीका लागि संघर्ष, गौर हत्याकाण्डविरुद्ध संघर्ष आजपाले गरेको थियो । 

साहले देशमा विद्यमान ‘खिचडी व्यवस्था र छदमभेषी राजनीतिक अवस्था’को बिचमा अग्रगामी आन्दोलनको आवश्यकता र औचित्यबारे जनतालाई स्पष्ट पार्नु र नयाँ आन्दोलनको उठान गर्नु एक चुनौतीपूर्ण कार्य भएको बताएका छन् । तर, सबै चुनौतीलाई चिरेर पार्टी सफल हुनतर्फ लाग्ने उनको भनाइ छ । 

‘दलाल दलतन्त्र विरुद्धको तेस्रो जनआन्दोलनलाई सफल तुल्याउनु हाम्रो पहिलो दायित्व हो’, साहको प्रतिवेदनमा भनिएको छ, ‘अर्थात् जनआन्दोलनलाई केन्द्रमा राखेर अगामी कार्ययोजना निर्माण गर्न जरुरी छ ।’

त्यसअघि बेथितिमाथि निरन्तर प्रहारको रणनीतिअनुसार “जनतासँग हातेमालो कार्यक्रम” मार्फत भ्रष्टाचारीलाई जनकारबाही, विदेशी नागरिकता लिने नेपालीहरूको सम्पत्ति कब्जा, भोट फिर्ती र कर बहिष्कार अभियान सञ्चालन गर्ने साहको भनाइ छ । 

यसका लागि साहले देशभक्त एवं अग्रगामी शक्तिहरूलाई गोलबन्द गर्दै देशमा परिवर्तन चाहने शक्ति एवं पार्टीहरूसँग सहकार्य गर्ने नीति पनि लिएका छन् । 

यसैबिच साहको प्रतिवेदनमाथिको छलफलमा भाग लिने केन्द्रीय सदस्यहरूले भ्रष्टाचार, बेथिति, कुशासनको विरुद्ध आन्दोलनको विकल्प नभएको बताएको आजपा महासचिव त्रिभुवन साहले बताए । मंगलबारदेखि सुरु भएको बैठक बुधबार साहको प्रतिवेदन पारित गर्दै सकिएको सो पार्टीले जनाएको छ । 

प्रतिवेदनको पूर्णपाठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप