बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

काभ्रेको खानीखोलामा फैलिएको कालाजार नियन्त्रणमा

बुधबार, १२ भदौ २०८१, २१ : ४५
बुधबार, १२ भदौ २०८१

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–७ महांकालका बालबालिकामा केही महिनादेखि देखिएको कालाजारको सङ्क्रमण नियन्त्रणमा आएको छ । करिब चार महिनादेखि आठ बालबालिकामा देखिएको कालाजार विशेष निगरानी र ‘कन्ट्रयाक ट्रेसिङ’ तथा विषादी कार्यक्रम सञ्चालन गरी नियन्त्रणमा ल्याइएको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो । 

हालै मात्र एक पाँच वर्षमुनिका बालकमा कालाजारको सङ्क्रमण देखिएको थियो । कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले खानीखोलामा फैलिएको कालाजार पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको बताए । उनकानुसार ‘कन्ट्रयाक ट्रेसिङ’ तथा विषादी छिट्काउ कार्यक्रम सञ्चालन गरी कालाजार सङ्क्रमण नियन्त्रणमा ल्याइएको हो ।

“भुसुनाका माध्यमबाट सर्ने यो रोग नियन्त्रणका लागि समयसमयमा भुसुना लाग्ने स्थानको पहिचान, खोज र नष्ट अभियान नै सञ्चालन गरिएको छ । केही महिनाअघि बनेपा नगरको एक बालकमा पनि कालाजार देखिएको थियो । कार्यालयले त्यसबेला उक्त क्षेत्रमा पनि भुसुना लाग्ने स्थानको पहिचान, खोज र नष्ट अभियान नै सञ्चालन गरी नियन्त्रणमा ल्याइएको हो”, कार्यालय प्रमुख श्रेष्ठले भने ।

कालाजार लाग्न नदिन  भुसुनाको टोकाइबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ । यसको सङ्क्रण भएमा लगातार ज्वरो आउने, छालामा विभिन्न खालका सङ्क्रमण देखापर्ने, वजन घट्ने, खानामा रुची नहुने, पेट बढ्दै जाने र समयमा उपचार हुन नसके बिरामीको मृत्यु हुने गर्छ । 

यसैबीच काभ्रेपलाञ्चोकमा डेढ महिनाको अवधिमा ५१ जनामा डेङ्गी सङ्क्रमण भएको छ । कार्यालयकानुसार २३ पुरुष र २८ महिलामा डेङ्गी सङ्क्रमण देखिएको हो । सङ्क्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लामा चार सय ८७ जनामा डेङ्गी सङ्क्रमण भएको थियो ।

काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । डेङ्गीको उच्च जोखिम रहेका नेपालका १० जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि एक हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप