मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

गण्डकी मेडिकल कलेजले ४ अर्बको लागतमा नयाँ अस्पताल र शैक्षिक भवन बनाउने

बुधबार, १२ भदौ २०८१, २१ : ३६
बुधबार, १२ भदौ २०८१

पोखरा । गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरले टिचिङ अस्पताल तथा शैक्षिक भवन निर्माण सुरु गरेको छ । पोखरा २७ रिठ्ठेपानीमा अस्पताल र शैक्षिक भवन निर्माण गर्न लागिएको हो ।

भवनको बुधबार अध्यक्ष खुमाप्रसाद अर्यालले शिलान्यास गरे । भवन शिलान्यास गर्दै उनले गण्डकी मेडिकल कलेज गण्डकी क्षेत्रको अग्रणी र जिम्मेवार चिकित्सा शास्त्र सेवा प्रदायक रहेको दाबी गरे । ‘दूर दराजका बिरामीले असाध्य रोगको उपचारका लागि काठमाडौँ र विदेश धाउनुपर्ने बाध्यताको अन्त्य गण्डकी मेडिकल कलेजले गरेको छ,’ अर्यालले भने, ‘हामी यसलाई अझै विस्तार गर्न गइरहेका छौँ र अत्याधुनिक प्रविधिबाट उपचार गर्ने गरी प्रक्रिया अघि बढाएका छौँ ।’

उनले पोखरामा बढ्दै गएको जनघनत्वलाई मध्येनजर गरेर लेखनाथलाई मेडिकल कलेजको हब बनाउने गरी टिचिङ अस्पताल नयाँबजारबाट स्थानान्तरण गर्न लागेको बताए । ‘हामी नयाँबजारको साँघुरो ठाउँमा छौँ । यसलाई त्यहाँबाट स्थानान्तरण गर्न लागिएको हो,’ उनले भने, ‘नयाँबजारबाट पठनपाठन मात्रै सार्ने हो, अस्पताल त्यहीँ रहन्छ । त्यहाँको अस्पताल अरू व्यवस्थित भएर चल्छ । टिचिङ अस्पतालका रूपमा यहाँबाट सञ्चालन गर्छौं ।’

नेपालको मेडिकल शिक्षा विश्वमै अव्वल रहेको उनले बताए । ‘नेपालको चिकित्सा शिक्षा विश्वमा अब्बल नै छ । तर सरकारी नीति व्यवहारिक छैन । सरकारी नीति सुधार भयो भने भविष्य अझै राम्रो छ,’ अर्यालले थपे, ‘समग्र पश्चिम नेपालको स्वास्थ्य सेवा सुरक्षित गर्ने पहलमा हाम्रो ग्रुप लागेको छ । मेडिकल एजुकेसन र स्वास्थ्य सेवामा केन्द्रित छौँ ।’ उनीहरूको सञ्जीवनी ग्रुपले भैरहवाबाट पोखरामा मेडिकल कलेज सञ्चालन गर्न थालेको हो । केही समयअघि नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर अस्पतालमा पनि उपस्थिति जनाएको थियो ।

नयाँ बन्ने अस्पताल भवन ७५० बेडको बन्नेछ । हाल ५५० बेडको स्वीकृति रहेको अस्पतालमा शय्या थप गर्न प्रक्रिया अघि बढाइएको अर्यालले जानकारी दिए । भवन निर्माणमा करिब ३ अर्ब लागत अनुमान गरिएको छ । अस्पताल भवन बनेपछि नयाँ बजारमा रहेको हालको अस्पताललाई सिटी अस्पतालका रूपमा मात्रै सञ्चालन गरिने प्रशासनले जनाएको छ । यस्तै, सोही ठाउँ नजिकै अत्याधुनिक शैक्षिक भवन पनि शिलान्यास भएको छ । भवन १ अर्ब लागतमा २ वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रमुख कार्यकारी अधिकृत डा. रवीन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।  

२०६४ सालमा स्थापना भएको टिचिङ अस्पतालबाट हालसम्म एमबिबिएस र विडिएस तर्फ ६५९ जना र नर्सिङ तथा एलाइड साइन्सेजतर्फ २२१ जना, एमडी, एमएस तथा एमपिएचमा ५० जना दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । संस्थामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १ हजार २ सय भन्दा बढीले रोजगारी पाएका छन् । अस्पतालबाट बर्सेनि २ लाख बिरामीले उपचार सेवा लिएका अस्पताल प्रशासनले जनाएको छ । हालसम्म पोखराको भौतिक संरचनामा मात्रै ५ अर्ब भन्दा बढी लगानी गरिसकेको श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप