बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमती प्रदेश : संसदीय समितिको बैठकमा गणपूरक सङ्ख्या पुर्‍याउनै सकस

समितिको नाम परिवर्तन गर्न सांसदहरूको माग
बुधबार, १२ भदौ २०८१, २१ : १९
बुधबार, १२ भदौ २०८१

मकवानपुर । बागमती प्रदेशसभा अन्तर्गतको उद्योग, पर्यटन वन तथा वातावरण समितिको बुधबार सम्पन्न बैठकमा मुस्किलले ८ जना सांसद उपस्थित भए । उक्त समितिमा १७ सदस्य छन् ।

दिउँसो २ बजेका लागि आह्वान भएको बैठक सांसदहरू उपस्थित नहुँदा ३ बजे सुरु भएको थियो । सो समितिमा एउटा विधेयक एक वर्षदेखि विचाराधीन अवस्थामा छ ।

जसोतसो बुधबार आह्वान भएको बैठकमा सांसदहरूको उपस्थिति न्यून थियो । बैठक सञ्चालनका लागि आवश्यक गणपूरक सङ्ख्या पुर्याउनै सकस परेको थियो । संसदीय समितिको बैठक सञ्चालनका लागि प्रदेश सभा नियमावली २०७४ को दफा १५४ को (१) बमोजिम सदस्य सङ्ख्याको एक चौथाइ सदस्य उपस्थित हुनुपर्नेछ ।

उक्त बैठकमा समितिका १७ सदस्यमध्ये ८ जना उपस्थित भएका थिए । उपस्थित सांसदहरूसमेत बैठक सुरु हुँदासम्म बैठक कक्षमा थिएनन् । गणपूरक सङ्ख्याको मूल्याङ्कन गरेर समितिका सभापति आनन्दकुमार श्रेष्ठले बैठक सञ्चालन गर्न थालेपछि केही सांसद बैठक कक्षमा प्रवेश गरेका थिए ।

बैठकमा उपस्थित सांसदमध्ये २ जना माओवादी केन्द्र, २ जना नेपाली कांग्रेस, राप्रपाकी एक र समितिका सभापति बाहेक ३ जना एमालेका थिए । बैठकमा कांग्रेसकी याङ्किला शेर्पा, यमुनादेवी श्रेष्ठ, एमालेकी भारती पाठक, ठुला थामी, बालकुमारी विश्वकर्मा, माओवादी केन्द्रका रुकु चौलागाई, भुवनकेशरी श्रेष्ठ, राप्रपाकी धनेश्वरी प्रजापती उपस्थित थिए । उपस्थितमध्ये सांसद पाठक बैठकको बिचमै बाहिरिएकी थिइन् ।

बैठकमा समितिका अन्य ९ सांसद अनुपस्थित रहे । जसमा कांग्रेसका ३, माओवादी केन्द्रका १, राप्रपाका २, नेमकिपा र एकीकृत समाजवादीका १÷१ सांसद अनुपस्थित थिए । बैठकमा कांग्रेसका दिपेन्द्र श्रेष्ठ, मसिना खड्का, शान्ता ढकाल, राप्रपाका राजु विष्ट, मोनिका श्रेष्ठ, माओवादी केन्द्रका तारा नारायण श्रेष्ठ, नेमकिपाकी गीता काफ्ले र एकीकृत समाजवादीकी मायादेवी शर्मा अनुपस्थित रहे ।

समितिको नाम परिवर्तन गर्न सांसदहरूको माग

बैठकमा प्रदेशको वन तथा वातावरण मन्त्रालयको गत आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदनमाथि छलफल, एक वर्षदेखि विचाराधीन प्रदेश हस्तकाला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो ।

सोही अनुसार मन्त्रालयका सचिव धिरेन्द्र कुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि छलफलका क्रममा सांसदहरूले समितिको नाम नै परिवर्तन गर्न माग गरेका थिए ।

उनीहरूले वन मन्त्रालयले वातावरण क्षेत्रका कामहरू हेर्न नसकेको टिप्पणी गर्दै वातावरण क्षेत्रका विषयहरू समेट्न समितिको नाम परिवर्तन गर्न माग गरेका थिए ।

बैठकमा बोल्दै सांसद भारती पाठक, भुवन केशरी श्रेष्ठ, याङ्किला शेर्पा, यमुनादेवी श्रेष्ठ लगागतले वातावरण क्षेत्रका विषय समेट्न समितिको नाम परिवर्तन गर्न माग गरेका थिए । उनीहरूले भेग विषयका रूपमा रहेको वातावरण क्षेत्रलाई समेट्न वन तथा वातावरण समिति थप गर्नुपर्ने बताए ।

उनीहरूले मन्त्रालयमा वातावरण महाशाखा र जिल्लास्थित कार्यालयमा शाखाहरू राखेर काम गर्न सुझाव दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप