शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

सत्ता बिछोडपछि एमाले–माओवादी वाकयुद्धमा, संसद्‍देखि समितिसम्म आमनेसामने

बुधबार, १२ भदौ २०८१, १८ : १७
बुधबार, १२ भदौ २०८१

काठमाडौँ । सत्ता सहकार्यमा हुँदा ‘स्वर्ग-नर्क सँगै जाने’ कसम खाएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरूले पछिल्लो समय एक अर्कालाई 'दुस्मन' ठान्न थालेका छन् । सत्ता सहयात्रा टुटेसँगै संसददेखि संसदीय समितिसम्म यी दुई दल वाकयुद्धमा उत्रन थालेका छन् ।

९ भदौमा सार्वजनिक लेखा समितिको बैठकमा कुलमान घिसिङको नाममा एमाले र माओवादीबिच वाकयुद्ध देखिएको थियो । मंगलबार प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलेपछि पनि त्यो वाकयुद्ध दोहोरियो । अझ बुधबार प्रतिनिधिसभाको बैठकमा देखिएको दृश्यले एमाले-माओवादी 'दुस्मनी'कै तहमा पुग्न थालेको आभास नै दिलायो ।

लामो समय सत्तामा रहेको माओवादी अहिले प्रतिपक्षमा छ । २०७९ को निर्वाचनपछि १८ महिना सरकारको नेतृत्व गरेपश्चात्  अहिले माओवादी संसद्को प्रमुख प्रतिपक्षको भूमिकामा रहेको हो । माओवादी अध्यक्ष प्रचण्डको बहिर्गमनपछि अहिले संसद्को पहिलो शक्ति (कांग्रेस) र दोस्रो शक्ति (एमाले) को गठबन्धन सरकार छ ।

हुँदाखाँदाको कांग्रेससँगको गठबन्धन तोडेर वाम गठबन्धनको सरकार बनाउन एमालेले नै माओवादीलाई उक्साएको थियो ।  तर‚ एमालेसँगको सत्ता सहकार्यपछि एमालेकै 'धोका'का कारण सत्ता गुमेसँगै यी दुई दलबिच सम्बन्ध राम्रो छैन ।

अझ पछिल्लो समय डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने विषयमा माओवादी र एमाले फरक कित्तामा छन् । एमालेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउँदै विद्युत् बक्यौता उठाउन चाहेको आशङ्का माओवादीलाई छ । यस्तै माओवादीले यो विवादलाई वर्तमान गठबन्धनविरुद्ध प्रयोग गर्न सकिने हतियारको रूपमा लिएको प्रयोग गर्न चाहन्छ ।

विश्वासको मत माग्दै प्रचण्डले भनेका थिए-  नराम्रो धोका पाएँ

२८ असारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रलोभनमा परेर आफूले कांग्रेससँगको गठबन्धन तोडेको बताएका थिए । 'स्वर्ग र नर्क सँगै जाने', २०८४ को चुनाव सँगै लड्ने भन्ने ओलीले असार १७ गते नयाँ गठबन्धन बनाएर आफूलाई धोका दिएको विश्वासको मत माग्ने क्रममा बोल्दै प्रचण्डले गुनासो गरेका थिए ।

‘त्यो कुरा त षड्यन्त्र रहेछ भन्ने बल्ल बुझेँ । केही मान्छे कुण्ठा र षड्यन्त्रबाट कहिले निस्किन सक्दैनन् भन्ने मैले ठानिनँ । स्वर्ग र नर्क सँगै जाने कुरा असार १७ गतेको हो‚’ विश्वासको मत माग्न रोस्टममा पुगेका उनले भनेका थिए‚‘१७ गते बिहान स्वर्ग र नर्कमा सँगै जाने, २०८४ मा चुनाव पनि सँगै लड्ने कुरा ‌ओलीले गर्नु भयो । म ढुक्क भएर बसेँ। मूल नेतृत्वले नै स्वर्ग गए पनि सँगै नर्क गएँ पनि सँगै भनेकाले दायाँबायाँ नहुनेमा ढुक्क थिएँ ।’

ओलीले त्यसो भनेपछि क्याबिनेटमा गएर आफूले त्यही ब्रिफिङ गरेको उनले रोस्टममा उभिएर बताएका थिए । ‘म क्याबिनेटमा गएँ, मलाई साथीहरूले दायाँबायाँ हुन लागेको भन्नु भयो, तर मैले तपाईँहरू बुझ्नु हुन्न चार घण्टा कुरा गरेर आएँ, एमाले अध्यक्षसँग भने तर म त …टो रहेछु,’ प्रचण्डको गुनासो थियो ।

लेखा समितिमा आमनेसामने

बुधबार संसदमा जस्तै भदौ ९ मा बसेको सार्वजनिक लेखा समिति बैठकमा पनि एमाले-माओवादी बिच चर्काचर्की परेको थियो । दुई दलबिच समिति सभापतिको विषयमा चर्काचर्की परेको हो । समितिमा विवादित बनेको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता महसुल सम्बन्धी विषयमा छलफलको कार्यसूची थियो ।  सोही विषयमा धारणा राख्ने क्रममा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले विगतको अभ्यासअनुसार लेखा समिति सभापति प्रतिपक्षी दललाई दिन माग गरेका थिए ।

एमाले सांसदहरुले भने लेखा समिति चाहिए शीर्ष नेताहरूबिच सहमति गराउन जवाफ दिए । त्यतिमात्रै होइन, एमालेका सांसदहरुले सार्वजनिक लेखा समितिको सभापतिसँगै अल्पमतमा रहेका राष्ट्रियसभा अध्यक्ष र उपसभामुख पनि फेर्नुपर्ने प्रस्ताव अघि सारेका थिए ।

एमाले सांसद् योगेश भट्टराईले शीर्ष नेताहरूबिच सहमति भए लेखा समितिको सभापति छोड्न तयार रहेको जवाफ दिँदै राष्ट्रियसभाका अध्यक्ष कसरी बने भन्ने पनि हेर्न आग्रह गरेका थिए ।

माओवादी सांसद अमनलाल मोदीले भट्टराईलाई जवाफ फर्काउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पालामा पनि एमालेले लेखा समितिको सभापति मागेको स्मरण गरेका थिए ।

उनले अहिलेको लेखा समितिको सभापति गठबन्धन फेरिएर नेपाली कांग्रेस र माओवादी गठबन्धन बनेपछि मात्रै प्रतिपक्षी एमालेले भागबन्डामा पाएको भन्दै सच्याउन सुझाव दिएका थिए ।

'यहाँ सहमतिको कुरा छ । सँगै स्वर्ग, नर्क जाने भन्ने कुरा त के भयो ? एउटा कालखण्डमा कसैले गल्ती गर्‍यो भने त्यही मोडलमा जानुपर्छ भन्ने हुन्छ त ?,' उनले भने, 'पहिले जे गल्ती भयो । अब पनि फेरि दोहोर्‍याउने कि सच्याउने ? सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्छ यसमा किन्तु परन्तु केही छैन ।'

एमालेका सांसद गोकुल बाँस्कोटाले देउवा सरकार अदालतको परमादेशबाट बनेकाले आफूहरू प्रतिपक्षी हुँदा सभापतिको कुरा उठाएको भन्दै लेखा समितिको सभापति चाहिने भए राष्ट्रियसभाको अध्यक्ष र उपसभामुख फेर्नुपर्ने प्रस्ताव राखे ।

'मेरो सामान्य प्रस्ताव छ । राष्ट्रियसभाको अध्यक्ष फेरौँ । प्रतिनिधिसभाको उपसभामुख फेरौँ । यहाँ पनि फेरौँ । तर, फेर्ने कुरा राजनीतिक सहमति गरेर आउनुस्,' बाँस्कोटाको चुनौती थियो,' यहाँ मसला बनाएर हिँड्न जरुरी छैन, त्यो तयार हो । सबै समितिको निर्वाचन गरौँ ।'

एमालेबाटै निर्वाचित समिति सभापति ऋषिकेश पोखरेलले सभापतिको विषय प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भन्न चेतावनी दिएका थिए ।

मंगलबारको बैठकमा प्रचण्डसँग भिडेका थिए रघुजी

मंगलबारको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा प्रचण्ड रोस्टमा उक्लिए । अभिव्यक्तिका क्रममा प्रचण्डले एकपछि अर्को विषय राख्दै सत्तापक्षमाथि खनिए । उनले लेखा समिति सभापति मात्र होइन, प्रमुख प्रतिपक्ष दलको नेता पनि आफैसँग राख्न भन्दै आक्रोश पोखे ।

प्रचण्डले विद्युत् महसुल बक्यौता उठाउने सरकारको नियतमाथि पनि शङ्का गरे । यसैगरी उनले ओलीले फेसबुकमा लेखेर बिजुलीको २१ अर्बभन्दा बढी बक्यौता उठाउने विषयमा दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । यस्ता विषयमा फेसबुकमा लेख्ने नभई मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्ने विषय भएको भन्दै प्रचण्डले ओलीलाई पेलेका थिए ।

साथै सरकारको उद्देश्य बक्यौता उठाउने भन्दा पनि कुलमान हटाउने रहेको भन्दै प्रचण्डले आक्रोश पोखेका थिए । उनले माओवादीलाई सत्ता नचाहिने भन्दै हतारमा संविधान संशोधन भए र त्यसले क्षति निम्त्याउने भए माओवादी चुप लागेर नबस्ने प्रस्ट शब्दमा उल्लेख गरेका थिए ।

प्रचण्ड बोलेपछि बोलेका एमाले सांसद रघुजी पन्तले माओवादीलाई सरकारमा सहभागी नहुने निर्णय केन्द्रीय समिति बैठकबाट गरेर देखाउन चुनौती दिएका थिए । त्यसपश्चात् उनले दलको नेता लिने चाहना नभए नजिकै बसेका जर्नादन शर्मा वा अरू नेतालाई पद सुम्पन्न प्रचण्डलाई चुनौती दिएका थिए ।

बुधबारको बैठकमा के भयो ?

बुधबारको समिति बैठकमा झन् ठुलो लफडा भयो । प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा एमाले-माओवादी सांसदहरू बिच गहिरो वाकयुद्ध छेडियो । संसद्को विशेष समयमा १२ मिनेट समय लिएर एमाले सांसद योगेश भट्टराई बोलेका थिए । उनले सुरुवातमै मंगलबार माओवादी अध्यक्ष प्रचण्ड विद्युत् बक्यौताको विषयमा बोलेकाले जवाफ दिने भन्दै मन्तव्य अघि बढाएका थिए ।

बोल्ने क्रममा सांसद भट्टराईले भने, ‘माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा ठुलो क्रान्ति हुने थियो। माओवादीले कति ट्रान्समिसन लाइन पड्कायो, कति वटा सव स्टेसन पड्कायो‚ विद्युत् उत्पादन गर्न खोलामा गएका कति व्यवसायीलाई चन्दा मागेर भगायो।’

उनले अध्ययनले नै १० वर्ष माओवादीको हिंसा नचलेको भए नेपालमा लोडसेटिङको समस्या नै नआउने देखाएको भनेपछि माओवादी सांसद माधव सापकोटा उठेर नियमापत्ति जनाएका थिए ।

सापकोटाले प्रतिनिधिसभा सञ्चालन नियमावली २५ को व्यवस्था सम्झाउँदै नियमापत्ति गरेका थिए । उनले हिंसा शब्द गैरसंसदीय र अमर्यादित भएको भन्दै माइक पाउन माग गरे ।

तर‚ सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको भन्दै विषयलाई अघि बढाउन भनेका थिए । त्यसपश्चात् माओवादी सांसदहरूले हिंसा शब्द हटाउन माग गरे । तर योगेशले माओवादीलाई जवाफ फर्काउँदै 'हिंसै हो नि' भनेपछि स्थिति थप गरम भएको थियो ।

‘सभामुख महोदय हिंसा बाहेक केही हैन । हिंसा हो हिंसा। यो हाम्रो परिभाषा हो । उहाँले नमाने पनि केही फरक पर्दैन‚’ योगेशले भने ।

स्थिति सामान्य नभएपछि सभामुखले बसेर बैठक सञ्चालनका लागि अनुरोध गरे । माइक सबैको काटियो । त्यस समय एमाले सांसद भट्टराई र माओवादी सांसद माधव सापकोटा बिच भनाभन भयो । योगेशले तपाईंको धम्कीले कोही डराउँदैन भन्दै जवाफ फर्काए ।

अझै‚ स्थिति सामान्य भएन । सत्ता र प्रतिपक्ष दुवैतिरका सांसदहरू उठेपछि सभामुख घिमिरेले देवेन्द्र पौडेललाई बोल्न दिए ।  ‘संविधानले हिंसात्मक द्वन्द्व भनेको छैन । नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने नैतिक धरातल र अधिकार कसैसँग छैन । म खबरदारी गर्दछु‚’ उनले भने ।  त्यसपछि योगेश भट्टराईलाई सभामुखले समय दिएपछि उनले भनेका थिए‚‘विद्युतको ट्रान्समिसन पड्काउनु, मान्छे मार्नु, गोली ठोक्नु, पुलिस चौकीमा हान्नु सबै हिंसा हो।’

त्यसपश्चात् माओवादी सांसदहरू उठेर पुनः विरोध जनाए । सभामुखले भने रघुजी पन्तलाई बोल्न दिए तर माओवादी सांसदलाई बोल्न दिएनन् ।

अनि माओवादी सांसदले सोधे‚‘रघुजीलाई बोल्न दिने हामीलाई बोल्न नदिने ? तपाईँ  एमालेको सभामुख हो?,’ त्यसपछि माओवादीले सभामुख देवराज घिमिरेलाई चेतावनी दिँदै नियमावलीअनुसार सदन चलाउन ध्यानाकर्षण गरायो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमानुसार सदन नचलेको हुँदा चलाउन भने । ‘नियम २६ अनुसार जब नियमावली पालना हुँदैन त्यसपछि नियमापत्ति राख्न पाइन्छ,’ पाण्डेले भने, ‘सदन नियमअनुसार सदन चलेन, चलाइयोस् भन्न चाहन्छु ।’

पाण्डेको यो भनाइपछि सभामुख पनि आक्रोशित बनेका थिए । ‘नियमअनुसार चलिदिनू भन्नेले सभामुखको निर्देशन मानिदिन अनुरोध गर्दछु,’ सभामुखले भने ।

गत फागुनमा कांग्रेससँग सहकार्य तोड्दै तत्कालीन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग सहकार्यको हात अघि बढाएका थिए । तर, त्यसको चार महिनामै एमालेले पनि माओवादीलाई ‘धोका’ दिँदै कांग्रेससँग गठबन्धन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोमन आचार्य
रोमन आचार्य
लेखकबाट थप