शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

उता बैठक सर्‍यो, यता सरकार विस्तार टर्‍यो

भदौ २० गतेसम्ममा सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्यालय
बुधबार, १२ भदौ २०८१, १७ : ०६
बुधबार, १२ भदौ २०८१

विराटनगर । नेपाली कांग्रेसले मन्त्रीको नाम दिन नसक्दा कोशी प्रदेश सरकार विस्तार फेरि पछि धकेलिएको छ । यसअघि साउन २३ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न भएपछि सरकार विस्तार हुने बताइएको थियो । तर, उक्त बैठक तीन हप्तासम्म लम्बिएर अझै सकिएको छैन ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ल्याएको प्रतिवेदनको विषयमा सहमति जुटाउन भदौ ११ गतेका लागि बोलाइएको बैठक पुनः १६ गतेका लागि सरेको छ । कांग्रेस बैठक १६ गतेसम्मका लागि सरेसँगै कोशी प्रदेश सरकार विस्तार पनि पर धकेलिएको कांग्रेस नेताहरू नै बताउँछन् ।

कांग्रेसले मन्त्रीको नाम दिने बित्तिकै सरकार विस्तार हुने मुख्यमन्त्री हिक्मतकुमार कार्की बताउँछन् । यद्यपि आफ्नो भागमा परेको ४ वटा मन्त्रालयको मन्त्री कसलाई पठाउने भन्ने विषयमा कांग्रेसमा सहमति जुट्न सकेको छैन ।

४ मन्त्रालयमा कांग्रेस नेता शेखर कोइरालाले २ मन्त्रालय मागेपछि सहमति जुट्न नसकेको हो । सभापति शेरबहादुर देउवाले भने संस्थापन पक्षलाई २, शेखर समूहलाई १ र नेता कृष्णप्रसाद सिटौला समूहलाई १ मन्त्री दिने तयारी गरेका थिए । उक्त तयारीप्रति शेखर कोइरालाको असहमति छ ।

शेखर कोइरालाले आफ्नो समूहबाट २ मन्त्री बनाउनैपर्ने अडान राखेपछि प्रदेशको मन्त्रालय सङ्ख्या बढाउने विषयमा पनि एमाले र कांग्रेसबिच छलफल भएको थियो । नेता कोइरालाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति देउवासँग उक्त विषयमा छलफल गरेको बताइन्छ । सोही छलफलपछि प्रदेशको ९ वटा मन्त्रालयलाई बढाउँदै ११ वटा पुर्याउने विषय बाहिरिएको थियो ।

तर, सार्वजनिक सञ्चारमाध्यममा भएको आलोचना र सर्वसाधारणको असन्तुष्टि बढिरहेको सन्दर्भमा मन्त्रालय सङ्ख्या बढाउन नहुने पक्षमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अडान लिए । यसकारण पनि मन्त्रालय विभाजन गरेर कांग्रेसको आन्तरिक विवाद समाधान गर्ने प्रयास असफल भयो ।

उक्त प्रयास असफल भएसँगै कांग्रेसले मन्त्रीहरूको नाम दिन सकेको छैन । यसअघि कुराकानीका क्रममा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भदौ १४ गतेका लागि बोलाइएको प्रदेश सभा बैठकमा सहभागी हुँदा आफ्ना मन्त्रीहरूसहित सहभागी हुने बताएका थिए ।

‘या त मन्त्रालय फुटाएर या दुई वटा राज्यमन्त्री थपेर या पुरानै संरचनामा जे जस्तो हुन्छ, त्यही हिसावले हामी सरकारमा जान्छौँ । १४ गतेको प्रदेशसभाको बैठकमा कांग्रेसका मन्त्रीसहित उपस्थित हुन्छ,’ थापाले भनेका थिए ।

तर, उक्त सम्भावना कमजोर हुँदै गएको मुख्यमन्त्री कार्यालय स्रोत नै बताउँछ । ‘कांग्रेसले नाम दिँदैन । १२ गते (आजै) मन्त्रीमण्डल विस्तार हुने सम्भावना थियो । अब त्यो ट¥यो,’ उक्त स्रोतले भन्यो, ‘अब मन्त्रीमण्डल विस्तार २० गतेसम्ममा होला ।’

यसअघि दुई दिनमा, तीन दिनमा, एक हप्तामा सरकार विस्तार हुने भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका कांग्रेस नेताहरू अहिले भने मौन छन् । ‘भनेर के हुन्छ ? पूरा नै हुँदैन,’ कांग्रेसका एक सांसदले भने ।

उता, सरकार विस्तारको समयसीमा १२ र १३ गते भदौलाई टार्गेट गरिरहेको बेला कांग्रेस नेता डाक्टर शेखर कोइराला भने सिंगापुरतिर लागेका छन् । कांग्रेस स्रोतले दिएको जानकारी अनुसार कोइराला आँखाको उपचारका लागि सिंगापुर गएका हुन् । उनी बिहीबार फर्कने कार्यक्रम छ ।

‘मन्त्री सिफारिस गर्ने नेता नै विदेशमा छन् कसरी मन्त्रीमण्डल विस्तार हुन्छ ?’ कांग्रेसका एक नेताले भने । कोशी प्रदेशमा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ९ वटा मन्त्रालय छन् । ४० सांसद रहेको नेकपा एमालेले मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालय लिने र २९ जना सांसद रहेको नेपाली कांग्रेसले ४ वटा मन्त्रालय लिने विषयमा दुई पार्टीबिच यसअघि नै सहमति भइसकेको छ ।

सहमतिअनुसार एमालेले मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मन्त्री नियुक्त गरिसकेको छ ।

कांग्रेसको भागमा परेका भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय अहिलेसम्म मन्त्रीविहीन छन् । गत असार १७ गते कांग्रेस र एमालेबिच भएको सहमति अनुसार कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई नै निरन्तरता दिँदै कांग्रेस पनि सहभागी हुने तयारीमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप