बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनपछि नेताहरूमा असन्तुष्टि

चुनावमा गुटबन्दी भएको आरोप
बुधबार, १२ भदौ २०८१, १६ : ३७
बुधबार, १२ भदौ २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत पदाधिकारी चयन गरेको छ । यद्यपि, पदाधिकारी चयनका लागि भएको निर्वाचनले पार्टीभित्रको गुटबन्दी छताछुल्ल बनाएको नेताहरू बताउँछन् ।

एकीकृत समाजवादीको गत असार १६–२० गते काठमाडौँमा आयोजना गरेको दशौँ महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।

त्यसबाहेक अन्य पदाधिकारी सहमतिमा टुङ्ग्याउने पटकपटक प्रयास भए पनि सहमति नजुटेपछि मंगलबार चुनाव भएको हो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चुनिए भने अरू पदमा मतदान भएको थियो ।

चर्चित नेतृ रामकुमारी झाँक्री महिला उपाध्यक्षमा पराजित भइन् । उनलाई जयन्तीदेवी राईले पराजित गरेकी हुन् । राई यसअघि पनि उपाध्यक्ष नै थिइन् ।

खुला उपाध्यक्षमा जगन्नाथ खतिवडा, डा. गंगालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन् भने मधेसी उपाध्यक्षमा धर्मनाथप्रसाद साह निर्वाचित भएका छन् ।    

खुला उपमहासचिवमा गरिमा शाह, राजेन्द्र राई, रामकुमार भट्टराई र मेटमणि चौधरी निर्वाचित भएका छन् । दलिततर्फ सचिवमा गणेश बिक, आदिवासी जनजातितर्फ बलदेव चौधरी तथा खुलातर्फ श्रीनाथ बराल, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

डा.विजयकुमार पौडेल, विरोध खतिवडा, उर्वादत्त पन्त, रामचन्द्र झा, डा.वंशीधर मिश्र, डा.राजेन्द्रमान श्रेष्ठ, राजन राई, धनराज आचार्य, दिलकुमार पन्तजस्ता चर्चित नेताहरू पराजित भएका छन् ।

यो चुनावपछि पार्टीभित्र झन् असन्तुष्टि बढेको छ । ९७ मत ल्याएर उपमहासचिवमा पराजित भएका जीनवराम श्रेष्ठले कार्यालय सचिव पदबाट राजीनामा दिएका छन् । अन्य नेताहरू पनि असन्तुष्टि व्यक्त गरिरहेका छन् । उपाध्यक्षमा चुनाव हारेका एक नेताले भने, ‘पार्टीका जिम्मेवार व्यक्तिले गुटबन्दी गर्न थालेपछि आउने नतिजा नै यस्तै हो, योभन्दा राम्रो नतिजा आउँछ भनेर हामीले कल्पना गरेका थिएनौँ । पार्टीको चुनाव पालिकाको चुनावजस्तै देखिएको थियो ।’

पार्टीका जिम्मेवार नेताहरूले मतदातालाई फलानोलाई मत दिनु, फलानो नदिनु भनेपछि त्यो चुनाव कस्तो हुन्छ भन्दै उनले प्रश्न गरे । ‘यति बुझ्नुस् न, जसको हातमा डाडुपन्यु थियो, त्यसले पार्टीको मत आफ्नो पक्षमा पारे,’ उनले भने ।

आफ्नो गुटको व्यक्तिलाई पदाधिकारीमा ल्याउने तयारी आजको होइन । २०८० पुसमा भएको विधान संशोधनदेखि नै यो षड्यन्त्र भएको एक नेताले बताए । ती नेताले भने, ‘पहिला तल्लो तहदेखि अधिवेशनबाट प्रतिनिधि चयन हुँदै महाधिवेशनसम्म आउनु पर्ने प्रावधान थियो । महाधिवेशन प्रतिनिधिले केन्द्रीय कमिटी चयन गर्ने प्रावधान विधानमा थियो तर त्यसलाई परिवर्तन गरेर महाधिवेशनबाट मनोनीत गर्ने प्रावधान ल्याइयो । त्यहीँबाट यो धाँधली सुरु भएको हो ।’

केन्द्रीय समिति चयन गर्ने काम अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल,  र महासचिव घनश्याम भुसालले गरेका हुन् । उनीहरूले अरु दुईचार जनासँग सहयोग लिएको भन्दै असन्तुष्ट पक्षले शीर्ष नेताले ज–जसलाई केन्द्रीय सदस्य बनाउन चाहे, तिनैलाई बनाइएको आरोप लगाएको छ ।

महाधिवेशनले सम्मानित नेता झलनाथ खनाल, अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो । त्यसपछि उनीहरूले ९३ जना केन्द्रीय सदस्य घोषणा गरेका थिए । साउन १८ गते बसेको केन्द्रीय समितिको बैठकले ३४४ जनाको केन्द्रीय समिति घोषणा गरेको थियो ।

३४४ जना केन्द्रीय सदस्य दुईचार जनले मनोनीत गरेका छन् । अहिले त्यही दुईचार जनाले ज–जसलाई मत हाल्न भने, उनैलाई मत दिने अवस्था सिर्जना गरी यस्तो परिणाम आएको कतिपय नेताको गुनासो छ । उम्मेदवार चरम गुटबन्दीको सिकार भएको गुनासो ती नेताले गरे ।

मधेसी कोटाबाट उपाध्यक्षमा चुनाव हारेका रामचन्द्र झा भन्छन्, ‘लोकतन्त्रमा चुनावको निकै महत्त्व हुन्छ । त्यसले दिने परिणामलाई स्वीकार गर्नैपर्छ । कसले कसरी चुनाव जिते, त्यो कुराले अब महत्त्व राख्दैन ।’

चुनावको परिणामलाई आफूले स्वीकार गरेको बताउँदै उनले सबै निर्वाचित पदाधिकारीलाई बधाइ पनि दिए ।

स्रोतका अनुसार मंगलबार भएको चुनावमा अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालको तर्फबाट गोप्य रूपमा केन्द्रीय सदस्यहरूलाई अलगअलग चिट वितरण गरिएको थियो । मतदाताहरू दुई गुटमा बाँडिएका थिए । स्रोत भन्छ, ‘घनश्याम भुसाललाई झलनाथ खनालको पनि साथ थियो ।’

चयन भएका १७ पदाधिकारीमा अधिकांश माधव गुटका छन् । एक नेताले भने, ‘१७ जना पदाधिकारीमध्ये १० जना त माधवले आफ्ना गुटका जिताउनु भएको छ ।’

तर नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले चुनाव हारेपछि विभिन्न आरोप लगाउनु आम कुरा भइसकेको बताए । ‘चुनावमा कुनै गुटबन्दी, कुनै चिट वितरण भएको छैन,’ उनले भने, ‘जसले यो आरोप लगाएका छन्, त्यो गलत हो । लोकतान्त्रिक प्रक्रियाबाट चुनाव भएको छ ।’

चुनावमा हारजित सामान्य कुरा भएको उनले प्रस्ट पारे । त्यसैलाई मुद्दा बनाएर रोष प्रकट गर्न नहुने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप