लेनदेन र रिसिबिका कारण रूपक बान्तवाको हत्या
काठमाडौँ । शंखमुलस्थित ‘द टाइम पास स्नुकर’ का सञ्चालक रूपक बान्तवालाई लेनदेन र पूर्व रिसिबीका कारण हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले बाराको सिम्रौनगढ नगरपालिका–७ घर भएर काठमाडौँ–१० शंखमुल बस्ने एमके कुमारलाई पक्राउ गरेका छन् ।
आरोपीलाई घटनास्थल नजिकै डेराबाट पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । आरोपी घटनास्थल नजिकै डेरामा बस्थे । शंखमुलस्थित साईबाबा पार्कमा डेरामा बस्ने कुमारले मृतक बान्तवाकै कारण आफ्नो बुवा जेल परेको प्रहरीलाई बताएका छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्– ‘मलाई उसले असाध्यै हेप्ने हुनाले आवेशमा हत्या गरेँ ।’
२२ वर्षीय एमके कुमारले मृतकसँग आफ्नो लेनदेन पनि भएको अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । प्रहरीसँग उनले भनेका छन्, ‘मेरो ४१ लाख लिनुपर्नेछ ।’ भदौ १० मा बिहान १ बजेर ५० मिनेटमा घटनाबारे प्रहरीले सूचना पाएको थियो । प्रहरी पुग्दा एक जना युवक घटनास्थलबाट भाग्दै थिए । युवक भागेको देखेपछि एक जना महिलाले प्रहरीलाई फोन गरिन, ‘शंखमुलको स्नुकरमा झगडा परेको जस्तो छ, एक जना केटा भागिरहेको छ ।’
भाग्दै गरेका सनिज खड्गीलाई पनि प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ । बागबजार बस्दै आएका खड्गी घाइते छन् । घाइते अवस्थामा फेला परेका खड्गीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
तीन जना बसेर सँगै मदिरा खाएको र त्यसपछि पुरानो कुरा निकालेर एमके कुमारले हत्या गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् । घाइते अवस्थामा भागेका खड्गीले घटनाबारे बोलेका छैनन् । प्रहरी उपरीक्षक अधिकारी भन्छन्– ‘अब दुवै जनासँग क्रस भेरिफाई गरेर थप अनुसन्धान अघि बढाउँछौँ ।’ हत्यामा प्रयोग गरिएको फलामको रड प्रहरीले एमके कुमारको डेराबाट बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ
-
कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ
-
पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा बेदराज केसी नियुक्त
-
कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा सुवेदी मनोनीत
-
आईसीसी च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इङ्ल्यान्डको टोली घोषणा
-
कास्की जिल्ला अदालतमा रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर हुँदा के–के प्रमाण तथा कागजातहरु बुझाइयो ? (सूचीसहित)