सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

नेपालमा पहिलो पटक ‘एयर ब्याडमिन्टन’ को प्रदर्शनी खेल

बुधबार, १२ भदौ २०८१, १५ : ४४
बुधबार, १२ भदौ २०८१

काठमाडौँ । नेपाल ब्याडमिन्टन संघले युरोपमा लोकप्रिय रहेको विश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त नयाँ प्रकारको ब्याडमिन्टन खेल ‘एयर ब्याडमिन्टन’ नेपालमा पनि सुरुवात गरेको छ । यसैक्रममा संघले बुधबार एयर ब्याडमिन्टनको एक दिने प्रदर्शनी खेल आयोजना गर्‍यो ।

दक्षिण एसियामै पहिलो पटक यो खेल ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको ब्याडमिन्टन मैदानमा आयोजना गरिएको हो । ‘एयर ब्याडमिन्टन, द न्यू ब्याडमिन्टन गेम–२०२४’ नामकरण गरिएको प्रदर्शन खेलमा पुरुषतर्फ एक सय आठ र महिलातर्फ ३४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

पुरुष र महिला युगलतर्फ खेलाइएको खेलमा पुरुष युगलतर्फ लगनखेलका विलन मलान र उज्ज्वल दाहालको जोडी प्रथम भयो । ललितपुरका मनिष बज्राचार्य र राकेश शाक्यको जोडी दोस्रो भयो । आयुष प्रजापती (भक्तपुर) र एलिस थापा (चितवन) तथा अजय महर्जन र साजन महर्जन (थसी)को जोडी तेस्रो भए ।

महिलातर्फ नुमा लिम्बु (नखिपोट) र नविना (एपीएफ) को जोडीले फाइनलमा शर्मिला केसी र पार्वती राई (पीएफसी) को जोडीलाई हरायो । पीएफसीका मैया भट्टराई र सिता कार्कीको जोडी तथा भक्तपुरका लिना सिपाई र सुभेक्षा था श्रेष्ठको जोडी संयुक्त रूपमा तेस्रो भए ।

नेपाल ब्याडमिन्टन संघका पूर्वअध्यक्ष प्रकाशबहादुर शाही र निवर्तमान अध्यक्ष रमेशकुमार श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेको प्रदर्शन खेलको बिजेता खेलाडीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सह–महासचिव नविनविक्रम शाह, कोषाध्यक्ष तीलक पाण्डे, पूर्वप्रमुख प्रशिक्षक रजनीमैया जोशीलगायतले पुरस्कार वितरण गरे ।

एयर ब्याडमिन्टन परम्परागत ब्याडमिन्टनभन्दा केही फरक छ । यसमा एकल, युगल र तीनजनाको समूहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्न सक्छन् । यसको मैदान र सटल परम्परागत ब्याडमिन्टनको भन्दा फरक हुन्छ ।

कोर्टको मापदण्ड १६ मिटर लम्बाइ र पाँच मिटर चौडाइ रहेको हुन्छ । नेटबाट दुई मिटरको स्थानलाइ डेड जोन मानिन्छ । उक्त स्थानमा सटल कक झरेमा आउट र खेलाडीले उक्त स्थानको लाइन क्रस गरेमा फल मानिन्छ ।

यसैगरी, डेड जोनबाट तीन मिटर पर सर्भिस लाइन रहने र तीन मिटरको सर्भिस जोनबाट सर्भिस गर्नुपर्ने हुन्छ । विपक्षी टोलीमा जुनसुकै खेलाडीले रिसिभ गर्न पाउँछ । खुला मैदानमा खेलाइने भएकाले हावाको चापलाई ध्यानमा राखी भिन्न प्रकारको सटल कक बनाइएको हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप