शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
प्रतिनिधिसभा बैठक

जनयुद्ध ‘हिंसा’ भन्ने शब्दले संसद्‌मा निम्त्याएको विवाद

बुधबार, १२ भदौ २०८१, १५ : ०७
बुधबार, १२ भदौ २०८१

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको बैठकमा जनयुद्ध ‘हिंसा’ भएको भनी टिप्पणी गरेपछि विवाद भएको छ।  विशेष समयमा बोल्दै गर्दा भट्टराईले डेडिकेटेड फिडर र ट्रकलाइन महसुल विवादमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गरेको सम्बोधनबारे जवाफ दिँदै गर्दा जनयुद्धलाई हिंसा भनी टिप्पणी गरेका थिए ।

उनको टिप्पणीपछि माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले नियमापत्ति गरेका थिए । सभामुख देवराज घिमिरेले उनको नियमापत्तिबारे सोधे । लगत्तै माओवादीका सबै सांसदहरू भट्टराईको शब्द चयनप्रति असन्तुष्टि जनाउँदै उठेर विरोध गर्न थाले । एकाएक सबै सांसद  उठेर संसद् अवरोध गर्न थालेपछि सभामुखले माओवादीका तर्फबाट देवेन्द्र पौडेललाई समय उपलब्ध गराए । पौडेलले संसद्‌मा बोल्दा एमाले सांसद भट्टराईले जनयुद्धको अपमान गर्दै संसदीय मर्यादा उल्लङ्घन गरेको दाबी गरे । 

उनी बोल्न थालेपछि एमालेका सांसदहरू पनि उठेर होहल्ला गर्न थाले ।  एमाले र माओवादी दुवै दलका सांसदहरू उठेर हो हल्ला गर्न थालेपछि सभामुख घिमिरेले सम्झाउन थाले । उनले एमाले सांसद रघुजी पन्तलाई समय दिए । त्यसअघि सांसद भट्टराईले संसद्‌मा बोल्न नदिनु पनि हिंसा भएको भनी टिप्पणी गरेपछि माओवादी सांसदहरू झन् आक्रोशित भएका थिए ।

पन्तले समय पाएपछि माओवादीले सञ्चालन गरेको जनयुद्धमा मानिसहरूको ज्यान पनि गएकाले त्यो हिंसा भएको भनी हिंसा शब्द असंसदीय नभएको दाबी गरे । तर उनको भनाइले  संसद्‌मा झन् विवाद सुरु भयो । सभामुखले सांसद भट्टराईको शब्दमा छानबिन गर्न आफूले सचिवालयलाई निर्देशन दिएको जानकारी समेत गराए । तर माओवादी सांसदहरू संसद् सञ्चालन गर्न दिन तयार नभएपछि केहीबेर वादविवाद जारी रह्यो ।

माओवादी सांसद सापकोटाले आफूले बोल्न खोज्दा समय नपाएको तर सत्ता पक्षका सांसद पन्तलाई समय उपलब्ध गराएको भनी आपत्ति जनाइरहे ।  त्यसपछि सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिए । सभामुखले कुन नियम अन्तर्गत नियमापत्ति हो भनी प्रश्न गरे । प्रमुख सचेतक पाण्डेले नियम २६ पढेर सुनाए ।

उनले नियमापत्ति पछि सभामुखले निर्देशन दिनुपर्ने अनिमात्र संसद् चल्ने उनले सुनाए । उनीपछि सभामुखले फेरि निर्देशन दिएको जानकारी दिँदै माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीलाई सात मिनेटको समय दिएको घोषणा गरे । लगत्तै माओवादी सांसदहरू बसे अनि संसद् पुनः सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप