बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
अदालत

गैरकानुनी थुनामा रहेको भन्दै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका विकल  पुगे सर्वोच्च

कैफियत प्रतिवेदन माग गर्ने  आदेश
बुधबार, १२ भदौ २०८१, १४ : ५२
बुधबार, १२ भदौ २०८१

काठमाडौँ । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले आफूलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन् । पौडेलविरुद्ध विशेषमा चार मुद्दा विचाराधीन नै रहेका छन् । 

पौडेलले भदौ ११ गते सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदन बुधवार पेशी तोकिएको थियो । न्यायाधीश नहकुल सुवेदीको इजलासले पहिलो सुनुवाइ गर्दै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ । सर्वोच्चले विशेष अदालतबाट थुनामा पठाउने आदेश र अन्य प्रमाण सुनुवाइका लागि पेस गर्न भनेको हो । योसँगै सर्वोच्चमा उनको मुद्दा प्रवेश भएको छ।  

भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका पौडेल हाल थुनामै रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध पहिलो मुद्दा सुरक्षण मुद्रण केन्द्रको अनियमिततामा दायर गरेको थियो । अख्तियारले उनलाई सुरुमै पक्राउ गरेर विशेषमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले २०८१ जेठ ८ गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो ।  

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको थियो । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना हुने फैसला सुनाएको थियो । 

अख्तियारले २०८० वैशाखमा पौडेलसहित विरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो । त्यही आरोपमा मुछिएका नवीनकुमार पौडेलमाथि ६ महिना कैद र ५ करोड ८४ लाख बिगो अनि त्यति नै रकम जरिवानाको फैसला विशेषले गरेको थियो । 

आरोपमा मुछिएका रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, सिरिस उपाध्याय र मित्रलाल पुरीले सफाइ पाएका थिए ।  पौडेलविरुद्ध दोस्रो मुद्दा अन्तःशुल्क स्टिकरमा दर्ता भएको थियो । उक्त विवादमा तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालसहित १२ लाई प्रतिवादी बनाइएको थियो । असार ९ गते अख्तियारले उनीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

अख्तियारले उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो माग दाबी गरेको थियो । उनी विरुद्ध सरकारी पदमै रहँदा विदेशी पीआर लिएको दाबीसहित अर्को मुद्दा पनि विशेष अदालतमा दायर भएको छ। त्यस्तै पौडेलले सरकारी नियुक्ति लिएर गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको अर्को अभियोगमा पनि अख्तियारले विशेषमा मुद्दा दायर गरेको छ। यी मुद्दा विशेषमा विचाराधीन नै रहेका छन् । विशेषमा मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी सर्वोच्च पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप