दुर्गमका नागरिकको सहजताका लागि बन्दैछ वीरेन्द्रनगरमा ‘अतिथि आवास गृह’
सुर्खेत । कर्णालीका दुर्गम क्षेत्रका नागरिकको सहजताका लागि भनेर प्रदेश राजधानी वीरेन्द्रनगरमा ‘अतिथि आवास गृह’ बनिरहेको छ ।
कर्णालीका हिमाली तथा पहाडी जिल्लाबाट आउने नागरिकलाई बस्नका लागि सहज र सस्तो होस् भन्ने उद्देश्यसहित प्रदेश सरकारको लगानीमा उक्त आवास गृह निर्माण गरिएको हो ।
उक्त आवास गृह वीरेन्द्रनगर नगरपालिका–६, सिटी हल र राम मन्दिरको छेउमा बनाउन थालिएको छ । पहिलो चरणमा एक तला बनाइएको छ । ०७९ चैत ३ गते ठेक्का सम्झौता गरी काम निर्माणको काम अगाडि बढाइएको थियो । ०८० असार सम्पन्न गर्ने उद्देश्यसहित सुरेन्द्र निर्माण सेवाले दुई करोडमा कामको जिम्मेवारी लिएको थियो ।
अहिले पहिलो चरणको काम सकिए पनि दोस्रो चरणको कामको सुरु भएको छैन । आवास गृहको बाँकी तलाको लागि आवश्यक बजेट विनियोजन भएको देखिँदैन । शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशन दीपा हमालका अनुसार पहिलो चरणको काम सक्न ढिलाइ भएकाले केही महिना म्याद थपसमेत गरिएको थियो । जसका कारण अहिले ठेकेदारलाई भुक्तानी दिन बाँकी नै छ ।
भुक्तानी दिएपछि बाँकी भवन निर्माणका लागि सरकारसँग बजेट माग गरिने उनले रातोपाटीलाई बताइन् । आवास गृह निर्माण वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयबाट अघि बढाइएको हो ।
तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक वर्ष ०७८÷७९ मा आवास गृह निर्माण गर्ने भनेर पाँच करोड रकम विनियोजन गरेका थिए । तर उक्त वर्ष कार्यान्वयनमा आउन सकेन । पछिल्लो वर्ष दुई करोड विनियोजन गरेर पहिलो चरणको काम सकिएको र बाँकी कामका लागि अबको केही समयमा प्रक्रिया अघि बढ्ने हमाल बताउँछिन् ।
उनका अनुसार ४७२ वर्गमिटर क्षेत्रफलमा बनिरहेको भवनको सम्पूर्ण काम सम्पन्न गर्न १० करोड रकम लाग्ने छ । यो भवनको डीपीआर वीरेन्द्रनगर नगरपालिकाले ११ लाख ७९ हजार रुपैयाँ खर्च गरेर बनाएको थियो । डीपीआर अनुसार चार तलाको भवनमा २८ वटा कोठा रहनेछन् भने एउटा कोठामा चार जना बस्न मिल्ने गरी निर्माण भइरहेको छ । उक्त भवनमा एउटा सुविधा सम्पन्न सभाहल पनि बनाइने छ ।
भवन निर्माण भएर सञ्चालनमा आएको खण्डमा कर्णालीका दुर्गम हिमाली तथा पहाडी भेगमा नागरिकहरू वीरेन्द्रनगर आउँदा महँगो रकम खर्च गरेर होटेलमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।
हमालका अनुसार पहिलो तलामा भान्छा, डाइनिङ हल, शौचालय, स्नान घर रहनेछ । बाँकी तलमा बस्नका लागि कोठा बनाइने छ । सबैगरी डेढ सय जना बस्न मिल्ने गरी भवनको डिजाइन गरिएको छ ।
‘कर्णाली दुर्गम छ । हिमाली तथा पहाडी जिल्लाबाट कुनै नागरिक उपचारका लागि सुर्खेत आउनुहुन्छ तर होटेलमा बस्न आर्थिक समस्या हुन्छ,’ हमालले भनिन्, ‘त्यस्ता दुर्गमका बासिन्दाको सहजता लागि भनेर आवास निर्माण भएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सले माथिल्लो भाडादरको टिकट नबेच्ने
-
उपनिर्वाचनमा अनुमतिविना सवारी साधन सञ्चालन गरेमा २५ हजार रुपैयाँ जरिवाना
-
महाराष्ट्रमा ईभीएम ह्याक भएर हामीले हारेका हौँ : कंग्रेस नेता
-
आजपाले बोलायो स्थायी कमिटी बैठक
-
धनुषाका निजी विद्यालय एक सातादेखि बन्द
-
सायरा बानोले भनिन्- एआर रहमान संसारकै राम्रो पुरुष