काठमाडौँ । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज : पूजा, सर’को टिजर सार्वजनिक भएको छ ।
२ मिनेट ४ सेकेन्ड लामो टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरूलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा देखाउन खोजिएको छ । फिल्ममा आशा मगरातीको मुख्य भूमिकामा छिन् ।
टिजरमा आशाका अलवा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा लगायत कलाकार पनि अटाएका छन् । फिल्ममा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठ लगायतको समय अभिनय छ ।
निर्देशक रौनियारको ‘हाइवे’ र ‘ह्वाइट सन्’पछि यो तेस्रो फिचर फिल्म हो । विभिन्न अन्तर्राष्ट्रिय महोत्सव र हल रिलिज अघि नै फिल्मको विभिन्न देशको राइट बिक्री भएको छ ।
फ्रान्स प्रदर्शनका लागि एआरपी सेलेक्सन कम्पनीले फिल्मको राइट किनेको छ । एआरपी सेलेक्सनले यसअघि विश्वचर्चित अस्कर मनोनित सिनेमा ‘पास्ट लाइभ्स’ र ‘ट्रेन टु बुसान’ लगायतका फिल्मको वितरण गरेको छ । स्वीट्जरल्याण्ड, जर्मनी र अष्ट्रियाको लागि ट्रिगोन प्रदर्शन अधिकार किनेको छ ।
‘राजागंज ः पूजा, सर’ २९ अगस्ट अर्थात् आगामी बिहीबार भेनिसमा विश्व प्रिमियर हुँदैछ । भेनिस प्रिमियरका लागि निर्देशक रौनियार, अभिनेत्री मगराती इटाली जाँदैछन् ।
फिल्मलाई नर्वेजियन इन्स्टिच्युटको सोर्फोन्डबाट पनि आर्थिक सहयोग प्राप्त भएको छ । फिलम निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।
प्रतिक्रिया