बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
प्रहरी एक्सन

सरकारविरुद्ध आवाज उठाउँदा प्रहरीको धरपकड

बुधबार, १२ भदौ २०८१, १२ : ४१
बुधबार, १२ भदौ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १० मा सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘आजभोलि विरोध र चरित्र हत्या गर्न कारण चाहिँदैन, विकृति मच्चाउने तत्त्वहरू सलबलाएका छन् ।’ काठमाडौँ प्रहरीको भवन उद्घाटन कार्यक्रममा समाज बिथोल्न खोज्नेहरूले भत्ता पचाइरहेको आरोप लगाउँदै ओलीले भनेका थिए, ‘त्यस्ता तत्त्वहरूलाई नियन्त्रण गर्नुपर्छ ।’

प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति दिएको दुई दिनमा सरकारको विरुद्धमा क्रियाकलाप गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढीबाट दुई जना र काठमाडौँबाट दुई जना पक्राउ परेका हुन् ।

धनगढीस्थित ‘हङ्ग्री क्याफे’ का सञ्चालक प्रतीक जोशी र रचित शाहले परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध फेसबुकमा स्ट्याटस लेखे । उनीहरुले ‘भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई मन्त्री बनाइएको’ भन्दै आलोचना गरेका हुन् । स्ट्याटस लेखेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । तर, प्रहरीले उनीहरूलाई ‘गाँजाको बारेमा सोधपुछ’ गर्न नियन्त्रणमा लिएर छाडिएको दाबी गरेको छ ।

कैलालीका एसपी पदम विष्टले ‘हङ्ग्री क्याफे’मा गाँजाको किनबेच हुने गरेको सुराक पाएपछि सोधपुछ गर्न बोलाएको रातोपाटीलाई बताए । उनले भने, ‘सोधपुछ पछि मङ्गलवार साँझ नै छाडेका छौँ ।’

आरोपीहरूले ‘क्याफेमा गाँजा नबेचेको तर, बाहिरबाट आउनेहरूले खाएर आउन सक्ने’ भनेपछि रिहा गरिएको विष्टले बताए । काठमाडौँको टुँडिखेलमा भदौ १० मा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भयो । नाराबाजीमा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत घर भएका गोपीराम जैसी र राम बहादुर बुढा छन् ।

टुँडिखेलमा आयोजित गौरा पर्वमा सम्बोधन गर्ने क्रममा उनीहरुले प्रधानमन्त्री र देउवाविरुद्ध नाराबाजी गरेका थिए । घटनाबारे अनुसन्धान गर्न उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप