वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक विभिन्न रोगको सिकार हुने गरेका छन् । त्यसमध्ये एक हो, मिर्गौला बिग्रने समस्या । नेपालबाट स्वास्थ्य ठिक भएको प्रमाणित गरेर गएकाहरू फर्कँदा मिर्गौला रोगले थलिएर फर्कने गरेका छन् ।
प्रस्तुत छ, यसै सन्दर्भमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेसँग गरिएको कुराकानीको सम्पादित अंश -
गर्मी मुलुकमा पानी नपिईकन काम गर्यो भने बारम्बार शरीरमा पानीको मात्रा कम हुन गई मिर्गौला अप्ठेरोमा पर्छ र नजानिँदो तरिकाले मिर्गौला कमजोर भएर जान्छ, पिसाबमा खराबी देखिन सक्छ । पिसाबबाट प्रोटिन जान सक्छ, फिँज जान सक्छ । गर्मीयाम या तातो ठाउँमा काम गरेको व्यक्तिको एकैचोटि मिर्गौला बिग्रिएको भेटिन्छ ।
बारम्बार शरीरमा पानीको मात्रा कम भयो, पानी खाने समय भएन वा पानी खान पाइएन भने मिर्गौलामा समस्या देखिन सक्छ । यसमाथि माछा–मासु, रक्सी, चुरोट, खैनी लगायत खाँदा पनि मिर्गौला रोग लगायत समस्या निम्तिन सक्छन् । यद्यपि धेरैमा पानीको मात्रा नपुगेरै मिर्गौला बिग्रेको देखियो ।
गर्मी मुलुक दक्षिण अफ्रिकाको निकारागुवामा उखुखेतीमा काम गर्ने मानिसमा यस्तो समस्या देखियो । गर्मी ठाउँमा काम गर्ने अधिकांश किसानमा मिर्गौलाको समस्या देखियो ।
हामीकहाँ केही भूभागमा बाहेक अन्यतिर त्यति धेरै गर्मी हुँदैन । यस्तो ठाउँमा हुर्किएका युवाहरू गर्मी मुलुकमा काम गर्न जान थाले । त्यहाँ उनीहरूले आवश्यक मात्रामा पानी खान पाएनन्, वा पानी खान बिर्सिए । वा, पाए पानीको सट्टा कोक, फेन्टा खान थाले । अर्को कुरा माछामासु धेरै खाए, धेरै समय काम गरे, राम्रोसँग आराम गरेनन् । पानी नपिउने र रोगमा सघाउने तत्त्वहरू शरीरमा प्रवेश गर्दा रोगी बन्न गए ।
जति मान्छे गएका छन्, ती सबै युवा (२० देखि ४० वर्ष उमेर समूह)का छन् । आज जो मिर्गौला बिगारेर फर्केर आएका छन्; उनीहरू परिवार, समाज र राष्ट्रकै लागि बोझजस्ता भएका छन् ।
रोकथाम वा कम गर्नेतर्फ हाम्रो ध्यान गएन । सबैभन्दा पहिले त व्यक्ति स्वयंले ध्यान दिनुपर्यो । नेपालमा हुँदा स्वस्थ भए पनि विदेशमा स्वस्थ रहिन्छ भन्ने छैन । किनभने त्यहाँको वातावरण फरक छ । त्यो वातावरणमा स्वस्थ रहन जे गर्नुपर्छ, त्यसमै ध्यान दिने । दैनिक दुईदेखि तीन लिटर पिसाब फेर्ने गरी पानी पिउनुपर्छ । पानीको मात्रा पुगेन भने मिर्गौला बिग्रिन सक्छ भन्ने दिमागमा राख्नुपर्छ ।
विशेष गरी वैदेशिक रोजगारीमा गएकाहरुले मिर्गौला स्वस्थ राख्न ध्यान दिनुपर्छ । यो भनेको— आवश्यक मात्रामा पानी पिउने; खानेकुरामा माछामासु जे खान मन छ त्यो खान सकिन्छ तर सागसब्जी खान बिर्सिनु हुँदैन । यही नै स्वस्थ रहने आधार हो ।
जुन क्षेत्रमा गएका कामदारको मिर्गौला बिग्रिएको छ, त्यहाँ गएका श्रमिकको के कारणले मिर्गौला किन बिग्रियो ? यसमा व्यक्तिदेखि सरकार सचेत हुनुपर्छ ।
जुन क्षेत्रमा गएका कामदारको मिर्गौला बिग्रिएको छ, त्यहाँ गएका श्रमिकको के कारणले मिर्गौला किन बिग्रियो ? यसमा व्यक्तिदेखि सरकार सचेत हुनुपर्छ ।
स्वस्थ गएका युवा रोगी भएर भएर फर्कंदै छन् भने यसमा काम लगाउने देशले समेत सोच्नुपर्छ । आफ्नो देशमा आएका श्रमिकको स्वास्थ्य सुरक्षाको दायित्व त्यो देशको पनि हुन्छ ।
कमसे कम ती देशले ‘मिर्गौला प्रत्यारोपणका लागि म सहयोग गर्छु; मिर्गौला प्रत्यारोपणपछि खाने औषधिका लागि म सहयोग गर्छु’ भनिदियो भने ठुलो राहत हुन्थ्यो ।
रेमिट्यान्समा निर्भर रहेको सरकारले विदेश नजाऊ भन्न त सक्दैन, तर जानकारी दिएर पठाउन सक्छ । कुन–कुन ठाउँमा काम गरेका नेपालीको मिर्गौला बिग्रिँदो रहेछ, त्यसबारे राज्य जानकार हुनुपर्छ र सबैलाई सचेत गराउनुपर्छ । तर सरकारले यसबारे केही गरेको देखिँदैन ।
सरकारले जनचेतनामूलक कार्यक्रम बढाउनुपर्यो । सबै व्यक्तिलाई मिर्गौला, मुटु, क्यान्सर, प्रेसर, सुगर आदि रोगबारे बुझाउन सरकारले तालिमै दिनुपर्छ ।
अर्को कुरा, जुन ठाउँमा कामदारले पानी खान पाउँदैनन् वा सुरक्षित रूपमा काम गर्न पाउँदैनन् भने सरकारले त्यहाँ कामदार पठाउन रोक लगाउनुपर्छ ।
यसका लागि थुप्रै उपाय अपनाउन सकिन्छ । पिसाब फेर्न तल आउन सक्दैन भनेर डायपर लगाउन जान र त्यसैमा पिसाब फेर्न सकिन्छ । यस्तै अग्लो स्थानमा काम गर्ने कामदारले पहिले नै पानी लगेर जान सक्छन् । यी व्यवस्था व्यक्ति र कम्पनीले गर्न सक्छन् ।
यस्तै सरकारले गर्ने उपाय अर्को हुन्छ । जुन जुन ठाउँमा गएका कामदारको मिर्गौला बिग्रिएको छ, त्यो ठाउँमा किन मिर्गौला बिग्रियो भनेर सरकारले पत्ता लगाउनुपर्यो । अनि हामीले स्वस्थ पठाएका कामदार तिम्रो देशमा बिरामी भए भनेर सम्बन्धित देशसँग कुरा गरेर समाधान निकाल्न सकिन्छ ।
जाने गइरहने, रोगीको संख्या बढिरहने ! उसै त देशमा रोगीको संख्या बढ्दो छ ।
पैसा कमाउन भनेर गएको व्यक्ति मिर्गौला बिग्रिएर नेपाल फर्कियो भने उपचार गर्ने खर्च नभएर मर्ने अवस्था हुन सक्छ । त्यो स्थितिमा पुग्न दिनुभएन । भनेपछि सरकारको दायित्व एक ठाउँमा हुन्छ, जाने व्यक्तिको दायित्व आफ्नो ठाउँमा छ ।
व्यक्तिलाई बुझाएर पठाइयो भने मिर्गौलाको समस्या लिएर फर्कनेको संख्या घट्दै जान्छ । कसैको त नेपालमै बसे पनि मिर्गौला बिग्रिन सक्छ । तर, विदेशमा गएका धेरै व्यक्तिको मिर्गौला बिग्रिनु ठिक भएन ।
मिर्गौला प्रत्यारोपण सरकारी अस्पतालमा निःशुल्क छ, तर त्यहाँ भिडभाड बढी छ । आफ्ना मान्छेले मात्रै मिर्गौला दिन पाउने अवस्था भएकाले गाह्रो छ । मस्तिष्क मृत्यु भएका व्यक्तिहरूको मिर्गौला दिने विषयमा नाम लेखाउने काम मात्रै भएको छ, तर दिन सकिएको छैन । यस विषयमा जनचेतनाको कमी छ ।
मस्तिष्क मृत्यु भएको व्यक्तिको मृत्यु अवश्य हुन्छ । आईसीयूमा राखेर केही हुँदैन । उसले आफ्ना अंगहरू दान गर्न पाउँछ । मस्तिष्क मृत्यु भएका व्यक्तिको मुटु, फोक्सो, कलेजो, मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । अब हामीले त्यतातिर जानुपर्छ ।
डायलाइसिस गराएर १५–२० वर्ष बचाउन पनि करोडौँ खर्च हुन्छ, तर २०–२५ लाख खर्च गरेर प्रत्यारोपण गरियो भने लाखौँ रुपैयाँ जोगिन्छ । डायलाइसिस गर्ने मान्छेलाई जति सकिन्छ चाँडो प्रत्यारोपण गराउनुपर्यो ।
नेपालमा डायलाइसिस गर्नेको संख्या बढ्दो छ । यो निकै खर्चिलो उपचार हो, यसमा नेपालले धान्न नसक्ने अवस्था आउन सक्छ । यसका लागि आफ्नो मिर्गौला आफैँले जागाउनेबारे जनचेतना जगाउनुपर्छ ।
यसका लागि स्वास्थ्य परीक्षण गरियो भने मिर्गौलाको अवस्था थाहा हुन्छ । रोगी देखियो भने हामी निको पारिहाल्छौँ । यति गर्न सकियो भने डायलाइसिस गर्नेको संख्या कम गर्न सकिन्छ ।
अर्कोतिर आफन्त नभए पनि मस्तिष्क मृत्यु भएकाको मिर्गौला प्रत्यारोपण गराउन सकिने हुनुपर्छ । आज मेरा मान्छे नभएर प्रत्यारोपण गर्न पाएन भन्ने समस्या छ । मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला प्रत्यारोपण गराउन सकियो भने यो समस्या कम हुन सक्छ । यसमा धनी वा गरिब, सहर वा गाउँमा बस्ने भन्ने छैन । हरेक व्यक्ति मिर्गौलाको जोखिममा हुन सक्छ ।
वर्षको एकपटक मिर्गौलाको परीक्षण गराउनुपर्छ । अल्ट्रासाउन्ड, किड्नी फङ्क्सन टेस्ट र युरिन टेस्ट गरिदियो भने मिर्गौलाको अवस्था के छ भन्ने थाहा हुन्छ ।
नेपालमा लाखौँ व्यक्तिको मिर्गौला बिग्रिरहेको छ तर मिर्गौलाले काम गर्न छाडेपछि मात्रै अस्पताल आउने गरेका छन् । बिग्रिसक्यो भने त डायलाइसिस र प्रत्यारोपण मात्रै विकल्प हो ।
उच्च रक्तचाप र मोटोपन भएका व्यक्तिलाई उमेर बढ्दै गएसँगै मिर्गौला बिग्रिने सम्भावना बढी हुन्छ । हरेक वर्ष तीन हजार नेपालीको मिर्गौला बिग्रिन्छ भन्ने अनुमान गरिएको छ । त्यही हाराहारीमा डाउलाइसिस र प्रत्यारोपण गराइरहेका छन् ।
यसको रोकथामका लागि मूल जरोमा जानुपर्छ अर्थात् मिर्गौला रोग लाग्ने कारण र आधारहरू पत्ता लगाउनुपर्छ । सोही अनुसार जनचेतना फैलाउनुपर्छ ।
मिर्गौला बिग्रिएको सुरुमा थाहै हुँदैन, ८० प्रतिशत मिर्गौला बिग्रिएपछि मात्रै थाहा हुन्छ । त्यसपछि खुट्टा सुनिने, जिउ चिलाउने, पिसाब कम हुने, थकान आदि लक्षण देखिन थाल्छन् । अनि डायलाइसिसमा जानुपर्ने हुन्छ ।
लक्षण देखिएपछि मिर्गौला जाँच्ने भन्ने हुँदैन, लक्षण नदेखिँदैन बेला बेला परीक्षण गर्नुपर्छ ।
अहिले प्रत्यारोपण भइरहेको छ । सरकारी अस्पतालमा सरकारले निःशुल्क प्रत्यारोपण गराइरहेको छ । निजी पाँचवटा अस्पतालले लाइसेन्स पाएर काम गरिरहेका छन् । तिनीहरूकहाँ २० देखि २५ लाख रुपैयाँ खर्च हुन्छ । निजीमा कसरी कम खर्चमा प्रत्यारोपण गराउन सकिन्छ भन्नेमा सरकारले सोच्नुपर्छ ।
डायलाइसिस गराएर १५–२० वर्ष बचाउन पनि करोडौँ खर्च हुन्छ, तर २०–२५ लाख खर्च गरेर प्रत्यारोपण गरियो भने लाखौँ रुपैयाँ जोगिन्छ । डायलाइसिस गर्ने मान्छेलाई जति सकिन्छ चाँडो प्रत्यारोपण गराउनुपर्यो । अब निजी अस्पतालमा समेत सरकारले कुनै न कुनै योजना ल्याएर अगाडि बढ्नुपर्छ ।
प्रतिक्रिया