मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि दुई वर्षसम्ममा पनि बनेन

बुधबार, १२ भदौ २०८१, ११ : ०४
बुधबार, १२ भदौ २०८१

बुटवल । २०७९ साल भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि अझै निर्माण हुन सकेको छैन ।

सञ्चालन कार्यविधि नहुँदा उक्त सम्मेलन केन्द्रबाट आयआर्जन गर्न सकिएको छैन । बुटवल–१०, रामनगरमा १ अर्ब ११ करोड रुपैयाँ लगानीमा निर्माण भएको सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयमा रायका लागि पठाएको छ । तर अर्थ मन्त्रालयबाट ठोस निर्णय नहुँदा कार्यविधि अझै तयार हुन नसकेको हो ।

सहरी विकास मन्त्रालय सूचना अधिकारी सिनियर इन्जिनियर सुमन सालिकेले  बुटवलको हलसँगै देशभरका सभा हल सञ्चालनका लागि कार्यविधि निर्माणको प्रक्रियामा रहेको रातोपाटीलाई बताए ।

butwal international convention centre (4)

उनले रायका लागि अर्थ मन्त्रालयमा मस्यौदा पठाइएको बताउँदै अर्थबाट आउन ढिलाइ भएको खुलाए । उनले अर्थ मन्त्रालयबाट आउनासाथ कार्यविधि मन्त्रिपरिषदमा लैजाने जानकारी दिए ।

कार्यविधिको मस्यौदामा सभाहरूलाई क्षमताको आधारमा वर्गीकरण गरेर सञ्चालन गर्ने, क्षमताको आधारमा कतिपय सभा हल स्थानीय तहले समेत सञ्चालन गर्न पाउने व्यवस्था छ । कार्यविधि आएपछि बुटवल, धनगढी, चितवन, गोदावरी लगायतका सभा हल सञ्चालनको स्पष्ट मोडल आउने सालिकेले बताए ।

दुई वर्षमा ३६ वटा कार्यक्रम

बुटवलको अन्तर्राष्ट्रिय सभाहल उद्घाटन भएको दुई वर्ष पुगेको छ । यो दुई वर्षको अवधिमा सभामा ३६ वटा कार्यक्रम भएका छन् ।

दुई चरणमा निर्माण भएको बुटवलको अन्तर्राष्ट्रिय सभा हलभित्र १३ वटा साना हल छन् । ती हलमा २ हजार ७ सय जना अटाउने क्षमता छ । तीमध्ये अडिटोरियम सबैभन्दा ठुलो हल हो । अहिले त्यही हल बेलाबेलामा भाडामा लाग्ने गरेको छ । उक्त सभाहलमा आर्थिक वर्ष २०७९/८० मा ८ वटा, २०८०/८१ मा २६ वटा र चालु आर्थिक वर्ष २ वटा गरी कुल ३६ वटा कार्यक्रम भएको भवन निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले रातोपाटीलाई जानकारी दिए ।

butwal international convention centre (3)

सभा हलमा विद्युत्, पानी, सरसफाइ, सुरक्षा गार्ड, मालीको खर्च कटाउँदा कार्यक्रमबाट उठेको रकम र व्यवस्थापन खर्च उस्तैउस्तै छ । आयोजना प्रमुख पन्थीले मन्त्रिपरिषद्ले कार्यविधि बनाएर बिजनेस मोडलमा दिएपछि सभाहलको निर्माण उद्देश्य अनुसार सदुपयोग हुने बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अयार्लले सभाहल निर्माणपछि यस क्षेत्रको व्यापार–व्यवसाय चलायमान हुने अपेक्षा गरिए पनि सोचेअनुसार प्रगति नभएको बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय सभा हल निर्माण गरेपछि यहाँ ठुलाठुला कार्यक्रम हुने आसमा होटेल तथा अन्य क्षेत्रमा निजी क्षेत्रले लगानी गरेको छ । तर सभा हल नै राम्रोसँग चल्ने टुङ्गो लागेको छैन ।’

बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवलको गहना भएकाले छिटो कार्यविधि बनाएर सञ्चालन गर्नुपर्ने बताए । उनले सभाहल सञ्चालनको जिम्मेवारी उपमहानगरपालिकालाई दिएको खण्डमा आफूहरू तयार रहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप