आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खलामा वेस्ट इन्डिजको ‘क्लिन स्विप’

बुधबार, १२ भदौ २०८१, १० : २०
बुधबार, १२ भदौ २०८१

काठमाडौँ । घरेलु टोली वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा ‘क्लिन स्विप’ गरेको छ । वेस्ट इन्डिजले बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हरायो ।

जितसँगै क्यारेबियन टोलीले तीन खेलको शृङ्खला ३–० ले जितेको हो । यसअघि पहिलो खेलमा वेस्ट इन्डिज सात विकेटले विजयी भएको थियो । दोस्रो खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ३० रनले हराएको थियो ।

तेस्रो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकी टोलीले निर्धारित १३ ओभरमा चार विकेट गुमाएर एक सय आठ रन बनाएको थियो । वर्षाका कारण खेल १३–१३ ओभरमा झारिएको थियो ।

वर्षाका कारण खेल पुनः अवरुद्ध भएपछि वेस्ट इन्डिजले १३ ओभरमा एक सय १६ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले ९.२ ओभरमै केवल दुई विकेट गुमाएर एक सय १६ रन बनाउँदै विजय लक्ष्य पुरा गरेको थियो ।

वेस्ट इन्डिजको सजिलो जितमा ओपनर साई होपले अविजित ४२ रनको योगदान गरे । उनले केवल २४ बलको सामना गरी चार छक्का र एक चौका हिर्काए । विकेटकिपर ब्याट्सम्यान निकोलस पुरनले पनि ३५ रनको योगदान गरे । उनले केवल १३ बलमा चार छक्का र दुई चौका प्रहार गरे ।

सिमरोन हेट्मायर ३१ रनमा अविजित रहे । उनले केवल १७ बलमा एक छक्का र चार चौका हिर्काए । त्यसअघि दक्षिण अफ्रिकाका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ४० रन बनाएका थिए । उनले केवल १५ बलमा तीन छक्का र पाँच चौका प्रहार गरेका थिए ।

वेस्ट इन्डिजका बलर रोमारियो सेफर्डले दुई ओभरमा १४ रन खर्चिएर दुई विकेट लिएका थिए । उनी प्लेयर अफ दि म्याच पनि घोषित भए । प्लेयर अफ दि सिरिजको पुरस्कार पनि वेस्ट इन्डिजकै साई होपले पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप