धनगढीमा माओवादी परामर्श समिति बैठक बस्दै, संसदीय दलसम्बन्धी विवाद अन्त्य होला ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समिति बैठकमा दलसम्बन्धी विवादले प्रवेश पाउने भएको छ । बुधबार र बिहीबार सञ्चालन हुने परामर्श बैठकमा भाग लिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेताहरू सुदूरपश्चिमको राजधानी धनगढी पुग्दैछन् ।
साउन ३१ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकमा स्थायी समिति सदस्य खगराज भट्टले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले परामर्श बैठकमै समस्याको हल गर्ने आश्वासन दिएका थिए ।
आजको बैठकमा यस विषय उठ्न सक्ने भए पनि यस विषयमा अहिले केही बोल्न नमिल्ने इन्चार्ज गिरिराजमणि पोखरेलले बताए । ‘परामर्श बैठकमा सबैको कुरा सुन्ने हो । केन्द्रीय समितिको दस्ताबेज तयार गर्न परामर्श बैठक राखिएको हो । इस्युवाइज रूपमा हामी छैनौँ । दलसम्बन्धी विवादको विषयमा अहिले मैले केही बोल्न मिल्दैन’, रातोपाटीसँग पोखरेलले भने ।
संसदीय दलको नेताले केन्द्रको निर्देशनसमेत कार्यान्वयन नभएकोमा भट्टले स्थायी समिति बैठकमा प्रश्न उठाएका थिए । यस विषयमा परामर्श बैठकमा पनि उठाउने उनले बताए ।
‘दलसम्बन्धी विवाद हल गर्न अध्यक्षले के गर्नुहुन्छ थाहा छैन । यस विषयमा कुरा उठ्छ । स्थायी समितिमा राखिसकेको थिएँ । यहाँ(परामर्श) बैठकमा पनि कुरा राख्छु’, भट्टले भने ।
यता प्रदेशका अध्यक्ष हरिराम चौधरीले परामर्श बैठक सकिएपछि दलसम्बन्धी विवाद सम्बोधन हुन सक्ने बताए । दलसम्बन्धी विवादमा अल्झिनुपर्ने कारण नै नभएको उनको भनाइ छ ।
‘यसमा अल्झिनुपर्ने केही कारण छैन । पहिला सहमतिका आधारमा दलका नेता खगराजजी दलका नेता हुनुहुन्थ्यो । त्यसपछि संसदीय दलको बहुमतद्वारा उहाँलाई हटाइयो’, चौधरीले भने, ‘पछि फेरि बहुमत र अल्पमतमा नगरौँ भनेर अध्यक्षले भनिसकेपछि अहिलेका नेता मानबहादुर धामीजीले म बहुमतबाट नेता भएको हुँ, बहुमतको समर्थन मलाई छ भनिरहनुभएको छ । दलको नेताका रूपमा उहाँको तर्क पनि ठिकै छ । यी कुरा पार्टीको आन्तरिक विषय हुन् । अब अध्यक्षले मिलाउनुहुन्छ ।’
गत वर्ष माघ १२ गते प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामी संसदीय दलको नेता बनेपछि विवाद केन्द्रमा आइपुगेको थियो । दलभित्रको विवाद झागिँदै गएपछि पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले असार १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षलाई बोलाएर भट्टलाई नेता बनाउन निर्देशन दिएका थिए । उनको निर्देशन लागु नभएपछि पार्टीले सर्कुलर नै जारी गरेको थियो । तर अहिलेसम्म पार्टीको निर्देशन कार्यान्वयन हुन सकेको छैन । यस विषयमा दलका नेता धामीले आफूलाई बहुमतद्वारा हटाउन भट्टलाई चुनौती दिएका छन् । विवाद समाधानका लागि पटक पटक सम्पर्क गर्दासमेत भट्टले बेवास्ता गरेको धामीले आरोप लगाएका छन् ।
भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णयमा त्यतिबेला धामीसहित संसदीय दलका उपनेता अक्कलबहादुर रावल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी बिक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए । बैठक उडान प्रभावित नभए बिहान ११ बजे सुरु हुने इन्चार्ज पोखरेलले जानकारी दिए । केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअघि सबै प्रदेश, केन्द्रीय निकाय, जसस/मोर्चामा कार्यरत रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठक बस्ने स्थायी समिति बैठकले निर्णय गरेको थियो । यसअघि माओवादीले बागमती, उपत्यका विशेष, प्रदेश समन्वय र गण्डकी प्रदेशमा परामर्श बैठक राखिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता