आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमती सरकारको एक महिना : जम्मा तीन पटक मन्त्रिपरिषद बैठक

बुधबार, १२ भदौ २०८१, ०७ : ३०
बुधबार, १२ भदौ २०८१

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारको नेतृत्व लिएको एक महिना पूरा भएको छ ।

एक महिनाको अवधिमा मुख्यमन्त्री लामा नेतृत्वको मन्त्रिपरिषद् बैठक तीन पटक बसेको छ । मन्त्रिपरिषद् बैठकले खासै महत्त्वपूर्ण निर्णय भने गर्न सकेको छैन । मुख्यमन्त्री लामाको एक महिना अवधि व्यवस्थापकीय भूमिकामै बितेको देखिन्छ ।

गत साउन ८ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लामाले साउन ९ मा शपथ ग्रहण गरेका थिए । उनले शपथ ग्रहण गरेकै दिन विनाविभागीय ३ सहित ९ मन्त्री नियुक्त गरेर क्याबिनेट बैठक राखेका थिए । उक्त बैठकले १३ जिल्ला समन्वय समितिलाई ५ करोड ३० लाख रुपैयाँ आर्थिक सहायता रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

सकसपूर्ण रूपमा मन्त्रिपरिषद विस्तार गर्दै साउन १२ मा मुख्यमन्त्री लामाले मन्त्रीको सङ्ख्या १४ पु-याए । मुख्यमन्त्री लामाले साउन १३ मा मन्त्रिपरिषद बैठक राखेर प्रमुख राजनीतिक सल्लाहकारमा विनोद शाहलाई नियुक्त गर्ने निर्णय गरेका थिए ।

सो पश्चात विभिन्न कार्यक्रम र उद्घाटनमा सक्रिय भएका मुख्यमन्त्री लामा मन्त्रालय र मन्त्रिपरिषद् व्यवस्थापनमा केन्द्रित भए । मुख्यमन्त्री लामासहित विभागीय मन्त्रीहरू निर्वाचन र जिल्ला केन्द्रित भए । कार्यक्रम र निर्वाचन क्षेत्रमा बधाई तथा धन्यवाद ज्ञापनका लागि मुख्यमन्त्री लामा र मन्त्रीहरू व्यस्त हुँदा न क्याबिनेट बैठक बस्न सक्यो, न कुनै ठोस काम कारबाही अघि बढ्यो ।

दोस्रो क्याबिनेट बसेको १८ दिनपछि मुख्यमन्त्री लामाले तेस्रो बैठक आह्वान गरे । साउन ३२ गते बसेको उक्त क्याबिनेट बैठकले पनि महत्त्वपूर्ण निर्णय गर्न सकेन । सो बैठकले प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेलाई सरकारको प्रवक्ता तोक्ने, प्रदेश सरकारका निकायहरूमा रहेका अस्थायी दरबन्दी स्वीकृत गर्ने र गाईजात्राको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सो बाहेक मुख्यमन्त्री लामाले एक महिनाको अवधिमा महत्त्वपूर्ण निर्णय गर्न सकेका छैनन् । आम नागरिकमा कांग्रेस नेतृत्वको सरकारबाट महत्त्वपूर्ण निर्णय र काम हुने अपेक्षा हुनु स्वाभाविक नै हो । कांग्रेसका नेता तथा सांसदहरू नै कांग्रेस नेतृत्वको सरकारले नागरिकलाई लक्षित गरेर काम गर्ने बताउँदै आएका थिए । तर, सरकारको पहिलो महिनाको गति हेर्दा प्रगति अपेक्षाकृत हुने देखिएको छैन ।

सिस्टम बनाउन र व्यवस्थित गर्न सरकार सक्रिय छ : मुख्यमन्त्री लामा

मुख्यमन्त्री लामाले सिस्टम निर्माण तथा व्यवस्थापनमा जोड दिने काम भइरहेको बताएका छन् । सरकारका काम तत्काल नदेखिने र क्रमिक रूपमा प्रभाव पर्ने उनको भनाइ छ ।

सरकारले के ग¥यो र के गरेन भनेर लेखाजोखा गर्ने समय भइनसकेको मुख्यमन्त्री लामाले बताए । सरकारले १०० दिनलाई लक्षित गरेर काम अघि बढाएको उनले प्रस्ट पारे ।

‘हामीले अहिले नै यो ग¥यौँ भनेर लेखाजोखा गर्ने बेला भएको छैन,’ मुख्यमन्त्री लामाले भने, ‘विशेषगरी १०० दिनको लक्ष्यमा काम गर्ने प्रक्रिया छ । त्यसमा ठोस काम देखिन्छ । अहिले व्यवस्थापन र सिस्टम बनाउने काममा सक्रिय रहेका छौँ ।’

आफूले सरकारको नेतृत्व सम्हालेपछि यो अवधिमा सरकारलाई पूर्णता दिने काम भएको उनले सुनाए । उनले भने, ‘मन्त्रिपरिषदलाई पूर्णता दिन निकै सकस भयो ।’

मुख्यमन्त्री लामाका अनुसार कर्मचारी बढुवा, सरुवा तथा पदस्थापनमा पनि केही काम टुङ्ग्याइएको छ । कर्मचारीहरूको समस्याले सरकारलाई जटिलता हुने भएकाले प्राथमिकताका साथ काम गरिएको उनले बताए ।

मुख्यमन्त्री लामाले राजनीतिक सल्लाहकार, प्रवक्ता तोक्ने तथा जिल्लाको मोनिटरिङ गर्ने निकाय समन्वय समितिलाई आर्थिक सहयोग उपलब्ध गराउने र सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्न अस्थायी दरबन्दी स्वीकृत गर्ने काम भएको बताए । एक महिनाको अवधिमा सरकारको कामलाई व्यवस्थित गर्न विभागीय मन्त्री र सचिवहरूसँग करार सम्झौता गर्ने कार्य सम्पन्न गरिएको उनको भनाइ छ ।

कार्ययोजना र निर्धारित समयमै काम गर्ने उक्त करार महत्त्वपूर्ण रहने विश्वास दिलाउँदै उनले आगामी एक महिनाभित्र बजेट कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि निर्माण गर्ने निर्देशन दिइएको बताए ।

मुख्यमन्त्री लामाका अनुसार सरकारको नेतृत्व लिए लगत्तै विभागीय मन्त्रालयमा एक÷एक वटा ठोस काम गर्न र सोही अनुसार योजना तयार गर्न निर्देशन दिइएको छ । यसले प्रदेशमा एक वर्षमा १२ वटा मन्त्रालयबाट नागरिकसँग जोडिएर उपलब्धिसहित काम गर्न सक्ने उनले बताए ।

‘सबैले सुन्ने अनि चिन्ने गरी एक/एक वटा ठोस काम गर्न १२ वटै मन्त्रालयलाई निर्देशन भइसकेको छ । विपद् व्यवस्थापनको विषयमा सरकार गम्भीरतका साथ अघि बढेको छ,’ मुख्यमन्त्री लामाले भने, ‘विपद् प्रभावित नागरिकका लागि के–के गर्न सकिन्छ भनेर सरकार अघि बढेको छ । आवश्यकताका आधारमा विकास र व्यवस्थापनको काम प्रदेश सरकारले गरिरहेको छ ।’

सरकारले विगतको कमी कमजोरी अध्ययन गरिसकेको भन्दै उनले त्यसलाई सुधार गरेर अघि बढ्ने तयारी भइरहेको जानकारी दिए । एक महिनाको अवधिमा धेरै काम सुरु भएको र त्यसका उपलब्धि क्रमिक रूपमा देखिने उनले बताए ।

नागरिकहरुले नकारात्मक मात्र नभइ सकारात्मक पाटो पनि सोच्न जरुरी रहेको मुख्यमन्त्री लामाले प्रस्ट पारे । सरकारले अहिले कार्यालय र संरचनाहरू व्यवस्थापनमा काम गरिरहेको उनको भनाइ छ । सार्वजनिक सेवा सुधार र सुशासनका लागि प्रदेश सरकारले व्यवस्थापकीय क्षेत्रमा परिवर्तन गर्नेगरी योजना बनाएर लगानी गरेको उनले बताए ।

मुख्यमन्त्री लामाले प्रदेश सरकारको १०० दिनको उपलब्धि महत्त्वपूर्ण हुने दाबी गरे । राजनीतिक रूपमा केही विषय पेचिलो भएकाले गठबन्धनमा रहेका सबैसँग छलफल गरेर अघि बढ्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप