बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महाथिर मोहम्मदको दोस्रो इनिङ : किन लडे आफ्नै रगत पसिना लगानी गरेको पार्टीविरुद्ध ?

बिहीबार, २७ वैशाख २०७५, १५ : १३
बिहीबार, २७ वैशाख २०७५

काठमाडौँ । बिहीबार बिहान बिउँझिदा मलेसियालीहरूले देशमा नयाँ इतिहास रचिएको पाए । सन् १९५७ मा बेलायतबाट स्वतन्त्र भएदेखि सत्तामा रहेको बरिसन नेसिनल गठबन्धन सत्ताबाट बाहिरिएको थियो । तर रमाइलो र केही हदसम्म अन्योलपूर्ण कुरा भनेको गठबन्धनलाई अपदस्थ गर्ने व्यक्ति आफै त्यस गठबन्धनबाट सबैभन्दा लामो समय प्रधानमन्त्री भएको व्यक्ति हुन् ।

९२ वर्षको उमेरमा बसिरन गठबन्धनलाई हराएर मलेसियाको प्रधानमन्त्री चुनिएका महाथिर मोहम्मद शासनमा आउने विश्वको सबैभन्दा वृद्ध नेता भएका छन् । 

चिकित्सा अध्ययन गरेका महाथिर मोहम्मद सन् १९८१ देखि सन् २००३ सम्म मलेसियाका प्रधानमन्त्री रहेका थिए । उनको त्यो कार्यकाललाई एकदम सफल मानिन्छ । आफ्नो २२ वर्षे शासनकालमा उनले आफ्नो दरिलो दृष्टिकोणबाट मलेसियामा यस्तो भौतिक र समाजिक परिवर्तन ल्याए कि मलेसिया विश्वमञ्चमा आर्थिक शक्तिको रूपमा उदायो । 

उनले सुरु गरेको आर्थिक उदारीकरणका कारण मलेसियाले विश्वको सबैभन्दा तीव्र गतिको विकास दर हासिल ग¥यो । उनले मलेसियाका जनताहरूलाई बढी उत्पादनशील बनाए, तिनलाई उच्च प्रविधि  अपनाउन प्रेरित गरे र संसारभर महत्वपूर्ण लगानी गर्न थाले । 

उनले सुरु गरेको राष्ट्रिय मेलमिलापको सकारात्मक कार्यहरूले मलेसियाका तीन मुख्य जातिहरू मलेय, चिनियाँ र भारतीयहरू सबैमा मेलमिलापको वृद्धि भयो, समावेशिता बढ्यो, समान रूपमा समृृद्धि हासिल भयो । त्यसका अतिरिक्त मेलेसियाली परिचय र आत्मसम्मान निर्माण भयो ।

किन उठे महाथिर आफूले रगत पसिना लगानी गरेको पार्टीविरुद्ध

आजको अवस्था आउन निक्कै खेलहरू भए । दुस्मन मित्र भएर, मित्र दुस्मन भएर महाथिर पुनः प्रधानमन्त्री पदमा निर्वाचित भएका हुन् ।

महाथिर मोहम्मदले आफ्नो राजनीतिक जीवनको अधिकांश समय छ दशक मलेसियामा शासन गरेको युनाइटेड मलेय नेसनल अर्गनाइजेसनमा खर्च गरे । चिकित्सकीय अभ्यास गर्दा नै सन् १९५६ देखिबाट उनी सो पार्टीको स्थानीय कमिटीमा सक्रिय थिए ।

स्थानीय तहबाट उठ्दै उनी सन् १९८१ मा मलेसियाको प्रधानमन्त्री भए । उनले सन् १९९१ मा उदाउँदा युवा नेता अन्वर इब्राहिमलाई उप–प्रधानमन्त्रीका रूपमा चुने । अनवरलाई महाथिरले आफ्नो उत्तराधिकारीका रूपमा समेत प्रस्तुत गरिरहेका थिए । तर उनीहरूको यो सुमधुर सम्बन्ध सात वर्षपछि तीक्ततामा बदलियो । महाथिरले अन्बरलाई बर्खास्त गरे र भ्रष्टाचार र अनैतिक यौन क्रियाको आरोपमा जेल हाले । धेरैले उनीहरूको सम्बन्धमा फाटो सन् १९९७ मा मलेसियालाई आइपरेको आर्थिक सङ्कटलाई कसरी सम्बोधन गर्ने भन्नेमा दुईबीचमा फरक धारणा जिम्मेवार रहेको बताउँछन् ।

सन् २००४ मा विभिन्न अन्तर्राष्ट्रिय समुदायहरूको दबाब र आलोचनापछि अन्वर जेलमुक्त भए । जेलमुक्त भएपछि अन्वरले अलग पार्टी गठन गरे र सन् २००८ देखि पकातन रक्यात नामक गठबन्धन बनाएर त्यसको नेता पनि भए ।

‘आसाको गठबन्धन’ भन्ने अर्थ आउने पकायत रक्यातले सत्तारुढ बसिरहन नेसनललाई सबैभन्दा ठूलो चुनौती रूपमा उदायो । अहिले माथिर मोहम्मदले यही गठबन्धनबाट प्रधानमन्त्री पद जितेका हुन् । 

अनवर भने पहिले महाथिर आफैले नै लगाएको आरोपहरू पुनः उल्टाएर सन् २०१४ मार्चदेखि जेलमा छन् । त्यही कारण उनी निर्वाचनमा सहभागी भएका थिएनन् । तर अदालतमै भएको महाथिर र अन्वरको सम्झौतामा चुनाव जितेमा पहिलो दुई वर्ष महाथिर प्रधानमन्त्री हुने र त्यो क्रममा अनवरको मुद्दा सल्टाएर उनलाई प्रधानमन्त्री हुने बाटो खोल्ने भन्ने छ ।

महाथिरले नौ वर्षदेखि प्रधानमन्त्री भएका नाजिर रजाकलाई हराएका हुन् । नाजिर कुनै समय महाथिर आफैले राजनीति सिकाएका नेता हुन् । तर सन् २०१६ मा रजक जोडिएको भ्रष्टाचार काण्डका कारण उनले आफ्नो पार्टी छाडे । 

पार्टी छाडेपछि पत्रकारलाई उनले “म यूएमएनओ छोड्न चाहन्छु किनकि यो अब यूमएएनओ रहेन” भनेका थिए । उनले थप भनेका थिए– “यो पार्टी अब नजिबको प्रतिरक्षा गर्ने पार्टीमा बदलिएको छ । म यस्तो पार्टीमा रहन सक्दिनँ ।”

उनले खासमा अघिल्लो वर्षको जुलाईदेखि नजिबको व्यक्तिगत खातामा आएको ७० करोड डलरबारेमा सरकार र पार्टीले नजिबको पक्षमा लागेको कुराको विरोध गरेका थिए । त्यो काण्डको मलेसियामा सार्वजनिक रूपमै ठूलो विरोध भएको थियो । 

त्यसपछि नै महाथिर आफ्नो राजनीतिक शिष्य र आफ्नै पार्टीको विरुद्धमा विपक्षीहरूसँग हात मिलाउन गए ।

महाथिर पहिलो प्रधानमन्त्री पद छाडेको १५ वर्ष पछि र आफूले रगत पसिना बगाएर निर्माण गरेको पार्टी छाडेको दुई वर्षपछि पुनः सत्तामा आएका छन् । धेरैलाई यो समाचारले चकित बनाएको छ । 

कतिलाई उनको विगतको सफलताले आस जगाएको छ भने उनले पहिलाको कार्यकालमा प्रेस र अदालतमाथि गरेको नियन्त्रणको सम्झनाले केहीलाई तर्साइरहेको छ । धेरैले ख्याल गर्नुपर्ने कुरा अहिले महाथिर सत्तापक्षको जुन प्रवृत्तिको विरोधमा निर्वाचन लडेका थिए तीमध्ये अधिकांश उनी आफैले संस्थागत गरेका थिए ।

एजेन्सीहरुको सहयोगमा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप