शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
एन्फा बैठक

चर्काचर्कीबिच दुई घण्टा ढिलो सुरु भएको एन्फाको बैठक बिहीबारसम्मका लागि स्थगित

मङ्गलबार, ११ भदौ २०८१, २१ : २५
मङ्गलबार, ११ भदौ २०८१
  • प्रमुख प्रशिक्षक एनेसको सम्झौता नवीकरण नहुने 
  • महासचिवको पारिश्रमिक दुई हजार डलर 
  • बैठकमा दाबा लामाको उपस्थितिलाई लिएर आपत्ति 
  • खेलाडीको परिश्रमिक ३० हजार रुपैयाँ
  • दशरथ रंगशालामा कृत्रिम दुबो राख्ने प्रस्ताव

काठमाडौँ । अत्यन्तै तनावपूर्ण अवस्थाबिच मंगलबार सुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक विभिन्न १४ वटा एजेन्डमा छलफल गरेपछि बिहीबारसम्मका लागि स्थगित भएको छ । 

बिहान ८ः०० बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने भनिएको कार्यसमिति बैठक करिब दुई घण्टापछि मात्र औपचारिक रूपमा एजेन्डामा प्रवेश गरेको थियो । बैठक प्रारम्भ हुनुअघि नै तीन उपाध्यक्षसहित नौ जना पदाधिकारीले बैठकमा उपाध्यक्ष दाबा लामाको उपस्थितिको विषयलाई लिएर आपत्ति जनाएका थिए ।

दाबा लामाविरुद्ध लागू औषध बेचबिखन तथा सञ्चय सम्बन्धी मुद्दामा पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) बाट कैद सजाय र आर्थिक जरिवानाको फैसला भएको तर, उनले आफूविरुद्ध भएको फैसलालाई लिएर हद म्यादभित्र सर्वोच्च अदालतमा कुनै पुनरावेदन नगरेको आरोप उनीमाथि लगाइएको छ । 

पुनरावेदन अदालतबाट भएको फैसला उपर कानुन बमोजिम तोकिएको हद म्यादभित्र पुनरावेदन नगरेको अवस्थामा सोही फैसलालाई नै अन्तिम मानेर त्यहाँबाट ठहर भएको सजाय र आरोपलाई स्वीकार गरेको मानिने भएकाले दाबा लामा एन्फाको उपाध्यक्ष पदमा बस्न अयोग्य रहेको दाबी एन्फाकै केही पदाधिकारीले गर्दै आएका छन् ।

यस विषयमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा पनि उजुरी परेको छ । सोही विषयलाई लिएर मंगलबार एन्फाको कार्यसमिति बैठकमा विवाद भएको थियो । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, कुमार केसीलगायतका नौ जना पदाधिकारीले दाबा लामालाई बैठकमा उपस्थित हुनबाट रोक लगाइनु पर्ने माग गरेका थिए ।

एन्फाका एक उपाध्यक्षका अनुसार, एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ भने कुनै पनि हालतमा दाबा लामालाई बैठकमै राख्न चाहन्थे । यही विषयलाई लिएर नै बैठक निर्धारित समयभन्दा करिब दुई घण्टापछि मात्र औपचारिक रूपमा सुरु भएको थियो । 

‘बैठकको सुरुमै निकै तनावपूर्ण अवस्था सृजना भयो । झण्डै हात हालाहालकै अवस्थामा पुगेको थियो । हामीले पटक–पटक अनुरोध गर्दा पनि अध्यक्ष ज्यूले उपाध्यक्ष दावा लामालाई बैठकमा जसरी पनि राख्ने अडान लिनु भयो,’ ती उपाध्यक्षले भने ।

बैठक औपचारिक रूपमा एजेन्डामा प्रवेश गरेपछि पनि महासचिव किरण राईको पारिश्रमिक वृद्धिको विषयलाई लिएर अर्को विवाद सुरु भएको थियो । बैठकमा एन्फाका महासचिव किरण राईको पारिश्रमिक वृद्धि गर्ने प्रस्ताव आए पनि केही सदस्यले त्यसको विरोध गरेका थिए ।

एन्फाका अध्यक्ष नेम्वाङले नै महासचिव राईको मासिक पारिश्रमिक बढाएर दुई हजार अमेरिकी डलर पुर्‍याउनु पर्ने प्रस्ताव राखेका थिए । हालको सटही दर अनुसार, दुई हजार अमेरिकी डलर भनेको करिब दुई लाख ६८ हजार नेपाली रुपैयाँ हुन आउँछ । 

हाल महासचिव राईले हाल एक लाख २० हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । यस विषयमा पनि एन्फाका नौ जना पदाधिकारीले विरोध जनाएका थिए । ‘खेलाडीको पारिश्रमिक जम्मा ३० हजार अनि महासचिवको पारिश्रमिक दुई हजार अमेरिकी डलर भनेर हामीले विरोध जनायौँ तर, हाम्रो कुनै सुनुवाइ भएन,’ एक उपाध्यक्षले भने ।

बैठकले पुरुष तथा महिला राष्ट्रिय खेलाडीको पारिश्रमिक बढाएर ३० हजार रुपैयाँसम्म पुर्‍याउने निर्णय पनि गरेको छ । तलब वृद्धि गर्दा खेलाडीको वर्गीकरण गरेर वृद्धि गर्ने निर्णय भएको छ । यसअघि राष्ट्रिय खेलाडीले मासिक १८ हजार रुपैयाँ पारिश्रमिक पाउँथे । 

यसैगरी, बैठकले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्टिफिसियल ट्रफ (कृत्रिम दुबो) राख्न राखेपसँग प्रस्ताव गर्ने निर्णय पनि गरेको छ । दशरथ रंगशाला हाल राखेपको स्वामित्वमा छ । त्यसैले एन्फाले उक्त निर्णय कार्यान्वयन गर्न राखेपको स्वीकृति लिनु पर्ने हुन्छ ।

यसैगरी, बैठकले राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । एनेस सन् २०२३ को मार्चमा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । एन्फाले खुला प्रतिस्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय पनि गरेको छ । एन्फा कार्यसमितिको बैठक जारी छ । 

यसरी विभिन्न १४ वटा एजेन्डामा छलफल भएपछि मंगलबार अबेर बैठक बिहीबारसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ । बुधबार साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनल खेल हुने भएकाले बैठक बिहीबारमात्र पुनः बस्ने भएको हो । 

साफ च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशको सामना गर्दैछ । जारी एन्फा कार्यसमिति बैठकमा विभिन्न २३ वटा एजेन्डा समावेश गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप