कानुनबमोजिम एनसेललाई किस्ताबन्दीमा नवीकरण शुल्क तिर्न दिनुपर्छ : डा. चन्द्रमणि अधिकारी
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स रिन्यूको विषय यतिबेला सार्वजनिक चासोको विषय बनिरहेको छ । गत २०६९ सालमा तत्कालीन सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले प्रत्येक ५ वर्षमा रिन्यूवापत तिर्नुपर्ने २० अर्ब रुपैयाँ ५ वर्षमा भाग लगाएर प्रत्येक वर्ष ४ अर्ब तिर्दा हुने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध प्राधिकरणले अहिले एनसेलसँग रिन्यूका लागि एकमुष्ठ २० अर्ब रुपैयाँ मागेको बताइएको छ । सरकारले वैदेशिक लगानीलाई निरुत्साहित गर्ने मनसायले कदम चालेको भनेर पनि आलोचना हुन थालेको छ ।
यसै सन्दर्भमा रिपोर्टर्स क्लब नेपालले विज्ञहरूसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धि पण्डितले एनसेलले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य हो भनेर अन्तर्राष्ट्रिय जगतमा सन्देश फैलाएको बताए । यस्तो अवस्थामा सरकारले विदेशी लगानीलाई निरुत्साहित गर्ने कुनै पनि काम गर्न नहुने बताए ।
वरिष्ठ अधिवक्ता पण्डितले नेपाल टेलिकमले केही समयअघि ५ वर्षदेखि तिर्न बाँकी रहेको रकम एकमुष्ट रूपमा २० अर्ब तिरेको र रिन्यूका लागि तिर्नुपर्ने ४ अर्बमध्ये २१ करोडमात्रै तिरेर केही समयका लागि सुविधा लिएको बताए । अहिले प्राधिकरणले एनसेलसँग एकमुष्ठ २० अर्ब माग्नु विभेद हुने उनको भनाइ छ । सरकारी लगानी र निजी लगानी भएको संस्थाहरूबिच राज्यले विभेद गर्न नहुने उनको भनाइ छ । राज्यले यसरी विभेद गर्ने हो भने नेपालमा विदेशी लगानी भित्रिन नसक्ने उनको दाबी छ ।
एनसेलले यही वैशाख र जेठभित्र ६ अर्ब तिरिसकेको उनले बताए । एनसेलले आफूहरूले पैसा तिरिसकेको र नवीकरण गरिदिन प्राधिकरणलाई आग्रह गरिरहेको बताए । प्राधिकरणले भने २० अर्ब एकैपटक तिर्न ताकेता गरिरहेको र नतिरे ३ अर्ब रुपैयाँ जरिवाना लगाउने भनेर थ्रेट दिइरहेको उनको भनाइ छ ।
सरकारले एनसेलको विवाद सही तरिकाले समाधान गरेर वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्य हो भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतमा दिन आवश्यक रहेको उनको भनाइ छ ।
‘एनसेलले आफ्नो दायित्वभित्र पर्ने सबै प्रकारको भुक्तानी दिनुपर्छ । तर, किस्ताबन्दीमा दिने कुरा समस्या बनाइनु हुँदैन । यो भन्दा अगाडि पनि किस्ताबन्दीमा दिइसकिएको छ भने आज दिन नहुने कारण के ? यदि समान व्यवहार गर्ने हो भने अहिले एनटीसीलाई २१ करोड रुपैयाँ लिएर पनि रिन्यू गर्दिएको छ । तर, एनसेलले ६ अर्ब तिर्दा पनि रिन्यू हुन सकेको छैन । यो पक्षपातपूर्ण व्यवहार भएन र ? सरकारमा बसेकालाई असमान व्यवहार गर्ने छुट छैन,’– उनले भने ।
अर्का वक्ता अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले अहिले नेपालको उद्योग, कलकारखानामा लगानी घट्दो अवस्थामा रहेको बताए । नेपालको उद्योग, कलकारखाना बन्द भएर अन्य मुलुकमा गइरहेको उनको दाबी छ । नेपालको व्यावसायिक वातावरण बिग्रिएको र सरकारले यसको व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
साथै, एनटीसीले पाइरहेको सुविधा एनसेललाई दिन सरकारले कुनै अप्ठ्यारो मान्न नहुने उनको भनाइ छ । सरकारले वैदेशिक लगानीमैत्री वातावरण बनाउनेतर्फ सोच्नुपर्ने बेलामा एनसेलमाथि विभेद गर्न नहुने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफ्नो केही आशा रहेको बताउँदै उनले समान प्रकृतिका दुई संस्थामाथि राज्यले समान व्यवहार गर्नुपर्ने बताए ।
‘म आग्रह गर्न चाहन्छु सरकारलाई । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति मेरो अलिकति आशा पनि छ । उहाँ उद्योगधन्दा कलकारखाना बन्द गर्नुपर्छ भन्ने मान्छे होइन । सरकारले उचित निर्णय गरोस् । समाजलाई आतङ्कित पारेर व्यापार व्यवसाय बन्द गर्ने सपना नदेखे हुन्छ,’– उनले भने ।
अर्का वक्ता अर्थविद् डा. चन्दमणि अधिकारीले अहिलेको अर्थतन्त्र अन्तर्द्वन्द्वमा फसेको टिप्पणी गरे । नेपालमा प्रयोग गर्नुपर्ने श्रमलाई विदेश पठाएर उनीहरूले पठाएको पैसा अहिले बैंकमा थन्किएको बताए । समग्र रूपमा हेर्दा मूल्य वृद्धि घटेको देखिए पनि व्यवहारिक रूपमा त्यस्तो नरहेको उनले सुनाए ।
उनले अहिले उद्योग नचल्ने, व्यवसाय नचल्ने, केही मान्छेहरू धनी भइरहने प्रवृत्ति बढिरहेको बताए । उनले नेपालमा माफियातन्त्र व्यापक रूपमा चलिरहेको बताए । अहिले नेपाली लगानी विदेशमा व्यापक रूपमा भइरहेको बताए । अहिलेको कानुनले नेपालीले विदेशमा लगानी गर्न नपाउने भएपनि हुण्डीमार्फत पैसा लगेर नेपालीहरूले विदेशमा लगानी गरिरहेको उनको भनाइ छ ।
नेपालको कामकारबाही र प्रक्रिया झन्झटिलो रहेकाले लगानीकर्ता नभित्रिएको उनको बुझाइ छ । ‘लगानीकर्ता र जंगलको बाघ उस्तै हुन्छ । सिकारको खोजीमा घुमिरहन्छ । जहाँ सिकार पाइन्छ, त्यहाँ गन्ध थाहा भएपछि सिकार खेल्न जान्छ । अवसर पाएको ठाउँमा लगानीकर्ता जान्छन्,’– उनले भने ।
कानुनबमोजिम एनसेललाई किस्ताबन्दीमा नवीकरण शुल्क तिर्न दिनुपर्ने उनको भनाइ छ । अहिले राज्य र नीति नियमप्रति जनताको विश्वास घटेर गइरहेको बताउँदै उनले सरकारले आम लगानीकर्ता, उद्योगी र उपभोक्ताप्रति विश्वास जगाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पको धक्का
-
मदन भण्डारी राजमार्गको पश्चिम सुर्खेत खण्डमा विलम्ब
-
माझीदाइका गुनासा : दिनभरि काम गर्यो, फर्कँदा रित्तै !
-
कोप-२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ?
-
आजको राशिफल : कुन राशिको लागि राम्रो ?
-
एमालेका तीन नेतामाथि कारबाही : विद्या भण्डारीलाई सक्रिय राजनीतिको निम्तो !