धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति हुन सक्दैन : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा धितोपत्र सम्बन्धी संशोधन विधेयकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले सरकार संविधान र कानुनसम्मत ढङ्गले चल्ने भएकाले बोर्डको अध्यक्ष कानुन रूपमा विधिसंगत ढङ्गले नियुक्ति हुने बताए । उनले कानुन र व्यवस्था भन्दा बाहिर गएर लगानीकर्ता वा भोटबाट छनोट गर्नेकुरा कल्पना गर्न नसकिने उल्लेख गरे । उनले कानुन राज्यमा कानुन र संविधान भन्दा बाहिर सरकार जान नमिल्ने कुरा सांसदहरूलाई जानकारी हुन आवश्यक रहेको पनि बताए ।
अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तमा सरकारले मन लागेको गर्ने छुट नभएको बताए । धितोपत्र बोर्डको अध्यक्षमा सरकारले डियु कोर्षबाट कानुनसम्मत ढङ्गले योग्य र इमानदार पात्रको छनोट गरिने प्रतिबद्धता उनले जनाए । उनले योग्यता र इमान्दारिताको निरपेक्ष परिभाषा नहुने भन्दै प्रतिष्पर्धीहरुका बिचबाट छनोट गरिने बताए । उनले सांसदहरूले इच्छुकहरुभन्दा बाहिरका पात्रहरुलाई अध्यक्षमा ल्याउनुपर्ने धारणा आएको भन्दै प्रतिष्पर्धा भन्दा बाहिर रहेका व्यक्तिहरू योग्य भएपनि सरकारले छनोट गर्न नसक्ने उल्लेख गरे ।
उनले भने,‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तका सन्दर्भमा सरकारले मन लागेको गर्ने छुट छैन । विभिन्न तरिकामा अध्यक्ष छनोट गरौँ भन्ने छुट हुँदैन । सरकार संविधानको सर्वोच्चता र कानुनको राज सबैले मान्छौँ । संविधानको सर्वोच्चता र कानुनको राज लोकतन्त्रको ठुलो सिद्धान्त हो । सरकारका सम्पूर्ण काम कारबाहीहरूलाई संविधान र कानुन अनुसार सञ्चालन गर्नुपर्छ । त्यसकारण सरकारले आज धितोपत्र बोर्डको अध्यक्षको छनोट डिम्याट खातावालाहरूको मतदानबाट छनोट गरौँ । कुन कानुनी व्यवस्था अन्तर्गत छौँ । सरकारलाई त्यो अधिकार दिएको छैन । धितोपत्र बोर्डको अध्यक्षका सन्दर्भमा सांसदको कम्पिटेन पात्र छनोट होस् भन्ने अभिव्यक्तिप्रति सम्मान व्यक्त गर्न चाहन्छु । डियु कोर्षबाट कानुन सर्वत ढङ्गले योग्य र इमानदार पात्रको छनोट गरिनेछ ।’
अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष दल भन्दा बाहिरको पात्र खोजि गर्यो भने अन्यन्त्र कतै बरालिन पुगिने भन्दै सरकारले त्यस्तो नगर्ने बताए । उनले पुँजीबजारमा इन्साइडर टे«डिङ, सामाजिक सञ्जालको दुरुपयोग गरेर लगानीकर्तालाई भ्रममा पार्ने नसक्ने र पुँजी बजार बललको रूपमा नभई दिगो रूपमा विकास होस् भन्ने भावका साथ विधेयक संशोधन गर्न लागेको बताए । उनले झुटो प्रचार, भ्रामक अभिव्यक्ति दिने र लगानीकर्तालाई भ्रममा बनाउन नदिने विषयमा विधेयकले सम्बोधन गर्ने बताए । बजारमा अराजकता फैलन नदिने गरी विधेयकमा व्यवस्था गरिएको पनि उनले बताए । बजारमा अनुशासनहीनता, स्वेच्छाचारिताका क्रियाकलाप नहुने, लगानीकर्ता पीडित नहुने गरी कानुनको तयारी भएको उनको भनाइ छ ।