मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

उद्यमशीलताको बीज बनोस् तिज

मङ्गलबार, ११ भदौ २०८१, १७ : ५७
मङ्गलबार, ११ भदौ २०८१

विभिन्न विषयहरूको चिन्तन गरिरहँदा यसपटक हरितालिका तिजको विषयले केही दिनदेखि मन तानिरहेको थियो । जताततै सुनिन्छ- के विकृति आएको हो ? महिना दिनदेखि उफ्रिएको छ, दर भनेको छ- पार्टी प्यालेस धाएको छ ।  घर परिवार, बालबच्चा, खर्चको कुनै परवाह छैन ।

महिला लक्षित आलोचनाका अनेक शब्दहरू सुनिन्छन् जताततै । व्यक्तिगत रुपमा मैले यस्ता भनाइहरु धेरै सुन्नुपरेन ।  किनकि मैले पार्टी प्यालेस धाउन हात थाप्नु परेन ।  तरपनि यो विषयले मलाई चस्स बिझाएको  छ । महिला नै किन आलोचित भइरहेका छन् ? यसको पछाडि कुन मनोवृत्तिले काम गरिरहेको छ ? तिजको खिल्ली उडाएर हैन गहन रूपमा सोच विचार र विश्लेषण गरेर संयमपूर्वक विवेकशील भएर मनाउन आवश्यक छ । 

पुरुष र प्रकृतिको सम्मिलनबाट सृष्टिको सञ्चालन हुन्छ । समाजमा एउटा पक्षमात्र अगाडि रहेर अर्को पक्ष कमजोर रही रहँदा सन्तुलित र समानुपातिक रूपमा संसारका नियमहरू परिचालन हुन सक्दैनन् । वर्गीय हिसाबले विभेदमुक्त समाज निर्माण गर्ने राज्यको लक्ष्य नै हुन्छ तर एकै रथका दुई पाङ्ग्रा वा एक सिक्काका दुई पाटा मानिने नर र नारीमा कुनै एक पक्ष निरीह, दुर्बल, कमजोर हुँदा कसरी समग्र विकास र अर्को पक्षलाई अगाडि बढ्न सहज हुन्छ होला ? एकको साथ अर्कोलाई अपरिहार्य छ  तर तिजको विषयमा यहाँ यस्तो भइरहेको छैन र पाइन्न ।

 नारीहरूको महान पर्व मानिने हरितालिका तिजलाई महिलाको स्वतन्त्रता, स्वच्छन्दता, खुलापन, खुसी र एकापसमा मित्रता, एकता, आत्मीयता, सद्भाव बाँड्ने र बढाउने पर्वको रूपमा लिइन्छ । यसलाई महिलाहरुको बिचमा समन्वय, सहकार्य, छलफल, अन्तरक्रिया, बहस र कुराकानी गर्ने अवसर पनि मानिन्छ। महिलाहरुका इच्छा, आकाङ्क्षा आवश्यकता, समस्याहरू पहिचान गरी सामाजिक , सांस्कृतिक र आर्थिक विकासको लागि सम्भाव्यता अध्ययन र विश्लेषण गरी अध्ययन अनुसन्धानको उपयुक्त समय पनि यही हो भन्ने लाग्छ। तिजलाई विभिन्न पक्षले के कसरी हेर्नु पर्छ भन्ने सम्बन्धमा महिला स्वयंले आफ्नो क्षमता, सिप र अनुभवलाई उजागर गर्न उपयुक्त अवसरको रूपमा लिनुपर्दछ । परिवारले महिलाको योग्यता र सिपको इच्छा, आवश्यकता र उपयुक्त वातावरण बनाई उत्प्रेरित भएको समय पारेर कर्मशील बन्न प्रेरणा र साथ दिनुपर्दछ । 

समाजको तर्फबाट सम्बन्धित सङ्घसंस्थाहरू मार्फत महिलाहरूलाई जागृत हुन चेतनाको अभिवृद्धि गर्न, ज्ञान, सिप अभिवृद्धि हुने कार्यहरू मार्फत आकर्षित गर्न सक्दछ । यसैगरी उत्प्रेरणा मूलक सन्देश प्रवाह गरेर चेतनशील बनाउन सक्दछ। 

राज्य पक्षबाट, स्वउत्प्रेरित र सामूहिक जागरण भएको मौकामा तिज लक्षित वडा, स्थानीय, जिल्ला हुँदै महिला विकासका कार्यक्रमहरू केन्द्रित गर्दै स्वतःस्फूर्त सहभागिता हुने भएकाले संवाद, चेतनामूलक कार्यक्रम, स-साना व्यावसायिक तालिमहरू, व्यावसायिक योजनाहरू बनाउने र सामाजिक सेवा र  कार्यहरू मार्फत क्रियाशील र उद्यमशील बनाउन प्रेरित गर्न सक्नुपर्दछ। 

नेपालमा महिला हरेक तवरले पछाडि परेको अवस्था छ । तर तिजलाई खुसीको बीज मानेर स्वतस्फुर्त महिला जागरण भएको विषयलाई सकारात्मक रूपमा लिन उपयुक्त हुन्छ । कुनै पनि विषयका राम्रा नराम्रा पक्षहरू हुन्छन् । आर्थिक रूपमा सम्पन्न नभएकै कारण महिलाको एक मात्र पर्व हरितालिकाको अवसरमा पनि महिलाहरू आलोचित हुने गरेका छन् । महिलाहरू के चाहन्छन् यो विषय महत्त्वपूर्ण हुन्छ ।  केही अपवाद बाहेक  स-साना जिम्मेवारीहरु, विभिन्न झिना मसिना घरायसी समस्याहरूको बोझ, घरायसी कामहरूको कार्य फाँडाफाँड नहुनु जस्ता स-साना कुराहरूले महिलाहरू डिप्रेसन,तनाव विवाद र एन्जाईटिको सिकार भइरहेका छन् र तिजको अवसरमा केही हल्का र मुक्त हुने चाहना सबैको हुन्छ । महिलाहरू माइती जाने, आफन्त साथीभाइसँग दुखसुख साटासाट गर्ने, मिठो मिठो परिकार खाने, स्वतन्त्र र मुक्त अवस्थामा रहन पाउने, हृदय खोलेर रमाउने हुँदा उन्मुक्त अवस्थामा देखिने विषयलाई अर्को पक्षले आफूलाई चुनौती दिएको सम्झनुहुन्न भन्ने लाग्छ । महिलाहरुले पनि अपरिपक्वताको प्रदर्शन सामाजिक सञ्जालभरि आउने गरी समाजमा विकृति ल्याई संस्कारलाई चुनौती दिनुहुन्न । साथै महिलाहरुको अवस्थालाई खुला र स्वतन्त्र भएको देखेर केही नकारात्मकताका विषयहरूमा जोडेर लघुताभास गरिनुहुन्न । महिला अन्तर हृदयदेखि खुशी हुने समय तिज नै हो । तिज महिलाहरूको लागि खुसीको बीज पनि हो र यो समय खास चिज जस्तो हुने गरेको यथार्थ र वास्तविकता र पनि हो । 

 तिजको अवसरमा गीत सङ्गीतको व्यापार फस्टाउने, महिलाले प्रयोग गर्ने शृङ्गारका सरसामानको व्यापार व्यवसायमा वृद्धि हुने, धेरै भन्दा धेरै परिकारहरू बन्ने, बिक्री वितरण हुने यो राम्रो पक्ष हो । तर हामीले आयातित संस्कारलाई बढावा दिइराख्ने र तिजको नाममा धेरै नेपाली पैसा बाहिरिने विषय कदापि राम्रो हुन सक्दैन । त्यसैले तिजलाई स साना व्यवसायको प्रवर्द्धन विकास र विस्तार गर्ने नेपाली वस्तुको उत्पादन, उपयोग र प्रवर्द्धनको अवसर र यसको माध्यम बनाउन सकिन्छ । सिलाई व्यवसाय, व्युटिपार्लर, शृङ्गारका सामान, स्वदेशी वस्तु नेपाल मै उत्पादन गर्ने, नेपाली मौलिक परिकारहरुको प्रवर्द्धन गर्ने, गीत सङ्गीत, कन्सर्ट मेला महोत्सव प्रदर्शनीहरू आयोजना गरेर सांस्कृतिक र सामाजिक विषयमा विभिन्न सेवा अभियानहरूका काम गरेर समग्र आर्थिक विकासमा टेवा पुर्‍याउने कार्य गर्न सकिन्छ। सरकारी तवरबाट स्वदेशी वस्तु र उत्पादनलाई प्राथमिकता दिइरहेको अवस्थामा यसलाई अवसर बनाउन सकिन्छ । नेपालको उद्यम व्यवसाय र महिला उद्यमशीलता मापनयोग्य र परिमाणात्मक रूपमा सन्तोषजनक छैन। महिलाको मेहनत,श्रम र सृजनशीलता व्यावसायिक बन्न सकेको छैन ।  

प्रत्येक वर्षभरिमा भदौदेखि मंसिरसम्म हाम्रो व्यापारिक गतिविधि हुने हुनाले आयात र खपतको मात्रा अत्यधिक हुन्छ । तिजबाट शुरु भएको अधिक आयात उपभोगको यात्रा मङ्सिरमा गएर सामान्य हुन्छ । वर्षभरिका बाह्र महिना मध्ये भदौ, असोज, कार्तिक मङ्सिरमा धेरै व्यापारिक र व्यावसायिक कारोबार हुन्छ।  आर्थिक उपार्जनमा महिलाको भूमिका न्यून छ तर उपभोग खपत र खर्च गर्नमा अगाडि छ। 'पुरुषको थर महिलाको घर' भन्ने उखान छ । घरको व्यवहार जिम्मेवारीमा महिलाको प्रमुख भुमिका हुनाले खर्चले पुर्‍याउने, धान्ने र सोको व्यवस्थापन गर्ने कार्य महिला स्वयंले गर्नुपर्ने भएको र आफ्नो हात जगन्ननाथ हुने हुँदा यदाकदा खर्चको अन्यत्र दुरुपयोग वा अनावश्यक खर्च हुने विषयलाई आलोचना गरिएको पाइन्छ ।

 महिलाहरू सुन्दर र आकर्षक रहन चाहन्छन् । यो प्राकृतिक स्वभाव नै हो । त्यसका लागि लुगाफाटा, गरगहना, आभूषण र शृङ्गारमा खर्च गर्ने स्वभाव शृङ्गारिक भावका कारण अधिक हुन्छ । त्यही प्राकृतिक स्वभावका कारण देखासिकी गर्ने र नहुनेले पनि सकिनसकि लहैलहैमा लागेर अनावश्यक खर्च गर्ने संस्कृति पनि बढेको छ। आफूसँग भएका सामानहरूकै प्रयोग गर्ने बानी बसाल्नु पर्छ र प्रत्येक चाडपर्वसँग उपभोग बढाउनु भन्दा सृजनशिल भएर मितव्ययी हुन आवश्यक छ। बजारमा देखेजति सबै चाहिने तरल मनस्थितिका कारण आयातित वस्तुको उपभोगले पैसा बाहिरिएको यथार्थ स्विकार्नु नै पर्छ ।अनावश्यक खर्च गर्ने बानी महिलाहरूबाट तिजको समयमा प्रस्फुटन हुने गरेको छ।  

एक महिला स्वरोजगार र उद्यमी हुन सके तिजका नाममा बाहिरिने पैसालाई स्वदेशमा उपयोग र लगानी गर्न सकिन्छ । ठुला ठुला कुराहरू गर्ने आयातित चालचलन र संस्कृतिलाई हुबहु नक्कल गर्ने कार्य महिलाहरूबाट अधिक रूपमा बढवा भइरहेको छ । राज्यको तर्फबाट तहगत रूपमा महिला शिक्षा, ज्ञान र विवेकलाई उपयुक्त ढङ्गबाट कार्यान्वयनमा ल्याउन निकै प्रयास र मेहनत गर्नुपर्ने हुन्छ।

 व्यवहारिक चालचलन, रहन सहन, रितिथितीको पालना व्यक्तिको आनीबानी, स्वभाव र व्यवहारबाट नियमित र निरन्तर भएमा त्यो आचरण र स्वभाव नै संस्कार बन्ने हो । संस्कारहरूको पुञ्ज नै संस्कृति हो । मौलिक संस्कृति लोप हुँदै जाने नयाँ नयाँ चालचलनहरू आउँदै हराउँदै गर्नु र बानी व्यवहारहरू छिटो छिटो परिवर्तन हुने तथा स्थिरता हुन नपाउनु चाँही सांस्कृतिक विचलन र विखण्डन को कारक तत्त्व हो । नेपालमा मौलिकतामा आँच आइरहनु र रहनसहन, लवज बारम्बार परिवर्तन हुनु सांस्कृतिक हस्तक्षेप र निष्ठाको कमी हुँदै जानुको सङ्केत पनि हो । यसमा सम्बन्धित विषयमा बौद्दिक वर्ग व्यक्ति, समाज, सामाजिक संस्था र राज्यले यसमा समयमै ध्यान पुर्‍याउनु आवश्यक भइसकेको छ। बौद्दिक व्यक्तिहरूबाट सत्य विषयको लागि बहस,पैरवी र दबाब हुनुपर्दछ । संस्कृति, भूगोल र इतिहास राज्यको मुल आधार भएको हुँदा यिनको स्थिरता, दिगोपन र समसामयिक परिमार्जन सहित संरक्षण गर्नुपर्दछ। 

 मनको तहमा मात्र भौँतारिने वर्गले चिन्तन, मनन, विश्लेषण गर्न सक्दैनन्  । विवेक र भावना नभई के सही के गलत छुट्टाउन सक्दैन । पुरुषले महिला जस्ता भएर सारी चोलोमा नारिएर रत्यौली खेल्ने जस्ता गीतसङ्गीतको निर्माण गर्ने महिलाहरू पुरुषको भेषमा तिलहरी, सिन्दूर, चुरा पोतेको बहुरूपी रङ्ग प्रदर्शन गर्ने अश्लील, भड्किलो प्रदर्शनबाट आफूतिर आकर्षण गर्ने मनको तहमा अति रञ्जित भइरहेको अवस्था मानसिक रूपमा असन्तुलन र परिपक्व हुन बाँकी रहेको अवस्था जस्तो देखिन्छ । बासनामुखी प्रेमको अतिरञ्जित भइरहेको गीतसङ्गीतमा उच्छृङ्खल, यौनको उन्माद र उन्मत्तता समेत प्रदर्शन भइरहेको छ।हाम्रा सम्बन्धहरु खोक्रा र फितला भइरहेका छन्। पैसा छ सब थोक छ भन्ने मानसिकता नै समाज विखण्डन र विचलनको सङ्घारतर्फ गइरहेको आभास हुन्छ।

उमेर, व्यवहार जिम्मेवारी सँगसँगै परिवर्तन र परिमार्जन हुँदै जानु स्वभाविक क्रियाकलाप र परिपक्वताको परिचय हुन । महिलाहरूले तिजका नाममा जम्मा हुनु, सत्सङ्ग गर्नु, ज्ञान बुद्धि विवेक, सिप, योग्यता र अनुभवहरू को आदानप्रदान गर्न, व्यक्ति, समाज र राज्यको लागि के कसरी उपयोगी हुन र बन्न सकिन्छ मेरो भूमिका र योगदान के हुन सक्छ यी विषयमा केही चिन्तन गर्न  सकिन्छ । जागरण, अभियान र सन्देश प्रवाह गरेर समाज भित्रका विकृति र विसङ्गतिलाई मेला गीत सङ्गीत, नाचगान, चेतनामूलक कार्यक्रम, उद्यमशीलता विकास, सिपमूलक कार्यक्रम , व्यवसाय अभिवृद्धि, मनोसामाजिक परामर्श, रक्तदान, वृक्षारोपण, हिंसा विभेद विरुद्धका अभियानहरू गरेर तिजलाई प्रयोगात्मक, उत्पादनमूलक, परिमाणमुखी कार्यमा रूपान्तरण गर्ने महाअभियान बनाउन सकिन्छ ।तिजलाई सकेसम्म उपयोगी अभियानको समय बनाई मनाउनुपर्दछ । 

तिजको प्रसङ्गमा समाज र व्यक्तिको धारणाले यसलाई अझ विकृत बनाएको छ । "यत्र नार्यस्तु पुज्यन्ते तत्र रमन्ते देवता" जस्तो युक्तिले नारीको महिमालाई उजागर गरेको पाइन्छ जुन घरमा नारी खुसी र सम्मानित हुन्छिन् । त्यो घर स्वर्ग समान हुन्छ भनिन्छ शायद महिला घरको मियो हुन उनी खुसी हुँदा समग्र घर स्वास्थ, सन्तुलित खुसी र परिवार सुखको माध्यम बनाउन सकिन्छ महिलाको सुख शान्ति र समृद्दिमा र घरको समग्र अवस्थामा आधारित रहन्छ । यो किन पनि भनियो होला भने महिला सुरक्षा, संरक्षण, भरोसा र सन्तुलनको पनि जननी हुन प्रेम,करुणा, विवेक र दयाले भरिपुर्ण हुन्छिन् त्यसैले नारीको स्वतन्त्रता र खुसीमा परिवारको समृद्धि देखियो । नारी विवेक र करुणाकी स्रोत भावना प्रिय, हृदयकी खानी, माया, प्रेम श्रद्धाले भरिपूर्ण हुन्छिन् । सुशिक्षित र परिवर्तनलाई समयसापेक्ष स्विकारेर विवेकपूर्ण तवरले व्यवहारमा उतार्न सक्ने नारी नै सम्पन्न लक्ष्मी हुन भनिएको छ। यसमा पुरुष र परिवारको दरिलो, भरिलो, विश्वास साथ, समर्थन र सहयोग अपरिहार्य छ ।

महिलाको निर्णय र सहभागिताबाट घर परिवार सुन्दर बनेको पाईन्छ । तर केही नारीहरूमा पुरुष र उसको परिवार प्रति पूर्वाग्रह राख्ने, अपमान गर्ने, प्रतिशोध साध्ने अहङ्कार ,लोभ लालच, क्रोध र मपाईँत्वका कारण घरहरू लथालिङ्ग र भताभुङ्ग भएको समेत पाइन्छ। अधिक खर्च गर्ने, देखासिकी गर्ने, आफ्नो वशमा पार्ने नियन्त्रणात्मक व्यवहार गैर जिम्मेवारी, स्वार्थ केन्द्रित भएर आफ्नो जिम्मेवारी र कर्तव्यबाट वञ्चित हुने तर अधिकारको बहस गर्ने कर्तव्य भुल्ने, आशङ्का र दोष लगाउने, अकर्मण्य र छाडापन अराजकतालाई अवलम्बन गर्ने भएका कारण विकृति र विसङ्गतिका कारक समेत बनेको पाइन्छ । तिजको अवसरमा यी र यस्ता चरित्र र स्वभावहरू यदाकदा देख्न पाइन्छ । भड्किलो अश्लील स्वास्थ्यकर असहज अवस्था निर्माणका कारक बनेर होइन तिजलाई एउटा अवसर मानेर लगनशीलता, सृजनशीलता उद्यमशीलताको बीज बनाउन सबैलाई प्रेरणा मिलोस् ।आत्मनिर्भर, स्वावलम्बी, आत्मविश्वासी बनेर वर्गीय लैङ्गिक विभेदको स्वयं प्रतिकार गर्न सक्ने सक्षम नारी बन्ने अवसर हामी सबैलाई मिलोस् । आशा अपेक्षाले हैन दिन पुगोस् खान पुगोस्को सरल भाव जगाएर समाजको आखाँको नानी बन्न र हृदयमा  प्रेमको बाढी बगाएर सबैमा सभ्यता, सरलता र शान्तीको मार्गमा लैजाने सत्मार्ग मिलोस् । यस वर्षको तिज परनिर्भरता हैन आत्मनिर्भरता र उद्यमशीलताको बीज बनोस् सबैमा तिजको प्रेमिल शुभकामना !!!            

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु कुमारी भट्टराई
लेखकबाट थप