काठमाडौँ महानगरपालिकाले २ वटा स्वास्थ्य संस्थाको फोहर उठाउन रोक लगायो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा सञ्चालित एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहर उठाउन रोक लगाएको छ ।
महानगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले संक्रमित फोहर स्रोतमा वर्गीकरण नगरेको, हानीकारक फोहरलाई निर्मलीकरण गर्न अटोक्लेभजस्ता साधन तथा उपकरण प्रणाली नभएको तथा अन्तिम व्यवस्थापन गर्दा सामान्य फोहरसँगै पठाउने गरेको पाइएसँगै फोहर उठाउन रोक लगाएको जनाएको छ ।
दुवै स्वास्थ्य संस्थामा रङ्ग संकेतअनुसार जोखिमपूर्ण फोहर राख्ने छुट्टै बिन राखिएकोनभेटिएको महानगरपालिकाको भनाइ छ ।
यस्तै एउटै बकेटमा सबै फोहर जम्मा गरेर पोको बनाउने गरेको पाइएको छ। यसरी बनाइएको पोको आइ केयरले सवारी पार्किङ् गर्ने ठाउँको एउटा कुनामा राखेको पाइएको र स्किन अस्पतालले घरको छतमा राख्ने गरेको भेटिएको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागको फोहरमैला व्यवस्थापन महाशाखा प्रमुख कविता राईले बताइन् । , ‘मात्रा जति भए पनि संक्रमित फोहर हानीकारक नै हुन्छ । स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहरलाई जोखिममुक्त बनाउने कुनै पनि उपाय अवलम्बन गरेको देखिएन । यसको सम्भावित जोखिम घटाउन यी स्वास्थ्य संस्थाबाट उत्पादित फोहर उठाउन रोक लगाइएको छ’, उनले बताइन् ।
यसअघि सोमबार गरिएको अनुगमनमा कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलको फोहर उठाउन रोक लगाइएको थियो ।