प्रिमियम एसयूभी ‘लिपमोटर सी–१०’ ६७ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक
काठमाडौँ । प्रिमियम एयसूभी लिपमोटरको सी–१० मोडल नेपाली बजारमा औपचारिक रुपमा नै सार्वजनिक भएको छ । नाडा अटो शो २०२४ को अघिल्लो दिन मात्र सार्वजनिक मोडल सी–१० को बजार मूल्य भने अटो शोमा घोषणा गरिएको हो ।
लिपमोटर सी–१० को नेपाली बजार मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नाडा अटो शोको अवसर पारेर आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले सी–१० नेपाली बजारमा उतारेको हो । योसँगै कम्पनीले सी–१० को बुकिङ समेत सुरु गरिसकेको छ ।
‘मोर देन पावरफुल’ नारासहित सार्वजनिक भएको सी–१० मोडल निकै बलियो बडी स्ट्रक्चर भएको मोडल हो । यस एसयूभी कारले यूरो एनक्यापमा ५ स्टार रेटिङ पाएको छ ।
लिप मोटर्सले गाडीमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्रदान गरेको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ । गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।
फिचरहरुको लामो लिष्ट उपलब्ध एसयूभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ४३५ लिटरको बुट स्पेश र २८२५ एमएम लामो ह्वील वेस दिइएको छ ।
एक्सटेरियरमा क्लोज अफ ग्रिल, एलइडी हेडलाइट, डे टाइम रनिङ लाइट, रुफ र्याक, पानारोमिक शनरुफ, पावर टेलगेट, रियर प्राइभेसी ग्लास, हिडन डोर ह्याण्डल दिइएको छ ।
यसको भित्र सफ्टटच मेटेरियरल प्रयोग गरेर बनाइएको ड्यासबोर्ड, चालकको हाइट अनुसार ४ तरिकाले मिलाउन मिल्ने स्टेरिङ, हिडन एसी भेन्ट, हिटेड र भेन्टिलेटेड सिट, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, एम्बीयन्ट लाइट, हिटेड स्टेरिङ जस्ता प्रिमियम फिचर छन् ।
१०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले र १४.६ इन्चको सेन्ट्रल टच स्कृन दिइएको एसयूभीमा वायरलेस चार्जर, १२ स्पीकर, इन्टेलिजेन्ट ड्राइभर एसिस्ट सिस्टम दिइएको छ । यस भित्र झण्डै दुई दर्जन सेफ्टी फिचर छन् ।