बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अदालतले रोकिदियो आप्रवासीका लागि बाइडेनको नयाँ भिसा कार्यक्रम

मङ्गलबार, ११ भदौ २०८१, १५ : ४९
मङ्गलबार, ११ भदौ २०८१

वाशिङटन डीसी । अमेरिकाको एक अदालतले अमेरिकी नागरिकको आप्रवासी (पति वा पत्नी)लाई अमेरिका ल्याउन अमेरिकी राष्ट्रपति जो बाइडेनले सुरु गरेको नयाँ अध्यागमन कार्यक्रममा रोक लगाइदिएको छ । टेक्ससको संघीय न्यायाधीशले ह्वाइट हाउसको सो कार्यक्रममा अस्थायी रूपमा रोक लगाएका हुन् । 

यो कार्यक्रमले अमेरिकी नागरिकको वैध कागज पत्र नभएका हजारौँ आप्रवासीलाई निर्वासित हुनबाट जोगाउन सक्ने ह्वाइट हाउसका अधिकारीहरूको दाबी थियो । रिपब्लिकनहरूको नेतृत्व रहेको १६ वटा अमेरिकी राज्यहरूबाट सो भिसा कार्यक्रमविरुद्ध बाइडेन प्रशासनमाथि लगाएको मुद्दाको प्रतिक्रियामा सोमबार १४ दिनको स्टे अर्डर लगाइएको हो । 

बाइडेनले गएको हप्ता ‘परिवारलाई साथ राख्ने’ कार्यक्रम लागू गरेका थिए । यो कार्यक्रम अमेरिकामा कम्तीमा पनि १० वर्ष बसेकाहरूका लागि लागू हुने थियो । यसले उनीहरूलाई अमेरिकामै बसेर काम गर्ने अनुमति दिने थियो ।

नोभेम्बरमा राष्ट्रपति निर्वाचन अघि अध्यागमन धेरैजसो मतदाताको मुख्य चिन्ताको विषय भएको जनमत सर्वेक्षणहरूले देखाएका थिए । जुनमा ह्वाइट हाउसले नयाँ भिसा कार्यक्रमको घोषणा गर्दा अमेरिकी नागरिकका ५ लाख जति योग्य हुने बताइएको थियो । अमेरिकी नागरिकसँग विवाह गरेर बसेका माता÷पिताका २१ वर्ष मुनिका ५० हजार सन्तानले पनि यो नीतिबाट लाभान्वित हुने बताइएको थियो ।

अमेरिकामा कागजात विहीन आप्रवासीका लागि यो ओबामा प्रशासनले सन् २०१२ मा घोषणा गरेको डाका नीति यताकै सबैभन्दा राहत दिने कार्यक्रम थियो । अस्थायी रूपमा स्थगित गरिएको कार्यक्रम अन्तर्गत १० वर्षदेखि अमेरिका बसिरहेका वा जुन १७ सम्ममा विवाहित तर कागजपत्र नभएका अमेरिकी नागरिकको जहान स्थायी बसोबासका लागि आवेदन दिन योग्य हुने थिए । 

आवेदन दिन तीन वर्षको समय दिइनेछ । यिनीहरू तीन वर्षको वर्क पर्मिटका लागि पनि योग्य हुने थिए । अवैध रूपमा अमेरिका छिरेकालाई यो कार्यक्रममार्फत छूट दिन खोजिएको तर्क बाइडेनको आलोचकहरूले बताउँदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप