बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कांग्रेस र एमालेको अनैतिक गठबन्धनले मुलुक बर्बाद हुँदैछ, तेस्रो जनआन्दोलनको विकल्प छैन :  साह

मङ्गलबार, ११ भदौ २०८१, १५ : ००
मङ्गलबार, ११ भदौ २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले) को दुई दलीय गठबन्धन अनैतिक भएको बताएका छन् ।  दुई दलीय गठबन्धनले मुलुक बर्बाद हुन लागेको पनि उनको टिप्पणी छ । 

काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दुई दलीय गठबन्धनको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए ।

‘बिचार, सिद्धान्त केही पनि नमिल्ने कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । निर्वाचनमा दुई छुटाछुटै गठबन्धन गरेर जनतासँग मत मागेका थिए । तर सता स्वार्थले एक भए, अहिले भ्रष्टाचारीलाई जोगाउनका लागेका छन्’ आजपा अध्यक्ष साहले भने, ‘दुई दलका दुई नेताको स्वार्थका लागि बनेको यो गठबन्धन नभई ठगबन्धन हो । भ्रष्टाचारीलाई जोगाउन मिलेका हुन् ।’

निर्वाचनमा छुटाछुटै गठबन्धन गरेर जनतासँग मत मागेका कांग्रेस र एमालेले गठबन्धन गरेपछि उनीहरूले मत फिर्ता गर्नुपर्ने तर्क साहको छ ।

यो सरकारले दालभात मात्रै खाने गरेको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई इङ्गित गर्दै साहले भने, ‘यो सरकारले दालभात मात्रै खान्छ भन्नुहुन्छ प्रधानमन्त्रीज्यू, तर त्यो गिरी बन्धु टी–स्टेट, वाईडबडी, यतीओमनी, भुटानी काण्ड, बाल मन्दिर, डेडिकेटेड र ट्रंक लाइनदेखि टेरामक्स लगायतका काण्डै काण्डले बदनाम सरकार र यी नेताहरू के दालभात मात्रै खाएका हुन त ? दालभात मात्रै खाएर मुलुक कंगाल बनेको हो प्रधानमन्त्री ज्यू ? अनि तपाईँहरूले गरेको यस्ता भ्रष्टाचार र अनैतिक कार्यको विरोध गर्ने टुँडिखेलका ती सोझा युवाहरू असभ्य भए, संस्कार भएन भन्ने अनि के तपाईँहरूले जुन देश लुटिराख्नु भएको छ त्यो सभ्य र संस्कारको काम हो ?’

कांग्रेस र एमालेले संविधान संशोधनका लागि दुई दलको गठबन्धन भएको बताउँदै आएका छन् । तर आजपा अध्यक्ष साहले आफैले बनाएको संविधान कार्यान्वयन नहुँदै संशोधनको कुरा गर्नुभन्दा पहिला नेपाली जनतासँग माफी माग्नुपर्ने बताए । आफैले उत्कृष्ट संविधान बनाएको भन्दै गर्व गर्ने नेताहरूले अहिले आएर संशोधन गर्ने भन्नु भन्दा पहिला माफी माग्नुपर्ने बताउँदै यस्ता संविधान खारेज गर्नुपर्ने उनले बताए ।  

मुलुकमा सरकारको मनोमानी बढेको बताउँदै उनले महँगीले नेपाली जनता आजित भएको बताए । ‘हरेक बस्तुमा मनलाग्दी कर सरकारले लिइरहेको छ । हरेक बस्तुको महँगी बढ्दै गइरहेको छ । घर चलाउन धौधौ भइरहेको छ । जनता लुट्ने यी नेताले अहिले लुटतन्त्र मच्चाएका छन् । यसरी मुलुक समृद्ध हुन सक्दैन्’ साहले भने, ‘नेपाली नागरिकता त्यागेर विदेश बसेकाको सम्पत्ति कहाँ छ ? कति छ सरकारले भन्नु पर्‍यो । लुटेरा नेताहरूले देश चलाएपछि भ्रष्टाचार बढेको हो । अब आम जनताले नै भ्रष्टाचारीलाई जनकारबाही गर्ने समय आएको छ । त्यसैले हामीले दलाल दलतन्त्र, लुटतन्त्र, बेथिति, भ्रष्टाचारको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको उद्घोष गरेका छौँ ।’

दुई दिनसम्म चल्ने बैठकमा तेस्रो जनआन्दोलनको रणनीति तय गर्ने बारेमा गम्भीर छलफल हुने उनले बताए।

आजपा महासचिव त्रिभुवन साहले अब हुने तेस्रो जनआन्दोलनबाट आम जनताको शासन व्यवस्थामा सहभागिताको सुनिश्चित हुने दाबी गरे । 

बैठकमा आजपाले विगतका दिनमा गरेको विभिन्न आन्दोलनको बारेमा समीक्षा पनि हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप