परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल्बुसाइदी बिच द्विपक्षीय छलफल
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सइद बिन हमाद हमुद अल्बुसाइदीबिच मंगलबार द्विपक्षीय वार्ता भएको छ ।
परराष्ट्रमन्त्री राणाको निमन्त्रणामा सोमबार नेपाल आएका अल्बुसाइदी र परराष्ट्रमन्त्रीबिच द्विपक्षीय छलफल भएको हो । छलफलमा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
छलफलमा नेपालले हवाई कनेक्टिभिटी, श्रमसम्बन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको छ । वार्तामा नेपाल तर्फबाट मन्त्री राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायतका अधिकारीहरू र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरू सहभागी थिए ।
वार्तामा परराष्ट्रमन्त्री राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरिन् ।
पहिला ओमानले भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरेको भए पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरुलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि आग्रह गरेको जनाइएको छ ।
यस विषयमा ओमानका विदेशमन्त्री बुसाइदीले पुनः विचार गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी नेपालले नेपाली श्रमिकहरुको हक हित तथा थप श्रम गन्तव्यबारे कुरा उठाएको थियो । नेपाल पक्षले ओमानको श्रम कानुन र अरू वातावरण राम्रो रहेकाले नेपाली श्रम बजारको राम्रो गन्तव्य हुन सक्ने भन्दै यस विषयमा कुरा उठाएको थियो ।
ओमान पक्षले पनि नेपाली श्रमिकहरू काममा लगनशील र इमान्दार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिक लैजाने विषय बताएको थियो । यस विषयमा दुई देशबिचमा श्रम सम्झौता गरिने सहमति सो वार्तामा भएको थियो ।
त्यस्तै परराष्ट्रमन्त्री राणाले नेपालको प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथा लगायतका विश्वका आठ हजारभन्दा अग्ला हिमालहरु एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूका कारण पनि नेपालको पर्यटकीय सम्भावना धेरै रहेकाले ओमानी पर्यटकको नेपाल आगमन लगायतका अन्य सम्भावनाहरुमा संयुक्त रूपमा केही गर्न सकिने प्रस्ताव गर्दै नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह गरिन् ।
छलफलमा मन्त्री राणाले नेपालमा जलविद्युत लगायतका कैयौँ क्षेत्रमा लगानीका धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि पनि विदेशमन्त्री मार्फत् ओमान सरकार त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गरिन् ।
सो वार्तापछि मन्त्री राणाले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल र ओमानबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताइन् ।
उनले नेपाल र ओमानका दुवै तर्फका लगानी तथा अन्य आदानप्रदानका सम्भावना र चासोका धेरै विषयहरुमा कुरा गरेको र दुई देशबिच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा छिट्टै सम्झौताको तयारी भएको पनि बताइन् । नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमान इच्छुक रहेको पनि उनले जानकारी गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा थप गरिएका सदस्यलाई कार्यादेश प्रदान
-
मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट