आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

मलयालम फिल्म उद्योगमा हलचल : कयौँ अभिनेत्रीले यौन दुर्व्यवहार झेलेको खुलासा

मङ्गलबार, ११ भदौ २०८१, १५ : ०२
मङ्गलबार, ११ भदौ २०८१

काठमाडौँ । दक्षिण भारतको मलयालम फिल्म उद्योगमा यतिबेला एउटा रिपोर्टका कारण हलचल उत्पन्न भएको छ । कयौँ अभिनेत्री यौन उत्पीडनमा परेको तथ्य उक्त रिपोर्टमा प्रकाशित छ ।

‘जस्टिस हेमा कमिटी रिपोर्ट’ भनेर चिनिने उक्त प्रतिवेदनमा विभिन्न अभिनेत्रीमाथि भएको यौन दुर्व्यवहारका घटना समेटिएका छन् । यसरी यौन दुर्व्यवहारका घटना झेलेका कयौँले आफ्नो करिअर नै छोडेको बताइएको छ ।

रिपोर्ट सार्वजनिक भएसँगै यससँग सम्बन्धित विभिन्न कलाकारले प्रतिक्रिया जनाउन थालेका छन् ।

केही दिन यता मलयालम फिल्म उद्योगसँग जोडिएका कयौँ महिलाले सन् २००९ यता यौन उत्पीडनमा संलग्न व्यक्तिको नाम सार्वजनिक गर्दै आएका छन् । आरोपितमध्ये अहिलेसम्म एक जनाले मात्र आफूमाथिको आरोप निराधार रहेको बयान दिएका छन् ।

केरल सरकारले हालै यसबारे अनुसन्धान गर्न विशेष अनुसन्धान टिम (एसआइटी) बनाएको छ । उक्त टिममा चार महिला प्रहरी अधिकारी छन् । उक्त टिमले यसबारे उजुरी लिने जनाइएको छ । यद्यपि, उजुरी दर्ताको अधिकार भने यो टिमलाई दिइएको छैन ।

बंगाली अभिनेत्री श्रीलेखा मित्राले अभिनेता रंजीतमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । आरोप लागेपछि रंजीतले केरल चलचित्र एकेडेमीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

श्रीलेखाले २६ अगस्टमा कोच्चीको प्रहरी कमिश्नरसँग औपचारिक रूपमा यसबारे उजुरी गरेकी छन् । उक्त उजुरी गैरजमानती अपराध अन्तर्गत दर्ता भएको छ ।

अभिनेत्री माला पार्वतीले बीबीसी हिन्दीसँग कुरा गर्दै अहिलेसम्म पीडकका रूपमा सार्वजनिक भएका नाम एउटा सानो हिस्सामात्र भएको जनाएकी छन् । ‘केही यस्तो गम्भीर मुद्दा छन्, जो बिस्तारै प्रकाशमा आउन सक्छन्,’ उनले भनिन्, ‘मानिस खुलेर आउन थालेका छन्, तिनीहरू हेमा कमिटीको सम्पर्कमा आएका थिएनन् ।’

हेमा कमिटी सन् २०१७ मा केल राज्य सरकारको आदेशमा गठन भएको थियो । एक प्रख्यात अभिनेत्रीलाई चार जनाले यौन उत्पीडन गरेको प्रकाशमा आएसँगै उक्त कमिटी बनाइएको थियो । यस मामिलामा अभिनेता दिलीप मुख्य अभियुक्त थिए, जो हाल जमानतमा रिहा भएका छन् ।

राज्य सरकारले साढे चार वर्षपछि कमिटीको रिपोर्ट सार्वजनिक गरेको हो । प्रहरी कार्यालयमा दर्ता भएका यस्ता सबै उजुरीको छानबिन गर्न आदेशसमेत दिइएको छ ।

केरल सरकारले यस्ता मुद्दाको जाँच आफैँले गर्न अस्वीकार गरेको छ । यद्यपि, दुई उजुरी आएपछि दबाब बढेर सरकारले एसआईटी बनाउने फैसला गरेको हो ।

उजुरीकर्ता अभिनेत्रीहरूले आफूहरूलाई बारम्बार ‘सम्झौता’ गर्न र ‘एडजस्ट’ गर्न दबाब दिइएको बताएका छन् । यसको बदलामा आफूलाई मलयालम मुभी आर्टिस्ट (एएमएमए) को सदस्यता दिने प्रस्ताव गरिएको उनीहरूको भनाइ छ ।

मीनु मुनीरले बीबीसी हिन्दीसँग भनिन्, ‘यो त्यतिबेलाको घटना हो, जब म फिल्म छायाङ्कन स्थलमा सेक्रेटेरियटको वाशरुमबाट बाहिर आएँ । एक चर्चित अभिनेताले मलाई पछाडिबाट समातेर मेरो अनुमतिविना चुम्बन गर्यो ।’

आफूले उसलाई धक्का दिएर त्यहाँबाट भागेको उनले बताएकी छन् । उनले भनिन्,‘उसले मलाई त्रिवेन्द्रममा एउटा अपार्टमेन्ट रहेको भन्दै त्यहाँ भेट्न बोलाएको थियो । एक अर्को चर्चित अभिनेताले मलाई राति आउँछु, होटलको ढोका नगाइ सुत्नू भनेको थियो ।’

आफूले उसको प्रस्ताव अस्वीकार गर्दा उसले आफू पाँच तारे होटल छाडेर तेरोलागि आएको भनेर दबाब बढाएको उनले बताइन् । आफूले उसको कुरा नमानेकै कारण भोलिपल्ट उसले सेटमा विनाकारण कराउने गरेको उनको भनाइ छ ।

एक अर्को अभिनेताले पनि आफूसँग त्यस्तै कुरा गरेको तर आफू उनीहरूको कुरामा नफसेको मुनीरले बताइन् । सुरुमा त आफू एएमएमएको सदस्य बनेको खण्डमा यस्तो उत्पीडन झेल्नु पर्दैन भन्ने लागेको तर पछि आफूले ‘सम्झौता’ र ‘एडजस्ट’  गरेमा त्यस्तो सदस्यता निःशुल्क पाइन्छ भन्ने थाहा पाएपछि ठुलो झट्का लागेको उनले बताइन् ।

मुनीरले भनिन्, ‘एक प्रोडक्सन कन्ट्रोलर थियो जसले मलाई कारमै नराम्रो व्यवहार गरेको थियो । मैले सन् २०१३ मा यसबारे एक म्यागजिनलाई अन्तरवार्तामा भनेकी थिएँ । तर मसँग कसैले यसबारे सोधपुछ गरेनन् ।’

यी तमाम घटना सन् २००८ देखि २०१२ भित्रका छन् । दुई अभिनेत्री गीता विजयन र श्रीदेविकाले चर्चित निर्देशकमाथि आरोप लगाउँदै भनेका छन्– मध्यराति उसले हाम्रो ढोका ढकढक्याउने गर्दथ्यो ।

श्रीदेविकाका अनुसार उनीसँग यस्तो घटना चार दिनसम्म भयो । गीता यस सम्बन्धी उजुरी दर्ता गराउन आफू तयार रहेको बताउँछिन् ।

एक स्क्रिप्ट राइटरले पनि डीजीपी (डाइरेक्टर जनरल अफ पुलिस)लाई उजुरी पठाएकी छन् । उक्त उजुरीमा सन् २०२२ मा कोल्लममा एक फिल्मका बारेमा कुरा गर्न जाँदा एक अभिनेता–निर्देशकले आफ्नो यौन उत्पीडन गरेको उल्लेख छ ।

त्यसपछि उक्त अभिनेता–निर्देशकले आफूसँग माफी मागेको र एक सहयोगीका माध्यमबाट १० हजार रुपैयाँ पठाउँदै यो कुरा बाहिर कतै नगर्न दबाब दिएको उनको भनाइ छ ।

अभिनेता सिद्दीकीमाथि रेवती संपथले बलात्कारको आरोप लगाएकी छन् । आरोपपछि सिद्दीकीले एएमएमएको महासचिव पदबाट राजीनामा दिएका छन् । तर उनले आफूमाथि झुटो आरोप लगाइएको जिकिर गरेका छन् ।

केरल सरकारले यौन उत्पीडन झेलेका अभिनेत्रीहरूले उजुरी गरेमा छानबिनका लागि तयार रहेको जनाएको छ । सरकारको यस्तो भनाइले नै हेमा कमिटीको रिपोर्टमाथि कुनै कारबाही नहुने प्रस्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप