आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

कार्यकारिणी तथा पदाधिकारी चयनको विषयमा जसपा नेपालभित्र असन्तुष्टि

मङ्गलबार, ११ भदौ २०८१, १४ : ३०
मङ्गलबार, ११ भदौ २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले हालै चयन गरेका पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यलाई लिएर असन्तुष्टि देखिएको छ । जसपा नेपालले भदौ १० गते २० सदस्यीय पदाधिकारी घोषणा गरेको थियो । सहअध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव–२ उपमहासचिव–३, सचिव–७, कोषाध्यक्ष–प्रवक्ता १–१ जना चयन गरिएको हो ।

यसमध्ये सबैभन्दा बढी असन्तुष्टि महासचिवबारे भइरहेको छ । पार्टीको विधानमा भएको व्यवस्थालाई लत्याएर महासचिव चयन गरेको गुनासो पार्टीभित्र व्याप्त छ । पार्टीको विधान २०८० को धारा २९ मा महासचिव एक जना रहने व्यवस्था छ ।

तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई जनालाई महासचिवको जिम्मेवारी दिएका छन् । उनले लालबाबु राउत र रामकुमार शर्मालाई महासचिव बनाएका हुन् ।

रामकुमार शर्मालाई महासचिव बनाउनु विधान विपरीत रहेको नेताहरूको भनाइ छ । पार्टीको विधानको धारा ८५ अनुसार रामकुमार शर्मासँग महासचिव बन्ने योग्यता पुग्दैन । विधानमा भनिएको छ, ‘केन्द्रीय समितिको पदाधिकारीका लागि उम्मेदवार हुन केन्द्रीय समितिको सदस्य वा प्रदेश÷राष्ट्रिय समितिको अध्यक्ष भई कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्छ ।’

तर सोही धारामा अन्य पार्टी परित्याग गरी पार्टीमा प्रवेश गरेका व्यक्तिको हकमा पहिलो पटकका लागि महाधिवेशन वा अधिवेशनको प्रतिनिधि हुन कुनै पनि समिति र निकायको पदका लागि पार्टी सदस्यताको अवधिसम्बन्धी बाध्यात्मक व्यवस्था लागु नहुने भनिएको छ ।

पार्टीका एक जना कार्यकारिणी सदस्यले भने, ‘महाधिवेशन वा अधिवेशनको प्रतिनिधि हुनका लागि पार्टीमा प्रवेश गरेका लागि पहिलो पटक पार्टीको सदस्यता अवधिको आवश्यकता पर्दैन तर पदाधिकारीमा उम्मेदवार बन्न वा चयन हुनका लागि केन्द्रीय समितिको सदस्य वा प्रदेश समितिको अध्यक्षमा कम्तीमा पाँच वर्ष काम गरेकै हुनुपर्ने पार्टीको विधानमा स्पष्ट व्यवस्था छ ।’

तर अध्यक्ष यादवले विधानलाई मिचेर एक जना महासचिव हुनुपर्ने ठाउँमा दुई जनालाई बनाएको भन्दै विरोध भइरहेको छ । रामकुमार शर्मालाई पार्टीको विधान विपरीत महासचिव बनाएको गुनासो पार्टीभित्र व्याप्त छ ।

राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिनका लागि कम्तीमा १० वर्ष सङ्गठित पार्टी सदस्य भएर काम गरेको हुनुपर्ने छ तर, जातीय÷सामुदायिक समावेशी र महिलाको हकमा सात वर्ष सङ्गठित पार्टी सदस्य भई काम गरेको भए योग्य ठहरिने पार्टीको विधानमा उल्लेख छ ।

त्यस्तै, केन्द्रीय समितिको सदस्यको उम्मेदवार हुनका लागि सङ्गठित पार्टी सदस्य भई कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय समिति वा केन्द्रीय निकाय वा प्रदेश÷राष्ट्रिय समितिको सदस्य वा केन्द्रीय विभागको सदस्य वा जिल्ला समितिको पदाधिकारी वा जनवर्गीय सङ्गठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल वा लगातार पाँच वर्षसम्म काम गरेको हुनुपर्ने उल्लेख छ ।

रामकुमार शर्माले २०८० चैत ८ गते माओवादी पार्टी परित्याग गरेका थिए । उनी एक महिनापछि अर्थात् २०८१ वैशाख ९ गते जसपा नेपालमा प्रवेश गरेका थिए । जेठ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा भएको महाधिवेशनमा महोत्तरीबाट महाधिवेशन प्रतिनिधि बनेर आएका शर्माले महासचिवमा उम्मेदवारी दिएका थिए । विधान अनुसार उनी उम्मेदवार बन्न पाउँदैनन् भनेर त्यतिबेला पनि पार्टीभित्र आवाज उठेको थियो ।

अध्यक्षबाहेक अरू कुनै पनि पद महाधिवेशनबाट चयन भएन । केन्द्रीय समिति तथा पदाधिकारी चयन गर्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको थियो । अध्यक्ष यादवले असार ३ गते नौ जना कार्यकारिणी समितिसहित २१५ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेका थिए ।

त्यसमा रामकुमार शर्मालाई केन्द्रीय सदस्य बनाइएको थियो । त्यसपछि भदौ १० गते उनलाई महासचिव बनाइएको हो । पार्टीमा प्रवेश गरेको पाँच महिनापछि उनलाई महासचिव बनाइएको छ ।

उपेन्द्र यादवले उपनिर्वाचन जितेको बाराबाट न पदाधिकारी बनाइएको छ, न कार्यकारिणी सदस्य बनाइएको छ । पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी समितिमा बारालाई उपेक्षा गरिएको भन्दै अध्यक्ष यादवको आलोचना भइरहेको छ ।

बाराका एक जना केन्द्रीय सदस्यले भने, ‘सप्तरीका जनताले हराइसकेका उपेन्द्रजीलाई हामीले बाराबाट जितायौँ तर आज पार्टीमा बारालाई उहाँले न एउटा पदाधिकारी दिनु भएको छ, न एउटा कार्यकारिणी सदस्य दिनुभएको छ । बारासँग पार्टीले बेइमानी गरेको छ ।’

३१ सदस्यीय कार्यकारिणी समितिमा २० जना पदाधिकारीबाट लिने र बाँकी ११ जना केन्द्रीय समितिले चयन गर्ने प्रावधान छ । तर अध्यक्ष यादवले चार दिनसम्म चलेको केन्द्रीय समितिको बैठकमा यसको बारेमा चर्चासमेत नगरी ११ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य आफ्नै मनले सार्वजनिक गरेका छन् । यो पनि विधान विपरीत रहेको नेताहरूको दाबी छ ।

पदाधिकारी चयनका क्रममा महाधिवेशनमा उम्मेदवारी दिएकालाई समेत मान्यता दिइएको छैन । अहिले महासचिव भएका लालबाबु राउतले महाधिवेशनमा सहअध्यक्षमा उम्मेदवारी दिएका थिए । राजकिशोर यादवले सहअध्यक्षमा उम्मेदवारी दिएका थिए तर उनलाई उपाध्यक्ष बनाइएको छ । उपमहासचिवमा उम्मेदवारी दिएका सुरेश मण्डललाई सचिव बनाइएको छ । मनिष सुमनले महासचिवमा उम्मेदवारी दिएका थिए भने उनलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

विधान अनुसार प्रवक्तालाई पदाधिकारी मानिएको छैन । पदाधिकारी चयनप्रति जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतले पनि आपत्ति जनाएका छन् । उनले पदाधिकारी चयनप्रति आपत्ति जनाउँदै आफ्नो फेसबुकमा लेखेका छन्, ‘पार्टी परित्याग गर्छु भन्दै धम्क्याउँदै हिँड्ने लाक्पा शेर्पा सचिव, यो पार्टी काम लाग्दैन तपाईं (जुद्ध ढाक्रेलाई) घोषणापत्र लेख्नुस्, म विधान लेख्छु भनेर लागेका राजकुमार राई सचिव, एमालेमा पदको बार्गेनिङ गर्दै हिँडेका विद्युत् बज्राचार्य उपाध्यक्ष, जसपा नेपाल फुटाएर जसपा पार्टी बनाउने मुख्य परिकल्पनाकार र योजनाकार रकम चेम्जोङ सह–अध्यक्ष । जसपा नेपालमा जति ठुलो गद्दारी, त्यति ठुलो पद !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप