बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

क्यानडाले चीनबाट आउने विद्युतीय कारमा लगायो शतप्रतिशत भन्सार कर

मङ्गलबार, ११ भदौ २०८१, ११ : ४०
मङ्गलबार, ११ भदौ २०८१

ओट्टावा । चीनमा बनेका विद्युतीय सवारी साधन (ईभी) आयातमा क्यानडाले शतप्रतिशत भन्सार कर लगाएको छ । अमेरिका र युरोपेली संघ (ईयू)ले चीनबाट आउने ईभीमा अतिरिक्त महसुल लगाएपछि क्यानडाले पनि सोही कदम पछ्याएको हो । यो अतिरिक्त महसुल अक्टोबर १ देखि लागू हुनेछ । क्यानडाले चीनबाट आयात हुने स्टिल र आल्मुनियममा पनि २५ प्रतिशत अतिरिक्त महसुल लगाउने घोषणा गरेको छ । यो महसुल भने अक्टोबर १५ देखि लागू  हुने बताइएको छ ।

चीनले आफ्नो ईभी उद्योगलाई अनुदान दिएको र यसबाट त्यहाँका कार निर्माताहरूलाई अनुचित फाइदा मिलेको आरोप क्यानडा र यसका पश्चिमी मित्र देशहरूले लगाइरहेका छन् । अतिरिक्त महसुल लगाउने क्यानडाको कदमलाई चीनले व्यापार संरक्षणवाद भनेको छ । यसले विश्व व्यापार संगठनको नियमको उल्लङ्घन गर्ने चीनको भनाइ छ ।

‘हामीहरूले क्यानडाको अटोमोटिभ क्षेत्रलाई भोलिको सवारी साधन निर्माण गर्ने विश्वकै अग्रणी बजारमा परिणत गर्दैछौं । तर चीन जस्ता देशहरूले विश्वव्यापी बजारबाट अनुचित फाइदा लिइरहेका छन् ।’ क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन् । मे महिनामा अमेरिकाले चिनियाँ ईभीको आयातमा अतिरिक्त महसुल चौबर बनाउँदै शतप्रतिशतमा पुर्‍याउने घोषणा गरेको थियो ।

त्यसपछि ईयूले पनि चीनमा उत्पादन भएर आफ्नो बजारमा आउने ईभीमा ३६ दशमलव ३ प्रतिशतसम्म भन्सार कर लगाउने योजना सार्वजनिक गरेको थियो । क्यानडाको अतिरिक्त महसुल अमेरिकी ईभी निर्माता कम्पनी टेस्लाको चीनको सांघाईस्थित कारखानामा उत्पादन हुने ईभीमा पनि लाग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप