मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्वकालीन महान् धावक उसेन बोल्टको कीर्तिमानलाई चुनौती दिने १६ वर्षीय गाउट

मङ्गलबार, ११ भदौ २०८१, ११ : १३
मङ्गलबार, ११ भदौ २०८१

काठमाडौँ । विश्व खेलकुदमा परिचित नाम हो, उसेन बोल्ट । यी सर्वकालीन महान् जमैकन धावकले कुनै समय विश्व एथलेटिक्सको छोटो दुरीको दौडमा तहल्का मच्चाएका थिए । आँखा झिमिक्क पार्नुअघि नै आफ्नो लक्ष्यमा पुगिसक्ने यी धावकको खुसीयाली मनाउने शैलीको पनि कायल थियो, विश्व खेलकुद ।

३८ वर्षीय बोल्टले सक्रिय खेल जीवनबाट बिदा लिएको पनि लामो समय बितिसकेको छ । तर, उनले आफ्नो सक्रिय खेलजीवनमा बनाएको कीर्तिमान अझसम्म कसैले तोड्न सकेको छैन । एक सय मिटर दौडमा त १५ वर्षअघि उनले बनाएको कीर्तिमानको छेउछाउ पनि कुनै खेलाडी पुग्न सकेका छैनन् ।

बोल्टले सन् २००९ मा एक सय मिटर दौडमा विश्व कीर्तिमान बनाएका थिए । त्यतिबेला उनले निर्धारित दुरी ९.५८ सेकेन्डमा पुरा गरेका थिए । यसका अतिरिक्त दुई सय मिटर र चार गुना एक सय मिटर रिले दौडको विश्व कीर्तिमान पनि उनकै नाममा छ ।

विश्व खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता ओलम्पिकको लगातार तीनवटा संस्करणमा पुरुष एक सय र दुई सय मिटर दौडमा स्वर्ण पदक जित्ने पनि उनी एकमात्र खेलाडी हुन् । उनले सन् २००८, सन् २०१२ र सन् २०१६ को ओलम्पिकमा एक सय र दुई सय मिटर दौडमा स्वर्ण पदक चुमेका थिए ।

विश्व एथलेटिक्समा यस्तो उपलब्धि अन्य कुनै धावकले हासिल गर्न सकेको छैन । यसका अतिरिक्त बोल्ट ११ पटक विश्व च्याम्पियन बन्ने धावक पनि हुन् । उनले वल्र्ड च्याम्पियनसिपमा सन् २००९ देखि सन् २०१५ सम्म त लगातार एक सय, दुई सय र चार गुना एक सय मिटर रिले दौडमा स्वर्ण पदक चुमेर इतिहास रचेका थिए ।

उनले सक्रिय खेलजीवनमा आफ्नै कीर्तिमान पटक–पटक तोडेका थिए । किनभने अरु प्रतिद्वन्द्वी उनको छेउछाउ पनि थिएनन् । विश्व एथलेटिक्समा एकपछि अर्को चमत्कार गरेका कारण नै उनले नयाँ उपनाम पनि पाएका थिए, ‘लाइटनिङ बोल्ट ।’

बोल्टले एक सय मिटर दौडमा विश्व कीर्तिमान बनाएको १५ वर्षपछि विश्व एथलेटिक्समा एक नयाँ प्रतिभाको उदय भएको छ । १६ वर्षीय अस्ट्रेलियन धावक गाउट गाउटले पछिल्लो समय एक सय मिटर दौडमा बोल्टको कीर्तिमानलाई निशाना बनाएका छन् ।

बोल्टले एक सय मिटर दौडमा विश्व कीर्तिमान बनाउँदा यी धावक केवल एक वर्षका थिए । हालै सम्पन्न एक प्रतियोगितामा गाउट गाउटले केवल १०.२९ सेकेन्डमा एक सय मिटर दौड पुरा गरेर विश्व खेलकुदलाई आफू बोल्टको कीर्तिमान तोड्न आतुर रहेको संकेत दिएका छन् ।

गाउट गाउट थोरै अन्तरले मात्र बोल्टको कीर्तिमान तोड्नबाट चुकेका थिए । उनले अस्ट्रेलियामा सम्पन्न क्विन्सल्यान्ड एथलेटिक्स च्याम्पियनसिपमा यस्तो प्रदर्शन गरेका हुन् । सोही प्रदर्शनका कारण अहिले विश्व एथलेटिक्समा गाउट गाउट एकाएक चर्चाको शिखरमा पुगेका छन् ।

त्यो प्रतिस्पर्धामा गाउट गाउटका निकटतम प्रतिद्वन्द्वी उनीभन्दा १० कदम पछाडि थिए । अर्थात, गाउट गाउटले एकतर्फी रुपमा त्यो दौड जितेका थिए । गाउट गाउटको जन्म सन् २००७ को डिसेम्बरमा अस्ट्रेलियाको क्विन्सल्यान्डमा भएको हो ।

उनका आमा–बुवा सुडानका हुन् । तर, पछि उनका आमा–बुवा सुडानबाट अस्ट्रेलियामा बसाई सरेका थिए । सानैदेखि धावक बन्ने धोको पालेका उनले अस्ट्रेलियाको जुनियर एथलेटिक्समा पनि एकपछि अर्को अब्बल प्रदर्शन गरेका छन् ।

उनी यू–१८ स्पर्धामा दुई सय मिटर दौड च्याम्पियन हुन् । गत जनवरीमा उनले दुई सय मिटर दौड केवल २०.६९ सेकेन्डमा पुरा गरेका थिए । उनले पनि विश्व एथलेटिक्सका सर्वकालीन महान् खेलाडी बोल्टको कीर्तिमान नै आफ्नो लक्ष्य भएको बताउँदै आएका छन् ।

‘बोल्ट विश्व एथलेटिक्सको अतुलनीय खेलाडी हुन् । उनी मेरा पनि आदर्श हुन् । उनको हाराहारी पुग्नु मात्र पनि मेरो लागि ठुलो उपलब्धि हुनेछ । बोल्टसँग तुलना गर्दा कुन खेलाडीलाई खुशी नलाग्ला र ! तर, गाउट  गाउट नै हुँ । यतिबेला मेरो एकमात्र लक्ष्य आफ्नो आदर्श खेलाडीको छेउछाउ पुग्नु हो,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप