बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लामखुट्टेका कारण अमेरिकामा बन्द गरिए पार्कहरू

मङ्गलबार, ११ भदौ २०८१, ११ : ०६
मङ्गलबार, ११ भदौ २०८१

वासिङ्टन डीसी । लामखुट्टेबाट सर्ने खतरनाक भाइरसको डरका कारण अमेरिकाले सहरका विभिन्न पार्कहरू बन्द गरेको छ । लाखुट्टेबाट सर्ने दुर्लभ तर घातक भाइरसको कारण अमेरिकी सहरका दर्जनौँ सार्वजनिक पार्कहरू बन्द गरिएका हुन् । 

उक्त सहरले लामखुट्टे सबैभन्दा धेरै सक्रिय हुने समयमा घर बाहिरका गतिविधिहरूमा पनि प्रतिबन्ध लगाएको छ । म्यासाचुसेट्सका १० समुदायहरूलाई इष्टर्न इक्विन इन्सेफ्लाइटिज (ईईई)को उच्च वा गम्भीर जोखिममा राखिएको अधिकारीहरूले बताएका छन् ।

यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने बताइएको छ । अहिलेसम्म ईईईको कुनै खोप वा औषधि नबनेको अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले भनेको छ । सो क्षेत्रमा परीक्षण गरिएको लामखुट्टेमा ईईईको सङ्क्रमण रहेको परीक्षणले देखाएपछि समुदायहरूलाई अलर्टमा राखिएको छ । म्यासाचुसेट्स राज्यमा सन् २०२० यता पहिलो पटक मान्छेमा यो भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

म्यासाचुसेट्सको प्लाइमाउथमा एक घोडामा पनि सो रोग फेला परेको जनस्वास्थ्य अधिकारीहरूले भनेका छन् । ८० वर्ष उमेर समूहका एक पुरुष अगष्ट १६ मा ट्रिपल ईबाट सङ्क्रमित रहेको पुष्टि भएको थियो । यो रोगको सङ्क्रमण भएका ३३ देखि ७० प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । अधिकांश बिरामीको मृत्यु सङ्क्रमणको लक्षण देखिएको १० दिनमै हुने गरेको बताइएको छ । यो रोगमा तारनतार दिशा लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, मुर्छा पर्ने, बान्ता हुने आदि लक्षण देखा पर्छन् ।

ईईई दुर्लभ भएपनि गम्भीर रोग भएको र यो जनस्वास्थ्य चिन्ताको विषय भएको म्यासाचुसेट्सका जनस्वास्थ्य आयुक्त रोबी गोल्डस्टेनले एक विज्ञप्तिमा भनेका छन् । म्यासाचुसेट्समा यो भाइरसको प्रकोप देखिएको यो पहिलो पटक होइन । 

सन् २०१९ देखि सन् २०२० को बिचमा १७ जनामा ईईई पुष्टि भएको  थियो भने यीमध्ये ७ जनाको मृत्यु भएको थियो । अमेरिकामा बर्सेनि ११ जनामा यो रोग देखिने गरेको सीडीसीले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप