शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

टी–२० महिला विश्वकप : भारत–पाकिस्तान भिडन्त अक्टोबर ६ मा

मङ्गलबार, ११ भदौ २०८१, १० : ०८
मङ्गलबार, ११ भदौ २०८१

काठमाडौँ । आईसीसी टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिच अक्टोबर ६ तारिखमा भिडन्त हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा खेल तालिका अनुसार, भारत र पाकिस्तानबिचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियभमा खेलिने छ ।

भारत र पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ मा परेका छन् । त्यो समूहमा साविक विजेता अस्ट्रेलिया, न्युजिल्यान्ड र श्रीलंका पनि रहेका छन् । महिला विश्वकपको उद्घाटन खेल भने अक्टोबर ३ तारिखमा बङ्गलादेश र स्कटल्यान्डबिच खेलिने छ । उक्त खेल दिउँसो १४ः०० बजे सुरु हुनेछ ।

बङ्गलादेश र स्कटल्यान्ड प्रतियोगिताको समूह ‘बी’ मा छन् । त्यो समूहमा इङ्गल्यान्ड, दक्षिण अफ्रिका र स्कटल्यान्ड पनि रहेका छन् । प्रतियोगिताको पहिलो दिन नै पाकिस्तान र श्रीलङ्काबिच अर्को खेल खेलिने छ । त्यो खेल साँझ १८ः०० बजे सुरु हुनेछ ।

टी–२० महिला विश्वकप क्रिकेटको नवौँ संस्करण बङ्गलादेशमा आयोजना हुने कार्यक्रम थियो । तर, बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा आएर प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई)मा सारिएको हो ।

प्रतियोगिता अक्टोबर ३ देखि २० तारिखसम्म चल्नेछ । प्रतियोगिताको सबै खेल दुबई र शारजहाँमा खेलिने आईसीसीले जनाएको छ । दुबईमा महिला टी–२० विश्वकपको खेल खेलाउन लागिएको यो पहिलो पटक हो ।

लिग चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेल अक्टोबर १७ र १८ तारिखमा खेलिने छ । त्यसपछि फाइनल खेल अक्टोबर २० तारिखमा हुनेछ ।

टी–२० महिला विश्वकपको पहिलो संस्करण सन् २००९ मा इङ्गल्यान्डमा आयोजना भएको थियो । पहिलो संस्करणको उपाधि इङ्गल्यान्डले जितेको थियो । अस्ट्रेलिया महिला विश्वकपको साविक विजेता राष्ट्र हो । अघिल्लो संस्करणको फाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले हराएको थियो ।

टी–२० महिला विश्वकपमा अस्ट्रेलिया सर्वाधिक सफल राष्ट्र पनि हो । अस्ट्रेलियाले हालसम्म ६ पटक महिला विश्वकपको उपाधि चुमिसकेको छ । अस्ट्रेलियाले दोस्रो, तेस्रो चौथो, छैटौँ, सातौँ र आठौँ संस्करणको उपाधि जितेको थियो । पाँचौँ संस्करणको उपाधि भने वेस्ट इन्डिजले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप