आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
फिल्म

‘अहिले फ्यामिली, करिअर र फिल्म क्षेत्रमै प्रेम छ’

मङ्गलबार, ११ भदौ २०८१

‘यो जुनी त यस्तै भयो, फेरि अर्काे जुनी दिन्छौ भने हे ईश्वर मलाई छोरो बनाइदेऊ,’ फिल्म सतीदेवीकी प्रधानपात्र सतीदेवीको संवाद हो यो । फिल्मको ट्रेलरमै राखिएको यस संवादले सुरुदेखि नै चर्चा पायो । धेरै महिलाले यो संवादमा अभिनय गरेर टिकटक बनाएका छन् । 

गत शुक्रबार (भदौ ७) देखि प्रदर्शनमा आएको फिल्म ‘सतीदेवी’की प्रधानपात्र (सतीदेवी)को भूमिका निभाएकी मलिका महत पनि यतिबेला चर्चामा छन् । फिल्मको ट्रेलर र प्रचारका हरेक सामग्रीमा मलिकालाई केन्द्रमा राखिएको थियो । 

फिल्म प्रदर्शनमा आएसँगै उनले यतिबेला दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेकी छन् । ‘रिलिज अगाडिसम्म के होला, कस्तो होला भन्ने निकै डर थियो,’ रातोपाटीसँग उनले भनिन्, ‘अहिले फिल्म र मेरो अभिनय दुवैको राम्रो प्रतिक्रिया आइरहेको छ ।’ 

malika mahat (5)

फिल्मले व्यावसायिक सफलता पनि हात पार्नेमा आफू ढुक्क रहेको उनी सुनाउँछिन् ।

लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ले छोरा र छोरीबिच हुने विभेदको मुद्दा बनाएको छ । ‘पहिलोपटक स्क्रिप्ट पढ्दैमा यो फिल्म गर्नुपर्छ भन्ने लागेको थियो,’ मलिका भन्छिन्, ‘इनोसेन्ट र फ्यामिली भनेपछि मरिहत्ते गर्ने क्यारेक्टर हुन् सतीदेवी ।’

‘मन छुने कथा रोज्दा फरक–फरक भूमिका पाएँ,’ उनी भन्छिन्, ‘सायद यी फिल्म मेरो भाग्यमा थिए । यी सबै कथामा काम गर्दा आफू कनेक्ट भएको फिल भएको थियो ।’

यो फिल्म आफ्नो करिअरकै कोसेढुंगा साबित हुने अनुमान उनले गरेकी छन् । ‘म काठमाडौँमा हुर्किएँ, पढेँ–बढेँ । यस फिल्मको कथाजस्तो छोरा र छोरीको विभेद मैले देख्न र भोग्नुपरेन,’ उनी भन्छिन्, ‘वंश धान्न छोरै चाहिन्छ भन्ने गरेको सबैतिर सुन्न सकिन्छ । यसरबारे धेरैले खुलेर बोल्दैनन् तर यो फिल्मको कथा घर–घरको व्यथा हो ।’ 

फिल्मले समाज परिवर्तन नगरे पनि समाजको आँखा खोल्न प्रेरित गर्ने उनको विश्वास छ । उनी थप्छिन्, ‘यो फिल्म धेरैभन्दा धेरैले हेर्नुपर्ने फिल्म हो ।’

malika mahat (4)

  • ‘यात्रा’देखि फिल्म यात्रा

मलिका म्युजिक भिडियो हुँदै फिल्म ‘यात्रा’बाट अभिनयमा डेब्यु गरेकी हुन् । प्रेमकथामा आधारित फिल्म ‘यात्रा’मा उनी अभिनेता सलिनमानको जोडी बनेकी थिइन् । यात्राको सफलतापछि उनले सामाजिक कथामा बनेको फिल्म ‘पानीफोटो’मा काम गरिन् । त्यसपछि उनी एक्सन प्रधान फिल्म ‘अगत्स्य’मा देखिइन्, अभिनेता सौगात मल्लको जोडीका रुपमा । ‘पानीफोटो’ र ‘अगत्स्य’ दुवै फिल्मले  व्यावसायिक सफलता हासिल गरे । 

यसरी ‘यात्रा’देखि ‘सतीदेवी’सम्म आइपुग्दा मलिकाले बिल्कुलै फरक भूमिकामा काम गरेकी छन् । ‘मन छुने कथा रोज्दा फरक–फरक भूमिका पाएँ,’ उनी भन्छिन्, ‘सायद यी फिल्म मेरो भाग्यमा थिए । यी सबै कथामा काम गर्दा आफू कनेक्ट भएको फिल भएको थियो ।’

malika mahat (6)

मलिकाले पढ्ने स्कुलमा ड्रामा क्लब थियो । कक्षा ४ मा पढ्दा नै उनी ड्रामा क्लबमा जोडिइन् । सोही क्रममा उनले ‘मधुमालती’ भन्ने नाटकमा अभिनय गर्ने अवसर पाइन् । मधुमालतीमा खेलेपछि उनलाई लागेको थियो, म पनि अभिनय गर्न सक्छु, यो त रमाइलो फिल्ड रहेछ । 

पढाइमा ध्यान दिँदैमा चार वर्ष बित्यो । कक्षा ८ मा आइपुग्दा उनले ‘बत्ती’ शीर्षकको नाटकमा काम गर्न पाइन् । त्यसपछि प्लस टु पढ्दा नाटक ‘मनचिन्ते फिरन्ते’मा गरिन् । यति बेलासम्म उनलाई अभिनयमा आउँछु भन्ने थिएन ।

प्लसटु पढ्दा नै उनले इन्स्टाग्राममा आफ्ना विभिन्न तस्बिर राख्न थालिन् । उनले सेयर गरेका फोटोकै कारण उनलाई म्युजिक भिडियोमा अभिनय गर्ने अफर आयो । केही म्युजिक भिडियोपछि मात्र फिल्म ‘यात्रा’ हात परेको थियो । यात्रापछि भने उनी दृढ भइन्— अब अभिनय क्षेत्रमै लाग्छु । ‘अहिले त अभिनयबाहेक अन्य क्षेत्रमा म सक्षम छु जस्तै लाग्दैन,’ उनी भन्छिन्, ‘अभिनयबाहेक केही सोच्नै सक्दिनँ ।’ 

malika mahat (1)

केही समयअघि मलिकाले नाटक ‘पगला घोडा’मा काम गरेकी थिइन् । मण्डला थियटरमा मञ्चित नाटक ‘पगला घोडा’मा उनले चारवटा चरित्र निभाएकी थिइन्, त्यसैले उनको कामले रंगमञ्च क्षेत्रमा चर्चा पाएको थियो । ‘सानैमा नाटक गरेकाले होला, एक दिन थियटर पनि गर्छु भन्ने थियो । पगला घोडामा अफर आयो,’ उनी भन्छिन्, ‘सुरुमा नाटक गर्न निकै कठिन भयो । दैनिक अभ्यास गर्दै जाँदा सहज महसुस भयो ।’ 

नाटकबाट अभिनय खारिने हुँदा आगामी दिनमा पनि नाटकमा समय दिइरहने उनको सोच छ । 

नेपाली सिने जगतमा पनि प्रेम र ब्रेकअप सामान्यजस्तो भइसकेको छ । कतै उनी पनि प्रेममा परेकी त छैनन् ? आफू यतिबेला करिअरमा फोकस भएकाले प्रेमतिर ध्यान नदिएको उनी बताउँछिन् । ‘अहिले फ्यामिली, करिअर र फिल्म क्षेत्रमै प्रेम छ,’ उनले हास्ँदै भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया