बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
नाडा अटो शो

सभापति बराललाई प्रश्न– एउटा ‘अटो शो’बाट नाडाले कति पैसा कमाउँछ ?

‘७५ हजार जनाले अटो शो अवलोकन गर्ने अपेक्षा छ’
मङ्गलबार, ११ भदौ २०८१, ०८ : २४
मङ्गलबार, ११ भदौ २०८१

काठमाडौँ । ‘नाडा अटो शो, २०२४’ आजदेखि राजधानीमा सुरु हुँदैछ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनमा भदौ १६ गतेसम्म काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने बृहत् अटो शोको सम्पूर्ण तयारी पूरा भइसकेको सभापति अनुपकुमार बरालले बताएका छन् ।

१६औँ संस्करणको अटो शो भव्य, सुव्यवस्थित र मर्यादित रूपमा सफल बनाउन प्रदर्शनीमार्गको आवश्यक सुुरक्षा, ट्राफिक व्यवस्थापन, सवारी पार्किङदेखि सजावटसमेत गरिसकिएको बरालको भनाइ छ ।

यसपटकको अटो शोमा ७५ हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजक नाडाको अपेक्षा छ । प्रदर्शनका लागि सानाठुला गरी दुईपाङ्ग्रे, तीनपाङ्ग्रे (अटो), चारपाङ्ग्रे तथा कमर्सियल गाडीहरूका पुरानादेखि नयाँ ब्राण्ड र तिनका उत्पादन प्रदर्शनीमा राखिनेछन् ।

१९ वटा ब्राण्डका दुईपाङ्ग्रे सवारीले अटो शोमा भाग लिँदैगर्दा २४ वटा ब्राण्डका चारपाङ्ग्रे सवारीले स्टल बुक गरेका छन् । यस्तै अन्य अटो कम्पोनेन्ट, टायर ट्युब, लुब्रिकेन्ट लगायतका गरी एक सयभन्दा बढी स्टल रहने अटो शोका सभापति बरालले रातोपाटीलाई बताए ।

अटो शोको खास उद्देश्य, व्यापार, नेपाली उपभोक्ताहरूको सहभागिता र रोजाइलाई कसरी हेर्ने ? यसै मुद्दामा केन्द्रित रहेर नाडा अटो शोका सभापति बरालसँग रातोपाटीका लागि प्रयास श्रेष्ठले कुराकानी गरेका छन् । प्रस्तुत छ, बरालसँग गरिएको कुराकानीको सम्पादित अंश–

अटो शोको तयारी कस्तो हुँदैछ ? अपेक्षा अनि उत्साह कत्तिको छ ?

अब हामी अटो शोको लगभग अन्तिम तयारीमा छौँ । आज ९ बजे माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत अटो शोको समुदघाटन हुँदैछ । यतिबेला हामी सबै तयारीको अन्डर कन्ट्रोलमा छौँ । बाँकी काम, गृहकार्य अटो शोको अन्तिम दिनसम्म पनि चलिरहन्छ । तथापि, अटो शोको सम्पूर्ण तयारी पूरा भइसकेको छ । हामी तयारी अवस्थामा छौँ, उत्साहित छौँ ।

अटो शो १६ औँ संस्करणसम्म आइपुगेको छ । विगतका अनुभवले यो पटकको शो विशेष हुँदैछ कि ?

अटो शोमा यो मेरो तेस्रो पटकको नेतृत्व हो । यसअघि यस्ता १५ वटा अटो शो आयोजना सफलतापूर्वक सम्पन्न गरिसके पनि मैले प्रत्यक्ष नेतृत्व लिएर गरेको दुई वटा शो हुन् । कोभिड–१९ पछि दुई वर्ष अटो आयोजना गर्न सकिएन । २०७८ मा ईभी (विद्युतीय गाडी) कोमात्र शो ग¥यौँ । २०७९ मा फूल अटो शो ग¥यौँ र २०८० मा पनि बिगेस्ट अटो शो भनेर बृहत् शो आयोजना गर्यौँ ।

अहिले हामी १६औँ संस्करणको बिगेस्ट अटो शोको अन्तिम तयारीमा छौँ । यसकारण यसअघिका हाम्रा कमी कमजोरीलाई सुधार्दै अझ विशेष बनाउन यसपटक हामीले अटो शोलाई अझ व्यापक र विविधता बनाउन कोसिस गरेका छौँ ।

आर्थिक शिथिलताका बाबजुद केही सरकारी नीतिका कारण अटोमोबाइल बजार पनि शिथिल बन्न पुग्यो । यद्यपि, अहिले पनि स्थिति सुध्रिएको अवस्था भने छैन । पछिल्लो समय ईभीमा आएको बहारले उपभोक्ता र व्यवसायीहरूमा देखिएको उत्साहलाई नाडाले आत्मसात् गरेको छ । जबकि पछिल्ला अटो शोहरू ईभीमय बन्ने स्थिति देखिएको छ । यसमा हामी खुसी छौँ । नयाँनयाँ ब्राण्ड तथा उत्पादन यो पटकको अटो शोमा विशेष हुनेछन् ।

त्यसो भए यसपटकको अटो शो ईभीमय हुन्छ ?

पक्कै पनि, पछिल्लो समय ईभीमा आएको उभार, ग्रीन भेहिकलमा सरकारले गरेको सहजीकरणले गर्दा विद्युतीय सवारीको बजार बढेको छ । यसको आयात र व्यापार बढेको छ । नत्र त अरु आर्थिक मन्दी र सरकारका नीति, बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजका कारण पेट्रोलियम (आईसीई) सेग्मेन्टका गाडीहरूको व्यापार त शून्यमै झरिसकेको अवस्था हो । यस हिसाबले यतिबेला समग्र अटोमोबाइल बजार अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको छ ।

जहाँसम्मा ईभी गाडीको कुरा छ, यसपटक अटो शोमा ७० प्रतिशतभन्दा बढी ईभी नै प्रदर्शन हुने देखेका छौँ ।

anup baral2

सन् २०२२ मा कुल सवारी आयातको करिब २२ प्रतिशत हाराहारी रहेको ईभीको आयात अहिले बढेर ७१ प्रतिशतमाथि पुगिसकेको अवस्था छ । तर यसो भन्दैगर्दा आईसीई सेग्मेन्टका गाडीहरूलाई प्रोत्साहन नै नगर्ने, प्रदर्शन नै नगर्ने भन्ने होइन । यी पनि प्रदर्शन हुन्छन् । सरकारले यो भुल्न भएन कि अहिले पनि ठुलो क्षेत्र आईसीईमै छ । यो क्षेत्रमा काम गर्ने लाखौँ कामदार मेकानिकल व्यवसायीहरूको रोजगारीलाई पनि ख्याल गर्नुपर्यो र ईभी र आईसीई दुवै सेग्मेन्टलाई समान व्यवहार गर्नुप¥यो ।

पछिल्लो समय नेपालमै धमाधम सवारी साधन उत्पादन हुन थालेका छन् । स्वदेशमै एसेम्बल भएका दुई पाङ्ग्रेदेखि चारपाङ्ग्रे सवारी प्रदर्शन गर्ने मौका पनि होलान् नि ?

अवश्य पनि, अहिले नेपालमै दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे गाडीसमेत एसेम्बल हुन थालेका छन् । यो वर्ष हामीलाई स्वदेशमै उत्पादन भनौँ, एसेम्बल भएका सवारी साधन प्रदर्शन गर्ने अवसर छ । यतिमात्र होइन, नेपालमै उत्पादन भएका टायर, लुब्रिकेन्ट, हेलमेट, ब्याट्री लगायत अन्य अटो कम्पोनेन्टहरू समेत प्रदर्शन हुनेछन् । यी उत्पादनहरूले स्वदेशमा रोजगारीको सिर्जना गरेको छ भने अर्थतन्त्रको विकासमा टेवा समेत पु¥याइरहेको छ ।

अटो शोमा कुनकुन ब्राण्ड सहभागी हुँदैछन् ?

चार पाङ्ग्रे सवारीका २४ वटा ब्राण्डले अटो शोमा भाग लिँदैछन् । यस्तै १९ वटा दुई पाङ्ग्रे र अन्य नयाँ र प्रख्यात ब्राण्ड तथा विद्युतीय सवारीहरू समेत यो वर्षको नाडा अटो शोमा देख्न पाइनेछ । यो एउटा अवसर पनि हो ।

यो पटकको अटो शोमा दुई पाङ्ग्रे सवारीमा पनि कुल हिस्साको ७० देखि ८० प्रतिशत इलेक्ट्रिक (विद्युतीय) कै सहभागिता रहनेछ । न्यू प्रोडक्सन, न्यू इनोभेसन नयाँनयाँ उत्पादनहरू हामी अटोमा देख्न पाउनेछौँ । खास यस पटकको अटो शोमा हरेक ब्राण्डले केही न केही नयाँ उत्पादन दिनेछ ।

अटो शोको भिडभाड, ट्राफिक कन्ट्रोल र पार्किङ व्यवस्थापनमा नाडाले कस्तो तयारी गरेको छ ?

भिडभाड त हुन्छ नै । सकेसम्म राम्रो व्यवस्थापन गर्दै अवलोकनकर्ताहरूलाई कसरी सहजीकरण गर्ने भन्ने ध्याउन्नमा नाडाले पूर्वतायारी गरेको छ । आगन्तुकहरूको सवारी पार्किङका लागि दुई पाङ्ग्रे सवारीलाई प्रदर्शनी हल नजिकैको खुला ठाउँमा व्यवस्थापन गरेका छौँ । चार पाङ्ग्रे सवारीमा पनि ४० देखि ५० वटा सवारी भृकुटीमण्डप भित्रै पार्किङ गर्न सकिन्छ ।

भिजिटरहरूको सहजताका लागि पुरानो बसपार्कमा काठमाडौँ महानगरपालिकाले बनाउँदै गरेको टावरमा पनि पार्किङ गर्न सक्छन् । अर्को, सैनिक कल्याणकारी कोषमा पनि पार्किङ सुविधा छ । त्यहाँ पार्किङ गरेर आउन सकिन्छ । अन्य वरपर जहाँ सहज छ, त्यहाँ आफ्ना सवारी साधन पार्किङ गरेर पनि आउन सकिन्छ ।

यसपटक नाडाले सटल बसको व्यवस्था गरेको छैन ?

यसपटक सटल बसको सुविधा फिर्ता गर्यौँ । किनकि प्रदर्शनीमार्गसम्म आउने त्यतिधेरै लामो रुट पनि भएन र सवारी पार्किङ गरेर उक्लिने–ओर्लिने झन्झट र समय खेर गएकाले यो पटक सो सुविधा कटौती गर्यौँ ।

anup baral3

तथापि, गत वर्ष यो सुविधा निकै प्रभावकारी भएको थियो । हामीले तीन वटा सटल बसको व्यवस्था गरेका थियौँ । यो पटक यसलाई हटाएका छौँ ।

अवलोकनकर्ताहरूले मेलाको टिकट कसरी सहज रूपमा लिन सक्छन् ? यसको व्यवस्था के कसरी मिलाइएको छ ?

अटो शोको टिकट अनलाइन र भौतिक दुवै तरिकाले लिन सकिन्छ । नाडाले यसपटक भृकुटीमण्डपको टिकट घरबाटै टिकट काट्ने व्यवस्था गरेको छ भने अनलाइनबाट टिकट काट्न चाहनुहुनेहरूका लागि खल्ती एपको सुविधा प्रदान गरिएको छ । भिजिटरले घरबाटै टिकट काट्न सक्नुहुन्छ भने मेलामै गएर पनि टिकट काट्न पाउनुहुनेछ ।

टिकटको मूल्य कति तोकिएको छ ?

प्रतिटिकट २०० रुपैयाँ तोकिएको छ । विद्यार्थीहरूका लागि १५० रुपैयाँ कायम गरिएको छ भने अनलाइनमार्फत टिकट काट्नेहरूका लागि थप २५ प्रतिशत क्यास ब्याकको सुविधा प्रदान गरेका छौँ ।

७५ हजारको सहभागिताको अपेक्षा गरिएको यस पटकको अटो शोको व्यापार कति हुने अनुमान छ ?

यसमा ठोकुवा गरेर ठ्याक्कै यति नै हुन्छ भन्न सकिने अवस्था रहँदैन । कुन कम्पनीको कति गाडी बुकिङ हुन्छ र कति बेचिन्छ ? कम्पनीहरू आ–आफैँले हिसाब गर्ने कुरा हो । उनीहरूले भनेको मौखिक तथ्याङ्कलाई मान्नुपर्ने भएकाले यति नै हुन्छ भनेर भन्न सकिने अवस्था रहँदैन ।

आयोजनक नाडाले चाहिँ कति व्यापार गर्छ त अथवा एउटा अटो शो गर्दा नाडाले कति पैसा कमाउँछ ?

नाडाले पैसा कमाउँदैन । यति कमाउँछ, उति कमाउँछभन्दा पनि यो एउटा विशुद्ध व्यवसायीहरूका लागि तयार गरिएको व्यापार गर्ने, आफ्नो उत्पादन तथा ब्राण्ड शो गर्ने अवसर हो । त्यसमा केही शुल्क नाडाले लिन्छ । त्यो त्यति धेरै छैन । यो पनि हामी व्यवसायीहरूकै वृत्ति विकासका लागि खर्च गर्छौं ।

बाँकी रहेको केही पैसा नाडाको प्रशासन, कर्मचारी खर्च लगायतमा खर्च गर्छौं । त्यसैले अटो शोबाट नाडाले कमाउँछ भन्ने धारणा राख्नु भएन ।

अटो शोमा नाडाले प्रतिस्टल कति शुल्क उठाएको छ ?

सानाठुला गरी एक सयभन्दा बढी स्टल छन् । जसको सामान्य १३–१४ हजार रुपैयाँदेखि १३ लाख ९८ हजार रुपैयाँसम्म स्टल शुल्क लिएका छौँ । यो भनेको सामान्य साना फुड, क्याफेको स्टलदेखि महँगो प्रिमियम स्टलसम्मको चार्ज हो । यो त्यति महँगो छैन । स्तर हेरी, क्षेत्रफल हेरी प्रत्येक स्टलको शुल्क निर्धारण गरेका छौँ । यो पनि कसैलाई यो वा त्यो नभनेर र्याण्डम्ली लक्की ड्र गरेर स्टल बाँडफाँट गरेका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप