मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

घोरेपानी हिँडेका दुई स्पेनिस पर्यटक बेपत्ता

मङ्गलबार, ११ भदौ २०८१, ०७ : ४२
मङ्गलबार, ११ भदौ २०८१

कास्की ।  चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।  कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए ।

भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई  झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको उनले बताए । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ । 

“पुरानो बाटोबाट हिँड्दा खोलाले बगाएको हुनसक्छ । उहाँहरुले विरेठाँटीमा रहेको  एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ”, प्रवक्ता गुरुङले भने ।  एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले आइतबार बिहान पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी दिए । उनले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको बताए ।

प्रवक्ता गुरुङले भने, “पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुनसक्छन् । प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीसहित  खोज्ने क्रममा छहरामा दुई वटा स्टिक (लौरी) भेटिएको छ । अन्य कुरा फेला पार्न सकेका छैनौँ ।”   मङ्गलाबार  गोताखोरसहितको टोलीले खोलामा खोजी गरिने जानकारी दिए । पर्यटक हराएको जानकारी दूतावासलाई गराइ सकिएको प्रवक्ता गुरुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप