शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

‘सतीदेवी’लाई दर्शकको साथ, फिल्मले रुवाएको प्रतिक्रिया

मङ्गलबार, ११ भदौ २०८१, ०७ : ३७
मङ्गलबार, ११ भदौ २०८१

काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो  ‘सतीदेवी’ । प्रदर्शनको दिन ठिकै दर्शक पाएको फिल्मले त्यसपछि भने राम्रो दर्शकको साथ पाइरहेको छ । फिल्मको माउथ पब्लिसिटी राम्रो भएको कारण पनि दर्शक दिन प्रतिदिन बढ्दो रहेको निर्माता निर्देशक लक्ष्मण सुवेदीले बताए ।

‘फिल्मले शनिबार र आइतबार भन्दा सोमबार झनै धेरै दर्शक पाएको छ’, सुवेदीले भने ‘माउथ पब्लिसिटी र  सार्वजनिक बिदाको फाइदा फिल्मलाई भयो ।’ फिल्मले दिन प्रतिदिन दर्शकबाट साथ पाएकोमा सुवेदी खुसी व्यक्त गर्छन् ।

महिला कथामा निर्माण भएको फिल्मलाई देशभरबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । फिल्म हेर्ने काठमाडौँ तथा मोफसलका दर्शकले सामाजिक सञ्जालमा फिल्मले रुहाएको, मन जितेको लगायतका प्रतिक्रिया दिएका छन् ।

सुजा जोङवाङ नाम गरेकी एक दर्शकले सामाजिक सञ्जालमा फिल्म हेरेर आफु धेरै रोएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै भनेकी छन्, ‘शुक्रबार फिल्म हेरेको मलाई फिल्मको बिषयबस्तुले आजसम्म पनि रुवाइरहेको छ ।’ फिल्म राम्रो र सबैले हेर्नुपर्ने बनाएको उनले बताएकी छन् ।

विभिन्न मिडियाले फिल्मको विषयमा दर्शकसँग प्रक्रिया सहित भिडियो राखेका छन् । जसमा पनि दर्शकले फिल्म मन परेको, फिल्मले रुवाएको, फिल्म राम्रो बनेको लगायतका प्रतिक्रिया दिएका छन् ।

फिल्मको विषयमा दर्शकले मिडिया, सामाजिक सञ्जाल लगायतमा दिएको प्रतिक्रियाले आफूलाई खुसी मिलेको निर्देशक सुवेदीको धारणा छ । 

‘रिलिजको दिनसम्म फिल्मको कारण निकै डर थियो’, सुवेदीले थपे ‘दर्शकको राम्रो प्रतिक्रियाले विदेशबाट समेत फिल्मको डिमान्ड हुन थालेको छ ।’ फिल्म विदेशमा पनि छिट्टै प्रदर्शनमा ल्याइने उनले जानकारी दिए । भने, ‘‘सतीदेवी’ अहिले बजारमा आएको भन्दा भिन्न र उत्कृष्ट छ ।’ सुवेदीले आफूले समाजमा देखेको र भोगेको कथावस्तुलाई फिल्ममा उतारेको सुनाए । यसअघि विभिन्न अवार्डमा समेत फिल्मले उत्कृष्ट अवार्ड हात पारिसकेको छ । 

अभिनेत्री मलिका महत शीर्ष भूमिकामा रहेको फिल्ममा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा र बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँको अभिनय छ । 

निर्देशक सुवेदीकै लेखन, गीत, निर्माण समेत रहेको फिल्म गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुतिमा श्रीदेवी सुवेदीले बनाएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप