आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

प्रसूति अस्पतालको ६५ वर्षे यात्रा : ४० शय्याबाट ४ सय ८९ पुग्यो

अरु अस्पतालको तुलनामा सस्तो छ– सेवाग्रही
सोमबार, १० भदौ २०८१, २३ : ०३
सोमबार, १० भदौ २०८१

काठमाडौँ । सिन्धुपाल्चोकका समित दनुवारले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा श्रीमतीलाई सुत्केरी गराउन ल्याएको तीन दिन भयो । भदौ ८ गते दोस्रो सन्तानका पिता बनेका हुन् समित । उनकी ३० वर्षीय श्रीमतीले डाक्टरले दिएको समयभन्दा एक साता अगाडि बच्चा जन्माइन् ।

समयावधि भन्दा छिटो जन्मेको बच्चा भएकाले सानो रहेको उनी बताउँछन् । ‘बच्चा भइसकेको दुई दिन भयो । आमालाई वार्डमा राखेको छ’ उनले भने, ‘यहाँको सेवा सुविधा ठिकै छ । बाबुको पिसाब नली माथि हुनुपर्ने, तल भएको छ । त्यसको लागि भिडियो एक्सरे गर्नुपर्ने हुन्छ । एकहप्ता अगाडि बच्चा जन्मिएकाले सास फेर्न गाह्रो भएको थियो ।’

prasuti (6)

अस्पतालले नवजात सघन हेरचाह इकाई (एनआइसीयु)मा बच्चा राखेर उपचार गरिरहेको उनले बताए । अन्य अस्पतालको तुलनामा प्रसूति गृहमा उपचार सस्तो रहेको उनी सुनाउँछन् । ‘खर्च अहिलेसम्म १९ सयको हराहरीमा भएको छ । बच्चाको जाँच गराउन ५५० रुपैयाँ खर्च भएको छ’ उनले भने, ‘बाँकी फ्रीमा नै हो । अन्यको तुलनामा राम्रो र खर्च कम हुन्छ ।’ 

समित जस्तै, अस्पतालमा भेटिइन् दोलखाकी बिना श्रेष्ठ । उनले ९ गते ३० वर्षीय छोरीलाई सुत्केरी गराउन ल्याएकी थिइन् । ‘पहिलाभन्दा अहिले राम्रो भएको छ,’ उनले भनिन्, ‘अरू ठाउँभन्दा यहाँ सस्तो छ, नरम बोल्छन् ।’

अप्रेसनबाट छोरीले बच्चा जन्माउन लागेको श्रेष्ठले बताइन् । ‘अप्रेसनबाट किन बच्चा जन्माएको’ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘पहिलो सन्तान अप्रेसनबाट जन्माएकाले यो दोस्रो बच्चा पनि अप्रेसन गर्नुपर्यो’ उनले भनिन्, ‘अरू ठाउँको तुलनामा यहाँ सस्तो छ ।’

उनीहरु जस्तै अस्पतालले हरेक दिन ७० देखी ८० जनालाई प्रसूति सेवा दिँदै आएको छ । अस्पतालले आर्थिक वर्ष २०८०/०८१ मा २२ हजार ३ सय ७९ जनालाई सफलतापूर्वक प्रसूति सेवा उपलब्ध गराएको छ । तीमध्ये  १० हजारभन्दा बढीले शल्यक्रियामार्फत बच्चा जन्माएका छन् । विगतको तुलनामा ४ प्रतिशतले शल्यक्रियामार्फत बच्चा जन्माउने वृद्धि भएको अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले बताए । 

prasuti (1)

सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले ६५ वर्ष अगाडि सञ्चालनमा आएको अस्पतालमा स्त्री रोग सेवा, निसन्तान सेवा, सुरक्षित गर्भपतन, गर्भावस्थाको शिशुको मुटुको जाँच, वंशाणुगत रोगको पहिचान गर्न न्यु बर्न स्क्रिनिङ्, एन्टिवडी टेष्ट, मानसिक रोग क्लिनिक लगायत सेवा विस्तार गरेको अधिकारीले बताएका छन् ।

‘नवजात शिशु कार्यक्रम अन्तर्गतका सेवाहरू, आङ खस्ने र महिलाहरूको पाठेघरको शल्यक्रिया, परिवार नियोजन सेवा, गर्भपतन सेवा लगायतका कार्यक्रमहरू समेत अस्पतालबाट सञ्चालित छन् ।’ उनले भने, ‘गाइनोकोलोजी सेवा दिने प्रमुख अस्पताल पनि यही भएको छ ।’

अस्पतालले ६५ औँ वर्षको यात्रा पूरा गरेको छ । विक्रम सम्वत २०१६ साल भाद्र १० गते ४० शय्याबाट सुरुवात भएको अस्पतालको हाल ४ सय ८९ शय्या पुगेको छ । अस्पतालले भौतिक, सङ्ख्यात्मक र गुणात्मक विकास गर्दै गइरहेको अधिकारीले दाबी गरे । 

स्वास्थ्य सेवा उपचारको सुविधा राम्रो प्रदान गर्दै आएकाले अस्पताललाई आइएसओ लिन स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सुझाएका छन् ।  ‘क्लिनिकल उत्कृष्ट बनाएर यहाँबाट सेवा दिनुपर्छ,’ उनले भने, ‘यहाँ गरिब, विपन्न, धनीको पनि छोरा–छोरी जन्मिने स्थल बन्नुपर्‍यो ।’ 

स्वास्थ्य सचिव पोखरेलले ४० बेडमा खुलेको अस्पताल ४ सयमा पुग्नु उपलब्धि रहेको बताए । पूर्वनिर्देशक तथा स्वास्थ्य सेवा विभागका निर्देशक डा.सङ्गीता मिश्रले उक्त अस्पताललाई प्रसूति अस्पताल मात्रै नभई शिशु र स्त्री रोगका सम्पूर्ण सेवा दिँदै आएको उल्लेख गरिन् ।

‘सुरुवातदेखि नै प्रस्तुति सुरक्षित गराउने उद्देश्य दिने थियो ।’ उनले भनिन्, ‘सबैभन्दा पहिलो अमृत कोष ह्यूमन मिल्क बैङ्क स्थापना गरी यहाँ निरन्तर दिएको छ ।’

prasuti (5)

कोरोना महामारीमा कुनै अस्पतालले सुत्केरी बिरामी नलिएको तर प्रसूतिले नै सुरक्षित प्रसूति गराएको उनको भनाई छ ।  यस्तै, काठमाडौँका विभिन्न स्थानमा पनि ह्युमन मिल्क बैङ्क खोल्ने तयारी रहेको उनले सुनाइन् । 

स्वास्थ्यसचिव हरिप्रसाद मैनाली राज्यले अन्तर्राष्ट्रिय स्तरमा शिशु मृत्युदर घटाउने प्रतिबद्धता गरेको सो कार्यमा अस्पतालले टेवा पुर्‍याएको बताए । ‘सरकारले अन्तर्राष्ट्रिय कमिन्टमेन्ट गरेको छ , शिशु मृत्युदर घटाउने,’ उनले भने, ‘प्रसूति गृहमा लगेपछि सुरक्षित उपचार हुन्छ भन्ने छ, यो किसिमको इमेज काय राख्नुस् ।’

शल्यक्रियामार्फत बच्चा जन्माउने वृद्धि

पछिल्लो समय सिजरियनडेलिभरी (शल्यक्रियामार्फत बच्चा जन्माउने प्रविधि) गराउने सङ्ख्या बढेको पाइएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सिजरियनडेलिभरी गराउने सङ्ख्या ४ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

prasuti (3)

भर्ना भएका २५ हजार १ सय १६ मध्ये २२ हजार ३ सय ७९ जनाले प्रसुतिबाट २२ हजार ६१३ जना शिशुको जन्म भएको अधिकारीले बताए । सोमध्ये ९ हजार ६ सय ५२ जनाको शल्यक्रिया अर्थात ४३ प्रतिशत शल्यक्रियामार्फत बच्चा जन्मिएका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भएको डा.अधिकारीको भनाई छ ।

डा. अधिकारीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कुल ३० हजार ९ सय ५२ जना महिला भर्ना भएकोमा प्रसूतितर्फ २५ हजार १ सय १६ तथा स्त्री रोगतर्फ ५ हजार ८ सय ३६ जना रहेको थियो ।

त्यसैगरी नवजात शिशु सघन उपचारतर्फ २ हजार ७ सय ८७ र मातृसघन उपचारतर्फ ४ सय ५४ जना भर्ना भएका थिए भने बहिरंग सेवातर्फ १ लाख ९४ हजार ४ सय ९० ले सेवा लिएका थिए ।

९ हजार ११ जनाले निःसन्तान सेवा लिए 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट गत वर्ष ९ हजार ११ जना निसन्तान सम्बन्धी सेवा लिएका छन् । सोमध्ये २ सय २२ जनाले आईयूआई सेवा र २० जना आईभीएफ सेवा लिएको अधिकारीले बताए । 

सरकारी निकायबाट २०६८ सालदेखि सञ्चालित आइभीएफ सेन्टर २०७२ सालको भूकम्प पश्चात् स्थगित भएको थियो । २०७८/७९ सालदेखि यस सेवालाई स्तरोन्नती गरि पुनः नियमितरुपमा सञ्चालन भइरहेको छ । हालसम्म  ५८ जनाले सेवा लिइसकेका छन् । 

यस्तै, प्रादेशिक तथा सङ्घीय अस्पतालहरूका स्वास्थ्यकर्मीहरूलाई आयुआइ र आईभिफ सेवा उपलब्ध गराउन गत वर्ष प्रादेशिक अस्पतालहरुका ७ जना प्रसूति तथा स्त्रि रोग विशेषज्ञ तथा ६ जना नर्सिङ र ६ जना ल्याव टेक्निसियनहरुलाई आईयूआई तालिम उपलब्ध गराइएको छ । 

prasuti (5)

अस्पतालको समय थप

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले अस्पतालको समयावधि बढाएको छ । अस्पतालले ओपिडी तथा अप्रेसन सेवा बिहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालनमा रहेकोमा उक्त समयलाई बढाई बिहान ९ बजे देखि ४ बजे सम्म सञ्चालन गरिएको छ ।

अस्पतालको नियमित समयभन्दा अघि र पछि  विस्तारित स्वास्थ्य सेवा इएचसी अन्तर्गत ओपीडी सेवा, शल्यक्रिया सेवाका साथै अस्पतालमा सम्पूर्ण निदान तथा उपचार सेवा उपलब्ध गराएको अस्पतालका निर्देशक अधिकारी बताउँछन् । 

बच्चाको मुटु जाँच सेवा विस्तार 

डा.अधिकारीकाअनुसार नवजात शिशु तथा बालरोगको विस्तारित ओपीडी सेवा पनि सञ्चालनमा ल्याइएको छ । विशिष्टिकृत सेवा अन्तर्गत गर्भमा रहेको बच्चाको मुटुको ईको कार्डियोग्राफी तथा आमाको मुटुको ओपीडी र ईको कार्डियोग्राफी सेवा ४ बजेदेखि ६ बजे सम्म सञ्चालनमा ल्याइएको छ ।

हालसम्म १ हजार ५ जना गर्भवती महिलाको बच्चाको मुटुको ईको कार्डियोग्राफी गरिएको  र ३ सय २३  जना गर्भवती महिलाको मुटुको इको कार्डियोग्राफी गरिएको अधिकारी बताउँछन् । 

यस्तै सो अस्पतालमा मानसिक स्वास्थ्य सेवा पनि सुरुवात गरिएको छ । पहिलोपटक नियोनेटल स्क्रिनिङ्ग टेष्टको कार्य यसै अस्पतालबाट गत साउन २९ गते देखि सुरुवात गरिएको अधिकारीले बताए । 

काठमाडौँको चन्द्रागिरि र महालक्ष्मी  नगरपालिकामा २५/२५ शय्याको अस्पताल निर्माणको सम्झौता सम्पन्न भै कार्यान्वयनको चरणमा रहेको उनले सुनाए । 

सामाजिक सुरक्षा इकाईमार्फत गत वर्ष कूल १ हजार २ सय ३८ जना महिलाले सेवा लिएका छन् । यस्तै, दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका  ४८ जना गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क हवाई उद्धार  गरी ल्याएर उपचार  गरिएको थियो ।

गत आबमा १ हजार ९ सय १४ जना महिलाहरूलाई निःशुल्क सुरक्षित गर्भपतन सेवा उपलब्ध गराइएको छ । अस्पतालको खोप शाखाबाट शिशुहरूलाई नियमिततर्फ वीसीजी, रोटा, जेई लगायतका ८३ हजार ५ सय ४७ डोज खोप लगाइएको डा.अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप