१० बजे, १० समाचार
आज २०८१ भदौ १० गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी, देउवाले कांग्रेसका दुवै महामन्त्रीलाई बोलाए छलफलमा, सवारी दुर्घटनाको ग्राफ उकालो लाग्दै, जसपा नेपालको पदाधिकारी चयन; एकीकृत समाजवादीले निर्वाचनबाट छान्ने, चाडपर्व लक्षित बजार अनुगमनको तयारी; कति छन् जनशक्ति ?, माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न, ओमानका विदेशमन्त्री दुई दिने भ्रमणका क्रममा नेपालमा, सर्वोच्चका दुई आदेश र दुई फैसलाविरुद्ध सरकारले पुनरवलोकनको निवेदन दिँदै लगायत छन् ।
१. टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबाजी
काठमाडौँको टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । दुवै नेता एउटै कार्यक्रममा सहभागी थिए ।
२. देउवाले कांग्रेसका दुवै महामन्त्रीलाई बोलाए छलफलमा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका दुवै महामन्त्रीलाई आफ्नो निवासमा बोलाएका छन् । केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथि सहमति जुटाउन देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई मंगलबार निवासमा बोलाएका हुन् ।
३. सवारी दुर्घटनाको ग्राफ उकालो लाग्दै
पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको देखिन्छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार २०८१ वैशाख यता १० हजार ६७० वटा साना–ठुला सवारी दुर्घटना भए । दुर्घटनामा परेर वैशाखदेखि भदौ ६ सम्ममा ७ सय ७३ जनाले ज्यान गुमाएका छन् ।
४. जसपा नेपालको पदाधिकारी चयन, एकीकृत समाजवादीले निर्वाचनबाट छान्ने
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले महाधिवेश सम्पन्न भएको लामो समयपछि सोमबार पार्टीको पदाधिकारी चयन गरेको छ । उस्तै अवस्थामा रहेको नेकपा एकीकृत समाजवादीले भने निर्वाचनबाट पदाधिकारी छान्ने भएको छ ।
५. चाडपर्व लक्षित बजार अनुगमनको तयारी; कति छन् जनशक्ति ?
सरकारले भदौ तेस्रो सातादेखि चाडपर्व लक्षित बजार अनुमगन गर्ने भएको छ । यसका लागि विभिन्न टोली परिचालन गर्ने तयारी छ ।
६. माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न
नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक सोमबार सकिएको छ । आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता थियो ।
७. ओमानका विदेशमन्त्री दुई दिने भ्रमणका क्रममा नेपालमा
ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौँ आइपुगेका छन् । उनी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा दुई दिने भ्रमण (भदौ १० र ११) का क्रममा सोमबार काठमाडौँ आइपुगेका हुन् ।
८. सर्वोच्चका दुई आदेश र दुई फैसलाविरुद्ध सरकारले पुनरवलोकनको निवेदन दिँदै
सरकारले सर्वोच्च अदालतका पछिल्ला दुई फैसला र दुई आदेशविरुद्ध सर्वोच्च अदालतमै ‘रिभ्यु’ (बदर हुनुपर्ने माग) लिएर जाने तयारी गरेको छ । सरकारले सर्वोच्च अदालतका संयुक्त इजलासबाट भएका दुई फैसलाविरुद्ध पुनरावलोकन र दुई आदेशविरुद्ध भ्याकेटको निवेदन दर्ता गर्ने तयारी गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमालले बताए ।
९. स्नुकरमा झगडा भएपछि हत्या
राजधानीको शंखमुलमा एक जनाको हत्या भएको छ । स्नुकरमा झगडा भएपछि हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
१०. ऐतिहासिक पदकको लक्ष्यसहित पारा ओलम्पिकमा नेपाल सहभागी
फरक क्षमता भएका खेलाडीहरूका लागि आयोजित गृष्मकालीन पारा ओलम्पिकको १७ औँ संस्करण बुधबारदेखि फ्रान्सको राजधानी पेरिसमा सुरु हुँदैछ । यस पटक नेपालले पारा ओलम्पिकमा ऐतिहासिक पदकको लक्ष्य राखेको छ ।
यो पनि...