सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्त्विक महत्त्व बोकेका सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्नेमा जोड दिएकी छिन् ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीदेवी मन्दिर पुनर्निर्माण समितिले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सम्पदा संरक्षणमा स्थानीय तहको प्रयासको सराहना गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले स्थानीय कला संस्कृतिको संरक्षण र विकासको आवश्यकतामा जनताको उत्साहपूर्वक सहभागिता हुनुलाई आफूले ठुलो शिक्षाका रूपमा लिएको बताइन् । उनले नेपालमा कला र संस्कृति जोगाउने सवालमा युवा र महिलाको भूमिका बढेको समेत बताइन् । “मुलुकमा युवा तथा महिलाको उपस्थिति विकास निर्माण मात्रै नभई कला र संस्कृतिको जगेर्नाका लागिसमेत अपरिहार्य रहेको छ । त्यसैले स्थानीय कला र संस्कृतिको संरक्षणमा युवा पुस्तालाई जोड्न सोहीअनुसारका कार्यक्रम ल्याउनुपर्छ”, उनले भनिन् ।
जनप्रतिनिधिलाई समेत जनताको भावना बुझेर अघि बढ्न सुझाव दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले पार्टीका प्रतिनिधि र जनप्रतिनिधि मिलेर काम गर्दा झनै राम्रो नतिजा आउने विश्वास व्यक्त गरिन् ।
अब भौतिक पूर्वाधार र मानवीयतालाई जोडेर विकासको अवधारणा (मोडल)लाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिइन् । “भौतिक पूर्वाधार मात्र होइन, मानवीय विकासका लागि अब शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतालाई समेत अगाडि बढाउनुपर्छ”, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “जनप्रतिनिधिलाई अहिलेसम्म भएको विकासको समीक्षा गरेर अगाडि बढ्न पर्दछ ।”
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले स्थानीय तहले सम्पदा संरक्षणमा अझ बढी भूमिका खेल्नुपर्नेमा जोड दिए । बुढानीलकण्ठ नगरपालिका प्रमुख मीठाराम अधिकारीले नगरभित्रका सबै सम्पदाको पुनःनिर्माण अन्तिम चरणमा रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन