बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

भारतले नाकाबन्दी लगाउनुको कारण भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता हो : कमल थापा

सोमबार, १० भदौ २०८१, २० : ४३
सोमबार, १० भदौ २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भूराजनीति, सुरक्षा र सामरिक विषयमा दुई देशका बिचमा भिन्नता भएका कारण नेपालले भारतको नाकाबन्दी भोग्नुपरेको बताएका छन् ।

सोमबार आफूद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै अध्यक्ष थापाले नेपाल र भारतका बिचमा भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता भएका कारण नेपालले पटक–पटक नाकाबन्दी भोग्नुपरेको बताएका हुन् । उनले दुई देशबिचको सम्बन्धलाई उचाइमा पुर्‍याउनका लागि भूराजनीति र दुई देशका बिचमा रहेको अवधारणागत भिन्नतालाई साँघुरो बनाउँदै लैजानु जरुरी रहेको बताए । उनले पटक–पटक भारतले नेपालमा नाकाबन्दी लगाउनुमा तत्काली कारणहरू पनि रहेको उल्लेख गर्दै तत्कालीन कारणहरू भन्दा मुख्यकुरा अवधारणागत भिन्नता नै रहेको बताए । उनले अहिले कांग्रेस–एमालेको सरकार बन्नु संख्यात्मक दृष्टिकोणले बलियो भएको भन्दै समस्या समाधानका लागि उपयुक्त समय यही भएको बताए । 

उनले भने, ‘हामीले पटक–पटक भोग्नुपरेका नाकाबन्दीका तत्कालिक कारणहरू विभिन्न हुन्छन् । तर मेरो निष्कर्ष छ कि तत्काली कारणहरूको बाबजुत पटक–पटक नेपालले नाकाबन्दी भोग्नुपर्ने मुख्य कारण भनेको भूराजनीति र सुरक्षा र सामरिक विषयमा नेपाल र भारतका बिचमा रहेको अवधारणागत भिन्नता नै हो । तसर्थ हामी नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने क्रममा भूराजनीति र दुई देशका बिचमा रहेको अवधारणागत भिन्नतालाई साँघुरो बनाउँदै लैजाने र त्यसलाई समाधान गर्नेगरी सम्बोधन गर्नु नितान्त जरुरी छ ।’

अध्यक्ष थापाले आफू परराष्ट्रमन्त्री हुँदा चीनसँग पारवाहन सम्झौता गरेको स्मरण गर्दै सो सम्झौता ऐतिहासिक भएको बताए । उनले सो पारवाहन सम्झौताको कार्यान्वयन हुन नसकेको भन्दै यसको महत्वलाई बुझेर कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप