बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बजार अनुगमन

बजार अनुगमन चाडपर्वमा मात्रै किन ?

सोमबार, १० भदौ २०८१, १९ : १८
सोमबार, १० भदौ २०८१

काठमाडौँ । सरकारले चाडपर्व लक्षित अनुगमन भदौको तेस्रो सातादेखि सुरु गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यो वर्षको चाडपर्व लक्षित अनुगमन भदौको तेस्रो सातादेखि सुरु गर्ने तयारी गरेको हो ।

विभागका महानिर्देशक राजन पौडेलले अघिल्ला वर्षहरूमा भन्दा कडाइका साथ बजार अनुगमन गरिने बताए । माछामासु, खाद्यान्न, लत्ता कपडा, फलफूल, मिठाइ पसललगायतमा अनुगमन गरिने बताए । जसका लागि केन्द्रीयस्तरमा  १२ वटा टोली परिचालन गरिने महानिर्देशक पौडेलको भनाइ छ ।

‘पोहोरको मोडालिटीअनुसार १२ वटा टोली परिचालन गरी खाद्यान्न, माछा मासु, लत्ताकपडा, फलफूल, पेय पदार्थ लगायतका विषयमा अनुगमन गर्नेछौँ,’ महानिर्देशक पौडेलले भने, ‘यी क्षेत्रमा अनुगमन गर्नुका साथै बजारमा कालोबजारी हुन नदिन बढी मूल्य लिने म्याद नाघेका सामग्री बिक्री गर्ने बिक्रेताहरूलाई कारबाहीको दायरामा ल्याउँछौँ ।’

हाल विभागले ३ वटा टोली परिचालन गरी अनुगमन गरिरहेको छ । प्रत्येक टोलीमा ३ देखि ४ जनाको जनशक्ति छ ।

यस्तै चाडपर्वलक्षित अनुगमनका लागि पनि विभागको अनुगमन टोलीमा ३ देखि ४ जना जनशक्ति खटाउने तयारी गरेको छ ।  उक्त टोलीमा थप खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका १ जना पोषण अधिकृत र १ जना सुरक्षाकर्मीसमेत अनुगमनका लागि खटिने छन् ।

सोही अनुसार विभागले चाडपर्व लक्षित अनुगमनका लागि विभागमा आवश्यक पर्ने जनशक्ति संघीय मामिला मन्त्रालयमा माग गर्ने महानिर्देशक पौडेलको भनाइ छ । भदौ १५ गतेबाट वाणिज्य प्रशासनको काममा खटिरहेका  कर्मचारीको कामको चाप कम हुने भएकाले त्यहाँका कर्मचारीलाई समेत अनुगमनमा खटाउने विभागले तयारी गरिरहेको छ ।  

‘वाणिज्य प्रशासनको काममा खटिरहेका त्यहाँ खटिएका साथीहरूलाई अनुगमनमा खटाउँछौ । सामान्य प्रशासन मन्त्रालयले त्यहाँ रहेका कर्मचारी साथीहरूलाई पठाइदिन्छ,’ महानिर्देशक पौडेलले भने, ‘अहिले हामीकहाँ ८ जना कर्मचारी आइसकेका छन् । आवश्यकताअनुसार मन्त्रालयमा माग गरेर ठुलो टिम बनाउन सक्छौँ ।’ 

देशैभरमा अनुगमन प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारी र सम्बन्धित स्थानीय निकायको प्रमुख प्रशासकीय अधिकृतलाई बजार निरीक्षणको  अधिकार प्रत्यायोजन गरिएको महानिर्देशक पौडेलले बताए ।

वाणिज्य विभागले काठमाडौँ उपत्यका लगायत देशैभर बजार अनुगमन गर्ने तथा निगरानी बढाउने उनले बताए । 

गत आर्थिक वर्ष २०८०/८१ मा ४ हजार सङ्ख्यामा विभागले बजार अनुगमन गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष अनुगमनको दायरा बढाउने विभागले तयारी गरिरहेको  छ । 

चाडपर्व बाहेकका दिनमा विभागले दैनिक ३ वटा टोली परिचालन गर्दै आएको छ । काठमाडौँ उपत्यकाभित्र मात्रै दैनिक २० देखि २२ वटा अनुगमन गरेको विभागको तथ्यांकमा उल्लेख छ ।  विभाग मातहतका अन्य निकायले काठमाडौँ बाहेक पनि अनुगमन गरिरहेको हुन्छ । 

तर चाडपर्वमा धेरै उपभोक्ता ठगीमा पर्ने भएकाले चाडपर्वमा विशेष किसिमले अनुगमन गर्नु परिरहेको महानिर्देशक पौडेलको भनाइ छ ।

‘चाडपर्वको बेलामा उपभोक्ता ठगिने सम्भावना बढ्ने भएकाले उपभोक्ता ठगिन दिनुहुन्न भनेर चाडपर्वलक्षित अनुगमन बढी भएको हो,’ महानिर्देशक पौडेलले भने,  ‘तर अनुगमन नियमित हुँदै आएको छ । विभागले उपभोक्तासँग जोडिएको मामिलामा अनुगमन गरिरहेकै छ ।’ 

यस्तै उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपमहासचिव  विष्णुप्रसाद तिमिल्सिना सरकारले बजार अनुगमन नियमित रुपमा गरिराख्नु पर्ने बताउँछन् । त्यसमा चाडपर्वलक्षित अनुगमन भनेर विशेष गर्नु स्वाभाविक भएको तिमिल्सिनाको भनाइ छ । 

‘चाडवर्पको बेलामा किनमेल गर्ने क्रममा घुइँचो लाग्ने र हतार हुने हुन्छ । यो बेलामा उपभोक्ताहरू नापतौल, गुणस्तर र मूल्यमा ठगिने सम्भावना बढी हुन्छ,’ तिमिल्सिनाले भने, ‘यसकारण सरकारले विशेष रूपले अनुगमन गर्नुपर्ने हुन्छ ।’

चाडपर्वको मौका छोपेर व्यापारीहरूले म्याद गुज्रेका वस्तुबिक्री गर्नेदेखि बढी मूल्य लिने जस्ता घटना बढ्न थाल्छ । त्यसकारण चाडपर्वलक्षित अनुगमन गर्न अत्यन्त आवश्यक भएको तिमिल्सिनाको भनाइ  छ ।  सरकारले चाडपर्वका बेलामा खुद्रा वस्तु बिक्री केन्द्रदेखि यातायात, हवाई, अस्पताल आदिमा अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।

विभागले नियमित रुपमा अनुगमन गरिरहेको छ । तर  पनि बजारमा महँगी कालोबजारी नियन्त्रणको काम भने नभएको तिमिल्सिनाको तर्क छ ।

चाडपर्व लक्षित बजार अनुगमनको विषयमा गत शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पनि छलफल भएको थियो । उक्त छलफलमा चाडपर्वको अवसरमा हुने गरेको अनुगमनलाई नियमित र प्रभावकारी बनाउन निर्देशन दिइएको समितिका सभापति अब्दुल खानले बताएका छन् ।  

समितिको निर्णयमा भनिएको छ, ‘चाडपर्वको अवसरमा हुने गरेको कृत्रिम अभाव कालोबजारी, अस्वाभाविक मूल्यवृद्धिलाई रोक्न मन्त्रालय तथा मातहतका निकायबाट हुने गरेको अनुगमनलाई नियमित र प्रभावकारी बनाउन तथा सुपथ मूल्य पसलहरू सञ्चालन गर्न समेत निर्देशन दिने ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप