बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

अन्तरिक्षमा महिनौं के गरेर बिताउलान् सुनिता र बुच ?

सोमबार, १० भदौ २०८१, १७ : ४४
सोमबार, १० भदौ २०८१

वाशिङटन डीसी । तीन महिनाअघि पृथ्वी छाडेर अन्तरिक्ष स्पेस स्टेसन (आईएसएस) जाँदा अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच बिलमोरले आफ्नो झोलितुम्बा सबै यहीँ छाडेका थिए ।

बोइङको स्टारलाइनर अन्तरिक्ष यानको परीक्षण उडानमा केही दिनमै आइहाल्ने त हो भन्ने सोचेर उनीहरूले व्यक्तिगत प्रयोजनका सामान पनि खासै लगेका थिएनन् । तर ११ हप्ताभन्दा लामो समयदेखि उनीहरू अन्तरिक्षमा अलपत्र छन् ।

सन् २०२५ को सुरुमा स्पेस एक्सको क्रु ड्र्यागन क्याप्सुलमा चढेर उनीहरू पृथ्वी फर्किनेछन् भनेर शनिवार नासाले घोषणा गरेको थियो । आफू चढेर गएको स्टारलाइनरमा समस्या देखिएपछि उनीहरूलाई स्पेस एक्सको यानमा फर्काउन लागिएको हो ।

त्यसो भए अबको पाँच/छ महिना सुनिता र बिलमोर अन्तरिक्षमा के गरेर समय बिताउँछन् होला ? यतिबेला अन्तरिक्षमा उनीहरू दुई जना बाहेक नासाको फर्मल एक्सपेडिशनका सात जना अन्तरिक्षयात्रीको क्रु पनि छन् ।

यी दुई जनालाई आईएसएसमा यहि क्रुका सदस्यले स्वागत गरेका थिए । तर यिनीहरू सो क्रुको हिस्सा होइनन् । यतिबेला ती दुई आईएसएसमा सो क्रुको अतिथि बनेर बसेका छन् ।

उनीहरू सो क्रुमा मज्जाले भिजेर बसेको नासाले भनेको छ । उनीहरू छिट्टै सेप्टेम्बर २४ मा स्पेस एक्सको क्रु ९ चढेर जाने अन्तरिक्षयात्रीहरुको क्रुको सदस्य बन्नेछन् । सो क्रुका रूपमा सुनिता र विलमोरले स्पेस स्टेशनबाहिर स्पेस वाक गर्ने, आईएसएसको मर्मत सम्भारमा सघाउने र वैज्ञानिक प्रयोगका कामहरू गर्नेछन् ।

Capture2

स्टारलाइनरको परीक्षण उडान भएकोले केही समस्या भयो र लामो समय बस्नुपर्‍यो भने के गर्ने भन्ने सोचेर नासाले उनीहरूलाई क्रुका अत्यावश्यक स्रोत साधन र तालिम लगायत सबैको व्यवस्था गरेको थियो ।

अहिले फर्मल एक्सपेडिशनमा रहेको क्रुका सट्टामा अरु अन्तरिक्षयात्रीलाई लिएर स्पेस एक्सको क्रु ९ नियमित उडानका लागि आईएसएस जाँदैछ । यो मिसनमा चार जना अन्तरिक्ष यात्रीलाई लगिने भएको थियो । तर सुनिता र बिलमोरलाई पनि फर्काउनुपर्ने भएपछि अब दुई जनालाई मात्रै लगिदैँछ ।

अरु दुई जनाको सट्टामा सुनिता र बिलमोरलाई क्रु मेम्बर बनाइनेछ । क्रु ९ का अन्तरिक्षयात्रीहरू करिब पाँच/छ महिना अन्तरिक्षमा बस्नेछन् ।

के गरेर कटाउलान् दिन ?

क्रु–९ का सदस्यहरूको हरेक दिनमा घण्टा घण्टाको रुटिन बनाइएको छ । सुनिता र बिलमोरले पनि सोही रुटिनलाई पछ्याउनेछन् । यतिबेला सुनिता र बिलमोरले आफ्नो समय स्पेस स्टेसनको हार्डवेयरको निरीक्षण गर्ने, लगेको सामानको व्यवस्थापन गर्ने, स्टारलाइनरको चेकजाँच गर्ने र वैज्ञानिक परीक्षण र प्रविधि प्रदर्शन आदि काम गरिरहेका छन् । शुक्रबार मात्रै बिलमोरले नयाँ एयरलकको कन्फिगरेशनमा सघाएका थिए ।

जुलाई २६ मा नासाले स्पेस स्टेसनमा प्लास्टिकको टर्च घुमाएको र ओलम्पिकको नक्कल गरेर खेलेको फोटो सार्वजनिक गरेको थियो । अन्तरिक्षमा मासु र हाडको घनत्वलाई धेरै घट्न नदिन अन्तरिक्ष यात्रीका लागि व्यायाम अति जरुरी काम हो । यसअघि नै विलिमयले आफूलाई स्पेस एथलिट प्रमाणित गरिसकेकी छिन् । अघिल्लो पटक आईएसएसमा जाँदा सन् २०१२ मा उनले त्यहाँ ट्रायथलन पूरा गरेकी थिइन् ।

Capture3

उनी त्यसबेला स्टेशनरी बाइकमा चढेकी थिइन्, ट्रेड मिलमा दौडिएकी थिइन् । स्पेस स्टेसनमै हुँदा सुनिता बोष्टन म्याराथनमा पनि दौडिएकी थिइन् । स्टारलाइनरमा चढेर जानुअघि सुनिता र बिलमोरले जम्माजम्मी झन्डै ५०० दिन अन्तरिक्षमा बिताइसकेका छन् ।  

अन्तरिक्षयात्रीहरु अप्रत्याशित रूपमा अन्तरिक्षमा बस्नु दुर्लभ कुरा होइन । छ महिनाका लागि भनेर आईएसएस गएका नासाका अन्तरिक्ष यात्री फ्र्याङ्क रुबियोले ३७१ दिनसम्म त्यही बस्नुपरेको थियो । आफू चढेर गएको अन्तरिक्ष यानमा समस्या आयो, पृथ्वीको मौसम खराब भयो भने केही दिन वा हप्ता बढी बस्ने गरिएको छ ।

सुनिता र बिलमोरले साथमा लैजान भनेर ठिक्क पारेको दैनिक अत्यावश्यक सामान राखिएको सुटकेस लगेनन् । यसका कारण पनि उनीहरूको बसाइमा समस्या आएको हो । आईएसएसमा अत्यावश्यक सामानका लागि ठाउँ बनाउन भनेर नासाले उनीहरूको ब्याग र सुटकेस झिकेको थियो । तर यो महिनाको सुरुमा आईएसएसमा उनीहरूका लागि जरुरी खानपिन र अन्य अत्यावश्यक सामान समेत झन्डै ३ टन बराबरको सामान डेलिभरी भइसकेको छ ।

आईएसएसमा खानपिन वा अन्य सामान पर्याप्त नहुने भएकोले सुनिता र बिलमोरलाई पृथ्वीमा कसरी फर्काउने भनेर छिट्टै निर्णय लिनुपरेको नासाको भनाइ छ । आईएसएसमा एक पटकमा धेरै जनालाई राखिन्न । धेरै जना भएपछि मद्दतका लागि अतिरिक्त हात त हुन्छन्, काम पनि धेरै हुन्छ ।

तर पठाइएका उपभोग्य सामान छिट्टै सकिन्छ । उनीहरू बस्दा क्रुको साइज ठुलो हुने भएकोले त्यसलाई सामान्य बनाउन पनि सुनिता र बिलमोरलाई पृथ्वीमा सकेसम्म छिटो फर्काउनुपर्ने नासामा स्पेस अपरेशन्स मिसिन डिरेक्टोरेटका लागि सहायक प्रशासक केन बोवरसक्स भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप