शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
पारा ओलम्पिक

ऐतिहासिक पदकको लक्ष्यसहित पेरिस पारा ओलम्पिक यात्रामा नेपाली खेलाडी

यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
सोमबार, १० भदौ २०८१, १७ : ५९
सोमबार, १० भदौ २०८१

काठमाडौँ । फरक क्षमता भएका खेलाडीहरूका लागि आयोजित गृष्मकालीन पारा ओलम्पिकको १७ औँ संस्करण बुधबारदेखि फ्रान्सको राजधानी सहर पेरिसमा सुरु हुँदैछ । पेरिस पारा ओलम्पिक सेप्टेम्बर ८ तारिखसम्म चल्नेछ । 

पारा ओलम्पिकको १७औँ संस्करणमा एक सय ६८ राष्ट्रका खेलाडीहरूले सहभागिता जनाउँदै छन् । यसपटक पारा ओलम्पिकमा शरणार्थी र तटस्थ खेलाडीहरूको एक–एक टोलीले पनि सहभागिता जनाउने आयोजकले जनाएको छ ।

jfflhjrj_4_11zon

प्रतियोगितामा विभिन्न २२ वटा खेलका पाँच सय ४९ स्पर्धा समावेश गरिएको छ । प्रतियोगिताको उद्घाटन बुधबार एक भव्य समारोहबिच हुनेछ । उद्घाटन समारोह पेरिसस्थित ‘प्लेस डी ला कनकर्ड’ स्टेडियममा हुनेछ । 

अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीले प्रत्येक चार वर्षमा गृष्मकालीन पारा ओलम्पिक आयोजना गर्दै आएको छ । गृष्मकालीन ओलम्पिक खेलकुद सकिए लगत्तै सोही सहरमा पारा ओलम्पिक आयोजना गर्ने परम्परा रहँदै आएको छ ।  

फ्रान्समा गृष्मकालीन पारा ओलम्पिक आयोजना हुन लागेको यो पहिलो पटक हो । यसअघि सन् १९९२ मा फ्रान्सले शीतकालीन पारा ओलम्पिक भने आयोजना गरेको थियो । गृष्मकालीन पारा ओलम्पिकको पहिलो संस्करण सन् १९६० मा इटालीको रोम सहरमा आयोजना भएको थियो । 

Screenshot_25-8-2024_155037_www.dropbox.com_11zon

यस पटकको पारा ओलम्पिकमा अफगानिस्तान, पाकिस्तान, प्यालेस्टाइन, पाराग्वे, होण्डुरस, जमैका, सोमालिया, भुटान, कम्बोडिया, सिरिया, मकाउलगायत ३७ राष्ट्रले आफ्ना एक–एकजना खेलाडीमात्र सहभागी गराएका छन् ।  

यसैगरी, पेरिस पारा ओलम्पिकमा एसियाली राष्ट्र चीनले सबैभन्दा बढी दुई सय ८४ खेलाडी सहभागी गराएको छ । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले दुई सय ५६ खेलाडी समावेश गराएको छ । आयोजक राष्ट्र फ्रान्सले आफ्ना दुई सय ३९ र अमेरिकाले दुई सय २० जना खेलाडी सहभागी गराएको छ । 

  • पारा ओलम्पिक र नेपाल

नेपालले सन् २००४ देखि गृष्मकालीन पारा ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । पारा ओलम्पिकको १२औँ संस्करण सन् २००४ मा ग्रिसको एथेन्समा आयोजना भएको थियो । त्यो पारा ओलम्पिकमा नेपालले पहिलो पटक आफ्नो एकजना खेलाडी सहभागी गराएको थियो ।

पारा ओलम्पिकको त्यो संस्करणमा नेपालबाट महिला खेलाडी निर्मला ज्ञवालीले भाग लिएकी थिइन् । उनले एथलेटिक्सको सट पुट स्पर्धामा सहभागिता जनाएकी थिइन् । क्लास एफ १२ समूहमा उनी पहिलो चरणबाटै बाहिरिएकी थिइन् । 

jit-bahadur-khadka

यसैगरी, सन् २००८ मा चीनको बेइजिङमा सम्पन्न १३औँ गृष्मकालीन पारा ओलम्पिकमा पनि नेपालले एक खेलाडीमात्र सहभागी गराएको थियो । पारा ओलम्पिकको त्यो संस्करणमा नेपालका जितबहादुर खड्काले एथलेटिक्सको एक सय मिटर दौडमा भाग लिएका थिए । टी ४६ समूहको आफ्नो स्पर्धामा उनी पहिलो चरणमै पराजित भएका थिए ।

यसैगरी, सन् २०१२ मा बेलायतको लन्डनमा सम्पन्न पारा ओलम्पिकको १४औँ संस्करणमा नेपालबाट दुई खेलाडी सहभागी भएका थिए । त्यो पारा ओलम्पिकमा नेपालबाट एथलेटिक्समा पुरुषतर्फ विक्रम राना र महिलातर्फ माल्या विशुंखेले सहभागिता जनाएका थिए । 

bikram-bahadur-rana

बिक्रमले एक सय र दुई सय मिटर दौडको टी ११ समूहमा भाग लिएका थिए । उनी आफ्नो दुवै स्पर्धाको पहिलो चरणमै पराजित भएका थिए । माल्या विशुंखेले महिला एक सय र दुई सय मिटर दौडको टी ४६ समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी पनि पहिलो चरणमै पराजित भएकी थिइन् । 

laxmi kunwar

यसैगरी, सन् २०१६ मा ब्राजिलको रियो दी जेनेरियोमा गृष्मकालीन पारा ओलम्पिकको १५औँ संस्करण आयोजना भएको थियो । त्यो पारा ओलम्पिकमा नेपालबाट दुई खेलाडी पुरुषतर्फ विक्रम राना र महिलातर्फ लक्ष्मी कुँवरले भाग लिएका थिए । 

यसैगरी, सन् २०२० मा गृष्मकालीन पारा ओलम्पिकको १६औँ संस्करण जापानको राजधानी सहर टोकियोमा आयोजना भएको थियो । त्यो पारा ओलम्पिकमा नेपालबाट एकमात्र खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धनले सहभागिता जनाएकी थिइन् ।

नेपालले पारा ओलम्पिकको तेक्वान्दो खेलमा सहभागिता जनाएको यो पहिलो पटक थियो । उनले ५८ केजीभन्दा मुनिको तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उत्कृष्ट प्रदर्शन गरे पनि उनी अन्तिम समयमा आएर पदकबाट चुकेकी थिइन् ।

  • पेरिस पारा ओलम्पिकमा नेपाल

गृष्मकालीन पारा ओलम्पिकको १७औँ संस्करण फ्रान्सको राजधानी पेरिसमा आयोजना हुँदैछ । पारा ओलम्पिकको यो संस्करणमा नेपालका तीनजना खेलाडीले सहभागिता जनाउँदै छन् । गृष्मकालीन पारा ओलम्पिकमा नेपालको यो छैटौँ सहभागिता हो । 

Paris2024Paralympicslogo

पेरिस पारा ओलम्पिकमा नेपालबाट तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र भरतसिंह महता तथा पौडी खेलाडी भीमबहादुर कुमालले सहभागिता जनाउँदै छन् । ओलम्पिकमा पलेशाको यो दोस्रो सहभागिता हो । बाँकी दुई खेलाडीले भने पहिलो पटक ओलम्पिक खेल्न लागेका हुन् । 

यसअघि पारा ओलम्पिकमा नेपालका हरेक खेलाडीले ‘वाइल्ड कार्ड’ मार्फत सहभागिता जनाउने अवसर पाएका थिए । टोकियो पारा ओलम्पिकमा पलेशा पनि ‘वाइल्ड कार्ड’ मार्फत नै सहभागी भएकी थिइन् । तर, पेरिस पारा ओलम्पिकमा पहिलो पटक नेपाली खेलाडी पलेशाले छनोट चरण पार गर्दै आफ्नो बलियो उपस्थिति दर्ता गराएकी हुन् । 

  • पलेशा गोवर्धन (तेक्वान्दो)

पारा तेक्वान्दो खेलाडी पलेशा छनोट चरण पार गर्दै पारा ओलम्पिकमा सहभागिता जनाउने पहिलो नेपाली खेलाडी हुन् । चीनमा सम्पन्न एसियाली क्षेत्रको छनोट प्रतियोगितामा स्वर्ण पदक जित्दै पलेशा पेरिस पारा ओलम्पिकमा छनोट भएकी हुन् । 

पलेशाले पारा ओलम्पिक खेलकुदमा सहभागिता जनाउन लागेको यो लगातार दोस्रो पटक हो । उनले चीनमा सम्पन्न पेरिस ओलम्पिकको एसियाली छनोटमा के–४४ अन्तर्गत महिलातर्फको ५७ केजीभन्दा मुनिको तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् । 

पलेशाले फाइनलमा इरानकी खेलाडीलाई हराएकी थिइन् । पलेशाले यसअघि टोकियोमा सम्पन्न पारा ओलम्पिक पनि खेलेकी थिइन् । टोकियो पारा ओलम्पिकमा पनि उनले आफ्नो स्पर्धामा दुई बाउट जितेर गतिलो चर्चा बटुलेकी थिइन् ।

‘वाइल्ड कार्ड’ मार्फत टोकियो ओलम्पिकमा सहभागिता जनाएकी पलेशाले अमेरिकाकी ब्रियाना सालिनारालाई १०–० स्कोरले हराएकी थिइन् । उनले अर्को खेलमा सर्बियाकी मासिजा मिसेभलाई २३–१८ स्कोरले पराजित गरेकी थिइन् । कांस्य पदकका लागि भएको भिडन्तमा उनी चीनकी खेलाडी युजी लीसँग ९–१२ स्कोरले पराजित भएकी थिइन् । 

पलेशा सन् २०२३ मा चीनमा सम्पन्न एसियाली पारा खेलकुद प्रतियोगितामा देशका लागि ऐतिहासिक कांस्य पदक जित्ने खेलाडी पनि हुन् । त्यसअघि कुनै पनि खेलाडीले एसियाली पारा खेलकुदमा पदक जित्न सकेको थिएन् ।

  • भरतसिंह महता (तेक्वान्दो)

पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले पनि पेरिस पारा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दैछन् । भरत ‘वाइल्ड कार्ड’ कोटामार्फत पेरिस पारा ओलम्पिकका लागि छनोट भएका हुन् । उनले पेरिस पारा ओलम्पिकमा के–४४ समूहअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

भरतसँग हालसम्म दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उनले चीनमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट प्रतियोगिता र भियतनामको दनाङमा जेठ ६ गते भएको नवौँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी अगाडि बढेका भरत सेमिफाइनलमा मंगोलियाका प्रतिद्वन्द्वीसँग पराजित भएका थिए । उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको ८१औँ स्थानमा पुगेका थिए । त्यसअघि उनी वरीयताविहीन थिए ।

भियतनाम पनि भरतले एसियाली छनोटकै जस्तो नतिजा निकालेका थिए । पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका भरत दोस्रो खेलमा अजरबैजानका खेलाडीसँग पराजित भएका थिए । भियतनामको प्रदर्शनपछि भरत विश्व वरीयताको ५८औँ स्थानमा उक्लिएका थिए ।

  • भीमबहादुर कुमाल (पौडी) 

पारा पौडी खेलाडी भीमबहादुर कुमालले पनि पेरिस पारा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दैछन् । उनी पारा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो पौडी खेलाडी पनि हुन् । यसअघि कुनै पनि नेपाली खेलाडीले पारा ओलम्पिकको पौडीमा सहभागिता जनाएका थिएनन् । 

विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसँगै भीमको पारा ओलम्पिक सहभागिता निश्चित भएको थियो । भीमले पेरिस पारा ओलम्पिकमा पुरुष ५० मिटर फ्रिस्टायल स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । यो स्पर्धामा उनकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान पनि रहेको छ । 

गोर्खा जिल्लाको नारेश्वर बेनिखोला निवासी ४१ वर्षीय भीमले आफ्नो सक्रिय खेलजीवनमा चारवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले चीनको हाङ्जाउमा भएको चौथो एसियाली पारा खेलकुद, इन्डोनेसियामा भएको तेस्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । 

भीमले पछिल्लोपटक खेलको प्रतियोगिता विश्व पारा पौडी सिरिज हो । त्यो प्रतियोगिता पेरिस पारा ओलम्पिकको छनोटको आधारसमेत रहेको थियो । सिंगापुरमा मे १७ देखि १९ तारिखसम्म भएको यही प्रतियोगितामा भीमले ५० मिटर फ्रिस्टायल स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

  • कस्तो छ त नेपालको तयारी ?

ओलम्पियन दीपक विष्ट यसपटक पारा ओलम्पिकमा नेपालले पदक जित्ने प्रबल सम्भावना रहेको बताउँछन् । उनले पेरिस पारा ओलम्पिकको तयारी पनि राम्रो रहेको बताए । विष्टका अनुसार, सरकारले पनि पेरिस पारा ओलम्पिकको तयारीमा महत्त्वपूर्ण सहयोग गरेको छ ।   

‘यसपटक सरकारले पनि पारा ओलम्पिकको तयारीमा राम्रो सहयोग गरेको छ । खासगरी तेक्वान्दो खेलाडी पलेशाबाट पदकको आश गरेका छौँ । टोकियो पारा ओलम्पिकमा पनि उनको प्रदर्शन उत्कृष्ट थियो । पौडीमा पनि राष्ट्रिय कीर्तिमानको सम्भावना छ,’ रातोपाटीसँगको कुराकानीमा उनले भने ।

तेक्वान्दो खेलाडीले पेरिस पारा ओलम्पिकका लागि एक महिना बेलायतको म्यानचेस्टरमा वैदेशिक प्रशिक्षण गरेको पनि उनले बताए । ‘हाम्रा खेलाडीले देशभित्र पनि लामो समय तयारी गरे । त्यसपछि तेक्वान्दो खेलाडीलाई वैदेशिक प्रशिक्षणका लागि म्यानचेस्टर पठाइयो । त्यहाँ उनीहरूले एक महिनासम्म विश्वस्तरका खेलाडीहरुसँग अभ्यास गर्ने अवसर पाए,’ विष्ट भन्छन् । 

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पलेशाको प्रदर्शन पनि उत्कृष्ट रहेकाले यसपटक उनीबाट ऐतिहासिक पदकको आशा गरिएको उनले बताए । ‘ओलम्पिकको छनोट प्रतियोगितादेखि पारा एसियाली खेलकुदमा समेत पलेशाको प्रदर्शन अब्बल थियो । यसबिचमा उनको प्रदर्शनमा थप सुधार आएको छ । त्यसैले पनि हामीले पदकको आशा गरेका हौँ,’ उनी भन्छन् ।

यसैगरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारी समितिका उप–निर्देशक दीपक श्रेष्ठ पनि पेरिस पारा ओलम्पिकमा नेपालले पदक जित्ने सम्भावना रहेको बताउँछन् । पेरिस पारा ओलम्पिकमा सहभागी हुने खेलाडीलाई राष्ट्रिय टिम तयारी समितिले पनि केही समय प्रशिक्षणमा सहयोग गरेको जानकारी उनले दिए । 

‘प्रशिक्षणका क्रममा राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरूले पनि पारा ओलम्पियनलाई सहयोग गरेका थिए । वैशाख १२ गतेदेखि पारा ओलम्पियनलाई प्रशिक्षणमा राखिएको थियो । असारसम्म त्यो प्रशिक्षण चल्यो । त्यसपछि तेक्वान्दो खेलाडी वैदेशिक प्रशिक्षणका लागि म्यानचेस्टर गए । खासगरी पेरिस पारा ओलम्पिकमा पलेशाबाट पदकको आशा गरेका छौँ,’ उप–निर्देशक श्रेष्ठ भन्छन् । 

तेक्वान्दो टोली म्यानचेस्टरबाटै पेरिस पुगिसकेको छ । नेपालले हालसम्म कुनै पनि ओलम्पिकमा पदक जित्न सकेको छैन । पेरिस पारा ओलम्पिकमा नेपाली खेलाडीले पदक जित्न सके त्यो देशका लागि ऐतिहासिक उपलब्धि हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप